डिप बोरिङले घर चर्के

काठमाडौँ — डिप बोरिङबाट जथाभावी भूमिगत पानी दोहन गर्दा गुहेश्वरी फाँटमा स्थानीयको घर चर्केको छ । घर चर्किएपछि स्थानीयले भूमिगत पानीको दोहन तत्काल बन्द गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयसँग माग गरेका छन् ।

महिनायता आन्दोलनरत स्थानीयले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं महानगपालिकासमक्ष बस्तीबीचमा रहेको डिप बोरिङ हटाउन दबाब दिँदै आएका छन् । नसुनिएपछि उनीहरू आफ्नो मागसहित सम्बन्धित मन्त्रालय पुगेको गुहेश्वरी पञ्चकन्या टोल सुधार समिति समाजका अध्यक्ष हरिबहादुर पाण्डेले बताए ।


‘विगत एक वर्षदेखि विभिन्न निकायसँग डिप बोरिङ हटाउन अनुरोध गर्दे आएका छौं, कसैले पनि वास्ता गरेनन्,’ उनले भने, ‘२४ घण्टा डिप बोरिङ चल्छ, पानी दोहनले घरहरू चर्केका छन् ।’ ८५ वटा घरको बीचमा डिप बोरिङ चल्दा वातावरणीय हिसाबले पनि समस्या भएको उनले बताए ।


संसद्को विकास समितिमा समेत डिप बोरिङ बन्द गर्न निवेदन दिएको उनले बताए । ‘मन्त्रालयमा पनि डिप बोरिङ हटाउनका लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘तर सुन्नेवाला कोही पनि छैन ।’ गीतादर्शन नामक डिप बोरिङ विगत ५ वर्षदेखि सञ्चालनमा रहेको उनले बताए ।


सिभिल बैंकको स्वामित्वमा रहेको २ रोपनी जग्गाबाट २४ सै घण्टा पानी निकाल्दा घरहरू चर्कदै गएको उनले दाबी गरे । ‘महानगरपालिका जनप्रतिनिधिलगायत सरोकारवाला निकायसँग निरीक्षण गर्न अनुरोधसमेत गरेको छौं,’ पाण्डेले भने, ‘पहिले थोरै घर थिए, समस्या थिएन, अब घरको संख्या बढ्यो, डिप बोरिङ बस्तीको समस्या भयो ।’ उक्त बस्तीमा प्रत्येक दिन घर संख्या बढ्दै गएको उनले बताए ।


समाजका सदस्य तारानिधि पोखरेलले बस्तीको बीच डिप बोरिङ चल्दा होहल्ला हुने गरेको बताए । ‘बैंकलेसमेत हटाउनका लागि गीतादर्शनका सञ्चालकलाई भनिसकेको छ, तर कुनै वास्ता गर्दैन,’ उनले भने, ‘यो त पूरै बलिमिच्याइँ भएको छ, स्थानीयलाई दु:ख दिने काम भएको छ ।’


काठमाडौं महानगरपालिकाले समेत डिप बोरिङ बन्द गर्न लिखित निर्देशन दिए पनि सञ्चालकले त्यसको कुनै सुनुवाइ नगरेको बताए । महिनाअघि काठमाडौं महानगरपालिका– ८ का वडाअध्यक्ष दिनेशकुमार डंगोलले डिप बोरिङ तत्काल बन्द गर्न उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका छन् ।


बोरिङले स्थानीय बासिन्दाको शान्ति सुरक्षामा खलल पुग्ने स्थिति देखिएकाले तत्काल बन्द गर्न बोर्डलाई निर्देशन दिएको छ । ‘स्थानीय पर्यावरणमा देखिएको प्रतिकूल असर र स्थानीय शान्ति सुरक्षामा पर्न गएको गम्भीर असरका कारण गीतादर्शन डिप बोरिङ अविलम्ब बन्द गराउने बोर्डको नाममा जारी लिखित पत्रमा उल्लेख छ ।


गीतादर्शन डिप बोरिङका सञ्चालक दर्शन पुडासैनीले स्थानीयबासीलाई दु:ख दिने नियत नभएको बताए । ‘मेरो नाम दर्ता मात्र भएको हो, तर सञ्चालन अर्कैले गरिराखेको छ,’ उनले भने, ‘केही दिनभित्रै कानुनी रूपमा जसले सञ्चालन गर्दै छ, उसकै नाममा गरिदिन्छौं, यो दु:ख दिने नियतले मैले व्यवसाय गरेको होइन, केही समस्याचाहिँ स्थानीयलाई छ ।’


बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले त्यसबारे अध्ययनअनुसन्धान भइरहेको बताए । ‘गुनासो आएको छ, अब केही दिनभित्रै टोली पठाएर अनुसन्धान गर्छौं,’ उनले भने, ‘भन्नेबित्तिकै डिप बोरिङ हटाउनुपर्छ भन्ने होइन, अधिकांश बस्तीकै बीचमा छन्, उपत्यकामा पानीको पनि त समस्या छ, सबै हटायो भने अर्को समस्या आउँछ ।’ हाल उपत्यकामा एक हजारभन्दा बढी डिप बोरिङ सञ्चालनमा रहेको उनले बताए ।


प्रकाशित : माघ १, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?