कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसबाट ‘हाब्रे साइकल’

सीमा तामाङ

काठमाडौँ — घरायसी सामग्री बनाउन प्रयोग हुने बाँसबाट साइकल बनाइएको छ । हाब्रे नाम दिइएको साइकल विद्युत्बाट चल्ने गरी बनाइएको हो । साइकलमा टायर, बस्ने सिटमा फलाम र स्टिल प्रयोग गरिएबाहेक अरू सबै बाँसकै छन् । 

बाँसबाट ‘हाब्रे साइकल’

एकचोटिमा ३० देखि ४० किलोमिटरसम्म गुड्ने साइकलमा २५० वाटको मोटर जडान गरिएको मेकानिकल इन्जिनियर अभिषेक कार्कीले बताए । अमेरिकी संस्था फुलब्राइटसँगको सहकार्यमा काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आबारी संस्थाले तीन महिनामा विद्युतीय साइकल तयार गरेको हो । तर साइकलको डिजाइन अमेरिकाको कान्सास विश्वविद्यालयका प्राध्यापक तथा औद्योगिक डिजाइनर लान्स गोर्डन रेकले गरेका हुन् । यो साइकललाई तीन तरिकाले चलाउन मिल्ने कार्कीेले बताए । ‘पहिलो सामान्य साइकल जसरी नै पेडलको प्रयोग गरेर, दोस्रो विद्युतीय साइकल अर्थात् चार्जिङबाट र तेस्रो हाइब्रिड अर्थात् पेडल प्रयोग गर्दा मोटर पनि आफै चल्छ,’ उनले भने । साइकलमा प्रयोग गरिएको ब्याट्रीसहितको इन्जिनको मूल्य ८० हजार रुपैयाँ पर्छ । साइकल मूल्य १ लाख ६० हजार पर्ने उनले बताए । ‘सामान्य साइकल पनि बनाइएको छ । यसको प्रचार गरिएको छैन,’ उनले भने, ‘हाब्रेको प्रचारप्रसार गरेको छ । अहिले एक पिस मात्र बनाइए पनि मागअनुसार बनाउने योजना छ ।’


नर्वे र डेनमार्कमा चलाइने क्रिस्टियना बाइकको डिजाइनबाट यो साइकलको डिजाइन प्रभावित छ । हाब्रे रिक्साभन्दा ठिक उल्टो छ । रिक्सामा यात्रुका लागि पछाडि बस्ने ठाउँ राखिएको हुन्छ तर, हाब्रेमा यात्रु बस्ने सिट अगाडि छ । काठमाडौंका पर्यटकीय क्षेत्रहरू सवारीमुक्त गरेर यात्रु आवतजावत गर्न यो साइकल प्रयोग गर्न सकिने आवारीले जनाएको छ । ‘बाँस र हाब्रे अर्थात् रेड पाण्डाको सम्बन्ध सुमधुर छ । हाब्रेले बाँसको कलिलो भाग खाने र बाँसमा नै बस्छ,’ आबारीका निर्देशक नृपाल अधिकारीले भने, ‘त्यसैले साइकलको नाम हाब्रे राखिएको हो ।’


नृपालका अनुसार बाँसको आयु जम्मा तीन वर्षको हुन्छ । साइकल बनाउन बाँसलाई सिलिन्डरमा राखेर ‘एयरपम्प प्रेसर’ दिएर डिजाइन गरिएकाले बाँस ५० वर्षभन्दा बढी टिक्ने उनले दाबी गरे । ‘बाँस हलुका हुने र जहाँ पनि पाइन्छ । यसबाट बनेको सामग्री टिकाउ हुन्छ । सडकको कम्पनलाई आल्मोनियमले भन्दा पनि राम्रोसँग अवशोषित गर्छ । स्टिलको तुलनामा शक्ति बढी हुन्छ । तौल अनुपातमा पनि उच्च शक्ति हुन्छ,’ उनले भने ।


आबारीका निर्देशक अधिकारीका अनुसार नेपालमा ५४ प्रजातिका बाँस छन् । नेपालमा ३२ लाख मानिस बाँसको खेती र उत्पादनमा संलग्न छन् । तर यसको प्रयोग घरायसी सामग्रीका लागि मात्र सीमित रहेको उनले बताए ।

प्रकाशित : माघ २, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?