१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टोल सुधारलाई २० लाख दिएर प्लानिङ

प्रशान्त माली

(ललितपुर) — धापाखेलस्थित मखुण्डोल टोल सुधार समितिले वडाको विकास गर्ने नाममा रोयल गोर्खाज हाउजिङ कम्पनीसँग २० लाख रुपैयाँ लिएर नागदह हाइटमा प्लानिङ गर्न दिएको पाइएको छ । 

टोल सुधारलाई २० लाख दिएर प्लानिङ

ललितपुर महानगरपालिका–२४ मा १ सय २० रोपनी जग्गामा प्लानिङ गर्न स्थानीय टोल सुधार समितिले अनुमति दिए पनि काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरले भने स्वीकृति दिएको छैन । प्राधिकरणले प्लानिङमा बन्ने घरहरूको बाथरूम, किचेनबाट निस्कने र आकाशेपानी नागदहमा मिसिने भन्दै रोकेको थियो ।


कम्पनी र समितिबीच ०७१ कात्तिक ४ मा भएको सम्झौताको ३ नम्बर बुँदामा टोलमा रहेको मंगलहिटी खानेपानी धारा मर्मत गर्न १० लाख र ४ नम्बरमा टोल सुधार समितिको खातामा १० लाख सहयोग गर्ने उल्लेख छ । सम्झौता पत्रमा कम्पनीका तर्फबाट मनि राई, कर्म बङ्गेल र समितिका तर्फबाट सचिव वेदनाथ दाहालले हस्ताक्षर गरेका छन् । साक्षीमा भने ललितपुर नगर–१५ बस्ने वर्ष ३१ को गणेशप्रसाद दाहाल बसेका छन् ।


प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरका प्रमुख दिनेशकृष्ण पोटेले प्राधिकरणको ऐनमा कुनै पनि कम्पनीले प्लानिङ गर्दा स्थानीयलाई रकम दिनुपर्ने प्रावधान नभएको बताए । ‘यस्तो प्रचलनमा पनि छैन,’ उनले भने, ‘वडाको सिफारिस भने अनिवार्य माग्छौं ।’


मखुण्डोल टोल सुधार समिति अध्यक्ष नवीनकुमार खड्काले गोर्खाजलाई प्लानिङ गर्न दिने सर्तमा रकम नलिएको दाबी गरे । ‘धापाखेल बसपार्क क्षेत्रदेखि प्लानिङसम्म पुग्ने बाटो फराकिलो बनाउँदा व्यक्तिको जग्गा परेबापत् रकम लिएको हो,’ उनले भने, ‘कम्पनीसँग सम्झौता हुँदा म थिइनँ ।’


मुखण्डोल टोल सुधार समिति सचिव दाहालले भने कम्पनीसँग सम्झौता सबैको सहमतिमा गरेको बताए । ‘समितिमा माइन्युट गरेर मात्र सम्झौता गरेको हो,’ उनले भने, ‘सम्झौता गरेर रकम लिनु ठीक छ/छैन भन्नेबारे नियम के छ थाहा छैन ।’ गोर्खाजसँग सम्झौता गर्ने बेलामा समितिका अन्य पदाधिकारीलाई समेत जानकारी गराएका छैनन् । मुखण्डोल टोल सुधार समितिका सह–कोषाध्यक्ष इन्द्रा श्रीस राणाले सम्झौता गर्ने बेलामा आफूलाई जानकारी नभएको बताइन् । ‘त्यतिबेला सीमित पदाधिकारी मात्र बसेर सम्झौता गरेको थियो,’ उनले भनिन्, ‘सम्झौता गरिसकेपछि मात्र जानकारी गराइएको थियो ।’ उनले पछि टोलको विकास हुने थानेर माइन्युटमा हस्ताक्षर गरेको बताइन् । ‘गोर्खाजले प्रतिबद्धता जनाएअनुसारको काम अझै पूरा भएको छैन,’ उनले भनिन् ।


गोर्खाजसँग भएको सम्झौताको बुँदा नम्बर ६ मा प्लानिङ क्षेत्रभित्रका सार्वजनिक स्थानमध्ये टोलबासीको निर्णयअनुसार मन्दिर निर्माण गरिदिने उल्लेख छ । तर, सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि मन्दिर निर्माण नभएको उनले बताइन् । समिति र कम्पनीबीच २० लाख लिने सम्झौता भए पनि ३० लाख लिएको खुलेको छ ।


समितिले प्राप्त गरेको थप १० लाखको बारेमा भने केही लिखित सम्झौता छैन । अध्यक्ष खड्काले मन्दिर बनाउन भनी थप १० लाख लिएको स्विकारे । ‘उक्त रकम समितिको खातामा जम्मा छ,’ उनले भने, ‘अहिले ब्याजसहित गरेर १२ लाख पुग्ने अनुमान छ ।’


अहिले उक्त जग्गामा प्लानिङ गर्न डेभलपर सीजी प्रोपर्टिज कम्पनीलाई ललितपुर महानगरपालिका–२४ का वडाध्यक्ष दिनेश कार्कीले सिफारिस दिएको छ । स्थानीयले भने वडाले सिफारिस गरेअनुसार सीजीको प्लानिङ डिजाइनअनुसार सार्वजनिक जग्गाको प्लट मिलान नभई स्थानीयको मागअनुसार गर्नुपर्ने नियम रहेको भन्दै विरोध जनायता काम रोकिएको छ ।


वडा कार्यालयले सीजीसँग गरेको सम्झौताअनुसार कित्ता नम्बर ५५५ को सरोफेरोमा सार्वजनिक जग्गा एकीकृत गर्ने उल्लेख छ । स्थानीयले भने कित्ता नम्बर ३५ मा प्लट मिलान गर्नुपर्ने माग छ । प्लानिङमा १ रोपनी १३ आना २ पैसा पर्ति जग्गा छ ।


प्रकाशित : माघ १, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?