२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दर्ताबिनाका ६२ बोरा औषधि बरामद

फातिमा बानु

काठमाडौँ — औषधि व्यवस्था विभागले दर्ता बिनाका ६२ बोरा औषधि बरामद गरेको छ । क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउस नामक फार्मेसीको औषधि भण्डारमा छापा मार्दा ठूलो परिमाणमा दर्ताबिनाका औषधि लुकाएर राखिएको भेटिएको हो । विभाग र प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार छापा मारेको थियो । 

दर्ताबिनाका ६२ बोरा औषधि बरामद

छापा मार्दा भारतका विभिन्न कम्पनीबाट उत्पादित ‘ट्रामा’ नामक औषधि मात्रै ६२ बोरा र अन्य ७ थरी औषधि पनि ठूलो परिमाणमा लुकाएर राखिएको भेटियो । ‘ट्रामा’ दुखाइ कम गर्ने कडाखाले औषधि हो । पछिल्लो समय यो औषधि लागूऔषधमा बढी प्रयोग भएको भेटिएको विभागका महानिर्देशक डा.नारायणप्रसाद ढकालले बताए । काठमाडौं नयाँबजारस्थित मदनमान स्थापितको घरको सटर भाडा लिएर अवैध औषधि भण्डार गरिएको भेटिएको हो ।


अवैध औषधि बिक्रीमा संलग्न व्यवसायी प्रसोत्तम भण्डारी फरार रहेको ढकालले बताए । ‘यस्ता औषधि भित्र्याउने र बेच्ने व्यक्तिको प्रहरीको सहयोगमा खोजी भइरहेको छ,’ उनले भने । उनका अनुसार फार्मेसीमा बसेका दुई र शंकास्पद अरू तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘मोटरसाइकल पार्किङका लागि सटर भाडामा चाहियो भनेका थिए । कहिलेकाहीं मोटसाइकलमा हालेर सामानका काटुर्न लगेको त देख्थेँ,’ घरधनी स्थापितले भने, ‘यसरी अवैध औषधि थुपारेर राखेको होला भन्ने मैले सोचेको पनि थिइनँ ।’


केही दिनअघि यो औषधि प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बिनादर्ताका औषधि निरीक्षण गर्दा पहिलोपटक यति ठूलो परिमाणमा भेटिएको उनले बताए । बरामद भएका सबै औषधि विभागले नियन्त्रणमा लिएको छ । ‘यी औषधिबारे विस्तृत अध्ययन गरेपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने, ‘बजारमा अझै यस्ता धेरै औषधि लुकाएर राखिएको शंका छ, अझै अनुगमन गर्दै छौं ।’


६२ बोरा ‘ट्रामा’ बाहेक दर्ताबिनाका अरू औषधि पनि भेटिएको उनले बताए । गर्भपतनमा प्रयोग हुने औषधि दुई कार्टुन, यौनशक्ति बढाउने हर्बल चार कार्टुन, निद्रा लगाउने ‘अल्प्राजोलम’ पाँच बोरा, गर्भनिरोधक चक्की ३ कार्टुन, केही कार्टुन एजर्लीका औषधि पनि बरामद भएका छन् ।


औषधि ऐन २०३५ अनुसार बिनादर्ताका औषधिको ओसारपसार र बिक्रीवितरण गर्न बन्देज छ । ऐनले बिनादर्ता औषधि बेच्नेलाई ५ वर्ष जेल सजाय र १ लाख जरिवाना तोकेको छ । ‘अपराधको प्रकृति हेरी सजाय र जरिवाना योभन्दा बढी पनि हुन सक्छ,’ डा. ढकालले भने ।

प्रकाशित : पुस २९, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?