मन्दिर निर्माण गर्न दिएको बजेट फिर्ता

कान्तिपुर संवाददाता

(भक्तपुर) — भैरवनाथको मन्दिर जीर्णोद्धार गर्न गठित उपभोक्ता समितिले काम सकाएर बढी भएको रकम नगरपालिकालाई फिर्ता गरेको छ । भूकम्पले क्षति पुर्‍याएको विश्वसम्पदामा सूचीकृत भैरवनाथ मन्दिर बनाउन नगरपालिकाले अनुमान गरेको लागतभन्दा करिब ९ लाख रुपैयाँ कममा निर्माण गरेको र स्थानीयको चन्दाबाट उठेको बढी रकम फिर्ता गरेको हो ।

ZenTravel

मन्दिर बनाउन नगरपालिकाले ६५ लाख रुपैयाँ समितिलाई दिएको थियो । समितिले भने ५६ लाख ३९ हजार २ सय ७ रुपैयाँमा निर्माण सकाएको हो । समितिका अध्यक्ष न्हुच्छेराम भेलेका अनुसार २ सय ८३ जनाबाट ५ लाख १६ हजार ९ सय ५८ रुपैयाँ संकलन भएको थियो । नगरपालिकाले दिएको ८ लाख ६० हजार ७ सय ९२ रुपैयाँ र सर्वसाधारणले दिएको चन्दा सहित १३ लाख ७७ हजार ७ सय ५० रुपैयाँ नगरपालिकामै फिर्ता गरेको उनले बताए ।

Meroghar


नगरपालिकाले भूकम्पका कारण क्षति पुगेको भैरवनाथ मन्दिर पुनर्निर्माणका गर्न आर्थिक वर्ष ०७४/७५ मा १ करोड २७ लाख ५० हजार चार सय १६ र ०७५/७६ मा १ करोड ४६ लाख ३६ हजार ७ सय ४५ रुपैयाँ इस्टमेट गरेको थियो । उपभोक्ता समिति गठन भएपछि पुरातत्त्वविद्, स्मारकविद्, नगरपालिकाका प्राविधिकहरूको अध्ययन अनुसन्धानले मन्दिर पूरै भत्काउन नपर्ने र जीर्णोद्धार गरे पुग्ने निष्कर्षबमोजिम जीर्णोद्धार गरेको नगरप्रमुख सुनिल प्रजापतीले बताए ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मध्यकालको १५ औं शताब्दीतिर भक्तपुरका मूल्यपती थरका भैरवका भक्तजनले भैरवनाथको एकतले मूर्ति बनाएका हुन् । त्यसका निसानका रूपमा हाल मन्दिरको पहिलो तलामा गजुर देख्न सकिन्छ । भूपतीन्द्र मल्ल र उनका छोरा रणजित मल्लले घरभन्दा होचो मन्दिरलाई दुई तला थपेर तीन तला बनाई जीर्णोद्धार गरेको उनले बताए । ‘हाम्रो संस्कृतिमा मन्दिरभन्दा अग्लो घर बनाउनु हुँदैन भन्ने लोकमान्यता छ, सोही मान्यताअनुरूप १८ शताब्दीतिर आइपुग्दा घरभन्दा अग्ला मन्दिर बन्न थाले,’ उनले भने । भैरवनाथको शक्ति त्रिपुरसुन्दरी भएको उनी बताउँछन् ।

यसअघि १९९० को भूकम्पले पूर्ण क्षति भएको भैरवनाथ मन्दिर जुद्वशमशेरले तत्कालै पुनर्निर्माण गर्न लगाएका थिए । इतिहासविद् श्रेष्ठका अनुसार भक्तपुरको उच्चतम देवता भैरवनाथ र उच्चतम देवी त्रिपुरसुन्दरी हुन् । तान्त्रिक परम्परामा ‘त्रिपुरसुन्दर र भैरवनाथलाई ललित महेश्वर’ को मान्यता दिइन्छ । भैरवनाथ मन्दिरको प्रांगणमा सातौं शताब्दीको ढुङ्गेजल पत्र छ । भूकम्पपछिको भग्नावशेषमा हराएको जलपत्रमा उल्लेख भएअनुसार भैरवनाथलाई लडित महेश्वर भनिएको उनी बताउँछन् । ‘जलपत्रअनुसार यस स्थलमा लिच्छविकालीदेखि नै शक्तिसहितको शिवको दर्शन, पूजन गर्ने संस्कृति र शैवस्थलको रूपमा प्रसिद्व रहेको बुझिन्छ,’ उनले भने,‘यसको अमूर्त पक्ष बिस्केट जात्रालाई मान्न सकिन्छ ।’

तौमढीमा अवस्थित काँसी विश्वनाथ भैरवको शिर भएको र शरीर भारतको काँसीमा रहेको उनले बताए । नेपाल भारतको पनि सांस्कृतिक शिर हो भन्ने उदाहरण भैरवनाथ मन्दिर भएको संस्कृति तथा इतिहासकर्मीहरू बताउँछन् ।
भूकम्पका कारण क्षतिग्रस्त भई जीर्णोद्वार गरेको भैरवनाथको मन्दिरमा नगरपालिका र उपभोक्ता समितिले मङ्गलबार क्षमापुजा गरेर उद्घाटन गरेको छ । नगरपालिकाले ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निर्माण सम्बन्धी आयव्यय र जीर्णोद्वार सम्बन्धि प्राविधिक नक्सा डिजाइनलाई संग्रह पुस्तकको रुपमा सार्वजनिक गरेको छ ।

पुस्तक सार्वजनिक गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंल इतिहासले सुम्पेको सम्पत्तिको संरक्षण गर्ने कतर्व्य प्रत्येक नागरिकको भएको बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भैरवनाथ मन्दिर जीर्णोद्वार सम्बन्धि आयव्ययको सार्वजनिकीकरणले सुशासनमा सघाउ पुर्‍याएको बताइन् । स्थानीय तहले मठमन्दिरको पुनर्निर्माणसँगै आकर्षक काष्ठकला संरक्षणका लागि विभिन्न रसायनिक पदार्थ मिसिएको रङ्ग निशेष गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित : माघ १, २०७६ ०८:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आहा भक्का !

राजवंशी समुदायमा छोरीचेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ
अर्जुन राजवंशी

(बिर्तामोड) — मंगलबार एकाबिहानै गाउँबाट एक हुल राजवंशी महिलाहरू ‘पेटानी’ (जातीय पहिरन) लगाएर बिर्तामोड आइपुगे । पूर्व–पश्चिम राजमार्ग किनारमै लस्करै बसे । र, भक्का बनाउन थाले । 

नजिकै माछा तरकारी, भान्टा–कोपीको तरकारी र अर्को भाडामा टमाटरको अचार । नि:शुल्क खान पाइने थाहा पाएर माछा–भक्का खानेको भीड भयो । करिब एक हजार जनाले आदिवासी राजवंशी समुदायको भक्का विभिन्न परिकारसँग खाए । राजवंशी जातिले मंगलबार बिर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाएको छ ।

जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रूपमा समेत खान पाइन्छ । अर्ग्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापारसमेत बनेको छ । भक्का खाजाको रूपमा लोकप्रिय छ । परम्परागत खाना व्यवसायी बन्दै गएपछि राजवंशी जातिले यसको संरक्षण र प्रवर्द्धन गर्न भन्दै केही वर्ष यता पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएको छ ।

मंगलबार उनीहरूले गैरराजवंशी समुदायलाई माछा, सब्जी, अचारसँग भक्का खुवाएर भाक्का दिवस मनाएका हुन् । दिवसका अवसरमा कोचिला गाभुर फ्रन्टले सांस्कृतिक नृत्यसहित नि:शुल्क भक्का खाने कार्यक्रम आयोजना गरेको थियो । ‘आम मानिसले भक्कालाई सामान्य खाजाको रूपमा मात्र बुझेका छन् । तर, त्यस्तो होइन । कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्त्व छ । त्यसबारे जानकारी दिन प्रत्येक वर्ष पुस २९ गते भाक्का दिवस मनाउन थालेका हौं,’ फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । जाडो मौसममा राजवंशी जातिमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाई घर पठाउने चलन छ ।

भक्का शुद्ध चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनुपर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पिठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । त्यसपछि एउटा भाडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किने गरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का बनाइने गरिन्छ । पानीले मुछेर नरम बनाएको पिठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किँदै गरेको ढकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेट लाग्छ ।

‘भक्कामा कुनै मिसावट छैन । स्वास्थ्यका लागि एकदम लाभदायी छ,’ बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’ भाक्का दिवस कार्यक्रममा भारतको मेघालय, असम, पश्चिम बंगाल र बिहारका राजवंशीहरू सहभागी थिए ।

प्रकाशित : माघ १, २०७६ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×