३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरी मासेर कतै भवन, कतै मैदान

उपत्यकामा सार्वजनिक पोखरी मासेर भौतिक संरचना बनाउने क्रम रोकिएको छैन । कतिपय पोखरी मैदान भएका छन्, केही सुकेका छन् । कुनैमा भवन र मन्दिर बनेका छन् त केही पोखरी मासेर प्रहरी कार्यालय राखिएको छ । सप्तपाताल पोखरी पुरानै अवस्थामा फर्काउन सर्वोच्चले आदेश दिएपछि पोखरी पुन:स्थापना अभियानमा लागेकाहरू भने उत्साहित भएका छन् । 

काठमाडौँ — उपत्यकाका ‘तीन सहर’मा ११८ पोखरी छन् । काठमाडौंमा २७, भक्तपुरमा ४० र ललितपुरमा ५१ । तीमध्ये २५ पोखरीमा भवन बनेका छन् । १६ पोखरी मैदान भएका छन् । ९ पोखरी सुक्खा छन् । एउटामा मन्दिर बनेको छ । धेरै पोखरी जीर्ण र सुक्खा छन् । केही मात्र ठीक अवस्थामा छन् । मासिएका कतिपय पोखरी पुन:स्थापित गर्न स्थानीय बासिन्दा जुर्मुराएका छन् । 

पोखरी मासेर कतै भवन, कतै मैदान

पोखरी मासेर भौतिक संरचना बनाउन लागेपछि दुइटाको विवाद सर्वोच्च अदालतमा पुगेको छ । ललितपुर, थेचोको पिन पोखरीको केही भाग मासेर वृद्धाश्रम बनाउन लागिएको छ । प्रदेश सरकार र गोदावरी नगरपालिकाको बजेटमा स्थानीय उपभोक्ता समितिले निर्माणको काम अघि बढाएको हो । स्थानीयले भने निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । हाल मुद्दा र भवन निर्माण सँगसँगै चलिरहेका छन् ।


काठमाडौं, ठमेलस्थित सिंहसार्थबाहु गुठीको पोखरीमा पाँच अर्ब रुपैयाँमा १५ तले व्यापारिक भवन छाया सेन्टर ठडिएको छ । पोखरीलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेर र तिनका सन्ततिले जबर्जस्ती हडपेको भन्दै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । छाया सेन्टरले भने त्यो पोखरी निजी भएको दाबी गर्दै आएको छ । सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने, ‘पहिले यो पोखरी नै हो तर केशरशमशेरले नौका विहार गर्ने पोखरी ।’ स्थानीय बासिन्दा छाया सेन्टर भत्काएर पोखरी कायम गर्न माग गर्दै आन्दोलनमा छन् । उनीहरूले सोमवार पत्रकार सम्मेलन गरी सरकारले नभत्काए छाया सेन्टर आफैं भत्काउने चेतावनीसमेत दिए ।


ललितपुर, लगनखेलको सप्तपाताल पोखरी पुरानै अवस्थामा फर्काउन सर्वोच्च अदालतले गत असार २३ गते आदेश दिएपछि पोखरी पुन:स्थापना अभियानमा लागेकाहरू उत्साहित भएका छन् । नमुना मच्छिन्द्र स्कुलले पोखरी हडपेर भवन बनाउन थालेपछि २०६१ सालयता अदालतमा पटकपटक रिट दायर भएका थिए । अदालतले हरेकपटक पोखरीको पक्षमा फैसला गरे पनि कार्यान्वयन भएको थिएन । पछिल्लोपटक निर्माणाधीन भवन, टहरासहितका संरचना हटाएर पोखरीलाई पुरानै अवस्थामा फर्काउन सर्वोच्चले आदेश दिएपछि भवन बनाउने प्रक्रिया रोकिएको छ । पोखरी जोगाउन १५ वर्ष कानुनी लडाइँ लडेका पूर्ण स्थापितले भने, ‘मुद्दा छाड्न धेरैले दबाब दिए । धेरैले धम्की दिए तर हामीले छाडेनौं ।’


विवाद लिएर अदालत नपुगे पनि मध्यपुर थिमीको प्राचीन पोखरी ‘वंगा पुखु’ पुन:स्थापना गर्न स्थानीय जनता अघि सरेका देखिन्छन् । सो पोखरीमाथि २०३२ सालमै तत्कालीन गाउँ पञ्चायतले आफ्नो भवन बनाएको थियो । त्यसैलाई भत्काएर हालसालै मध्यपुर थिमी नगरपलिकाले करिब तीन करोड रुपैयाँमा ६ नम्बर वडा कार्यालय भवन बनाउन लागेपछि स्थानीय बासिन्दा विरोधमा उत्रेका छन् । वडाध्यक्ष इन्द्रबहादुर प्रजापति भने भवन बनाउन दृढ देखिन्छन् । ‘वडा भवनको पहिचानै पोखरीमाथिको भवन भन्ने हो,’ उनले भने, ‘भवनको यो पहिचान जोगाउनुपर्छ । विरोध दुई–चार जना काम नपाएकाले गरेका हुन् । धेरैको माग भवन बनाउनुपर्छ भन्ने नै छ ।’


काठमाडौंमा भीमसेन थापाले खनेको नागपोखरीमा अहिले सिभिल मल खडा भएको छ । नक्सालको सिन्धुवाल पोखरीमा प्रहरी कार्यालय बसेको छ । टेकुमा बमवीर विकटेश्वर गुठीको नाममा रहेको पोखरीमा गगनचुम्बी भवन बनेका छन् ।


ललितपुर, पुल्चोकको एउटै परिसरमा ३२ रोपनीमा फैलिएका चारवटा पलेस्वाँ (कमल) पोखरी मध्ये एउटामा ललितपुर महानगरपालिकाको भवन ठडिएको छ । अर्कोमा त्रिपद्म मावि भवन बनाइएको छ भने तेस्रो पोखरीमा महानगरपालिकाले गत साउनदेखि पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । पुल्चोककै नाग गा: पुखु (पोखरी) मा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र भवन रहेको छ । न: टोलको पोखरीमा मदन स्मारक विद्यालय बनेको छ । हिटी गा: पोखरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय छ । मचागा: पोखरीमा भवन बनेको छ । पाटनढोकाको लिगा पोखरीमा शौचालय बनेको छ । लगनखेलको लखन पोखरीमा प्रहरी कार्यालय छ । सप्तपातालमा नमुना मच्छिन्द्र स्कुल बनेको छ ।


१६ रोपनीमा फैलिएको कुमारीपाटीको त: पुखु (पोखरी) मा व्यक्तिगत भवन ठडिएका छन् । ०४६ सालसम्म पुरानै स्वरूपमा रहेको यो पोखरी अहिले चार आना पनि बाँकी छैन । पाँच रोपनीमा फैलिएको प्रयाग पोखरीमा ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन रहेको छ । समितिले १० वटाभन्दा बढी सटर भाडामा लगाएको छ । ‘नगरपालिकालगायत निकायले त पोखरीजस्ता ऐतिहासिक सम्पदा जोगाउने पो हो, तिनैले आफ्ना कार्यालय पोखरीमा बनाएका छन्,’ स्थानीय भन्छन्, ‘पहिला गरेका गल्ती सच्याऊ भन्दा उल्टै हामीमाथि अनेक आरोप लगाइन्छ ।’ पुरातत्व विभागले भने सम्पदा संरक्षणको जिम्मेवारी स्थानीय सरकारले पनि लिनुपर्ने बताएको छ । ‘हामीले देख्ने ठाउँमा त हामी संरक्षण गर्छौ । मासिन लागेको रहेछ भनेर जोगाउँछौं,’ पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने, ‘दूरदराजमा त विभाग पुग्न सक्दैन । त्यहाँको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारकै हो । संविधानले पनि सम्पदा जोगाउने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।’


सहर सभ्यताको अंग

पानी विज्ञ पीएस जोशीका अनुसार उपत्यकाका पोखरी रणनीतिक दृष्टिले बस्तीको सिरानमा, बीचमा र पुछारमा तीन किसिमले बनाइएका हुन् । सिरानका पोखरी बर्सातको भेल बस्तीमा नपसोस् भनेर खनिएका हुन् । लैनचौरको पोखरी, रानीपोखरी, लगनखेलको पोखरी, पुल्चोकको पोखरी, कमलपोखरी सिँचाइका लागि पनि बनाइएका हुन् । यिनले बस्तीमा बनाइएका इनार पनि रिचार्ज गर्थे । बस्तीबीचका पोखरीचाहिँ साना हुन्थे । तिनमा आकाशबाट बर्सिएको र नालीबाट आएको पानी जम्मा हुन्थ्यो । यस्ता पोखरीमा हाँस पालिन्थे, भैंसी आहाल बसाइन्थे । तल्लो क्षेत्रका पोखरी भने ओरालो लाग्ने ठाउँमा बनाइएका हुन्थे । जोशीले भने, ‘नेवार बस्ती झुरुप्प परेका हुन्छन् । सबै नेवार बस्तीमा यस्तै रणनीतिक पोखरी थिए ।’


पोखरी निर्माण भएपछि यसलाई जीवनशैलीसँग जोड्दै लगिएको इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘कोही मर्दापर्दा पिण्डदान गर्न पोखरीमै गइन्छ । देवाली मनाउन सहरै खाली गरेर पोखरीमा आइन्छ,’ उनी भन्छन्, ‘पोखरी सहर सभ्यताका अंग हुन्, यिनलाई जोगाउनुपर्छ ।’


भवन बनेका पोखरी

काठमाडौं

१. लाजिम्पाट पोखरी

२. टुकु पोखरी

३. सोह्रखुट्टे पोखरी

४. नागपोखरी, बागदरबार

५. पाको पोखरी, नयाँ सडक

ललितपुर

१. फलेस्वाँ पोखरी– महानगरपालिका भवन

२. छ्याबहाल पोखरी

३. जावलाखेल पोखरी

४. भैला पोखरी

५. मच्छिन्द्रबहाल पोखरी

६. बालकुमारी पोखरी पश्चिम– गुठी भवन

७. पोडे पोखरी

८. हिटीगा पोखरी– केयूकेएल भवन


मैदान बनेका पोखरी

काठमाडौं

१. हाँडीगाउँ पोखरी ‘क’

२. हाँडीगाउँ पोखरी ‘ख’

३. चारुमती पोखरी, चाबहिल

४. पचली भैरव पोखरी, टेकु

५. केटीहिटीमानिका पोखरी, कालिमाटी

६. भुइँखेल पोखरी, स्वयम्भू

७. हरिभवन पोखरी, सुन्धारा

८. खिचापोखरी, नयाँसडक

९. लैनचौर पोखरी


ललितपुर

१. गुह्य पोखरी

२. सुवहाल पोखरी

३. नागपोखरी

४. खा: पोखरी

५. उ वहा पोखरी

६. हनुमानस्थान पोखरी

७. द्यो पोखरी

८. इखा पोखरी


अतिक्रमित, सुक्खा र ढलान गरिएका

काठमाडौं

१. गहना पोखरी, हाँडीगाउँ– ढलान

२. बौद्ध पोखरी– ढलान

३. कुबहाल लामपोखरी, चाबहिल–ढलान/सुक्खा

४. बहटी पोखरी, सोह्रखुट्टे– अतिक्रमित

५. भण्डारखाल पोखरी, हनुमानढोका– सुक्खा

६. इखापोखरी, न्योखा– सुक्खा


ललितपुर

१. तब पोखरी– अतिक्रमित

२. लाखुसी पोखरी– ढलान/सुक्खा

३. बालकुमारी पूर्व– अतिक्रमित

४. बालकुमारी उत्तर– सुक्खा

५. चिंधपोखरी– सुक्खा

६. खपिंछे पोखरी– ढलान

७. कमलपोखरी– अतिक्रमित

८. पूर्णचण्डी पोखरी– सुक्खा

९. ख्वालया पोखरी– सुक्खा

१०. कुम्भेश्वर पोखरी– सुक्खा


भक्तपुर

१. दुईमाजु पोखरी– धाप


विद्यालय बनेका पोखरी

ललितपुर

१. ल : पोखरी– मदन स्मारक स्कुल

२. मदन स्मारक पोखरी

३. दुरुपोखरी

४. पाटनढोका पोखरी

५. लाखे पोखरी

६. भाज पोखरी

७. ख्वायबही पोखरी


भक्तपुर

१. अष्टांग भैरव पोखरी, तौंलाछें

२. भुलुखेल पोखरी


प्रहरी कार्यालय रहेका

सिन्धुवाल पोखरी, नक्साल

लगनखेल पोखरी


सार्वजनिक स्थल बनेका

लिगं पोखरी (ललितपुर)– सार्वजनिक शौचालय

नागपोखरी (ललितपुर)– मन्दिर


प्रकाशित : माघ ४, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?