कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ वर्षअघि बिग्रिएको ट्राफिक लाइट बल्न थाले 

काठमाडौँ — आठ वर्षअघि बिग्रिएको उपत्यकाको ट्राफिक लाइट बल्न थालेको छ । ०५७ मा जापान सरकारले जडान गरिदिएको लाइट बिग्रिएपछि ०६८ देखि सुचारु थिएन । सिंहरबार, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको तीनवटा चोक, बानेश्वर, गौशालाको ट्राफिक लाइट सडक विभागले बल्ने अवस्थाको बनाएको हो । 

आठ वर्षअघि बिग्रिएको ट्राफिक लाइट बल्न थाले 

विभागले एउटा लाइट बनाउन कम्तीमा ६ लाख रुपैयाँ खर्च गरेको प्राविधिकले जनाएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मुख्य कारण पाइएपछि धमाधम बनाइरहेको छ । ‘सडक विभाग र मर्मतको ठेक्का पाएको कम्पनीसँग समन्वय गरेर आठ वर्षपछि पुनः सञ्चालनमा ल्याउन सफल भयौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने, ‘यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्नेछ ।’ उनले उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुअघि नै बानेश्वरको लाइट बनाइसकेको थियो । तर, सञ्चालन नगरी बन्द गरेर राखिएको थियो ।


ट्राफिक लाइट मर्मतको ठेक्का पाएको यार्सा टेक्नोलोजीका सञ्चालक रामचन्द्र खड्काका अनुसार पुरानो बानेश्वर, मित्रपार्कमा पनि लाइट चल्ने अवस्थामा भएको छ । प्रदेश सरकारको लगानीमा टंकेश्वर र परोपकारमा, ललितपुर महानगरको १६ नम्बर वडा कार्यालयको लगानीमा मंगलबजार चोकनजिकै महापालमा पनि लाइट जडान गरिएको छ । ललितपुर महानगरको ३ नम्बर वडा र निजी कम्पनीको सहकार्यमा पुल्चोकमा पनि लाइट व्यवस्थापन गर्दै छ । काठमाडौं महानगरपालिको लगानीमा महाराजगन्ज चोक र शिक्षण अस्पताल अगाडि जेब्राक्रसमा पैदल यात्रुका लागि लाइट व्यवस्थापन गरिएको छ । साताभित्र थापाथली, कालिमाटी र मित्रपार्कमा पनि लाइट बनाइसक्ने खड्काले बताए । यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । इन्टरनेटको माध्यमबाट कुन चोकमा कुन लाइट कति समय थपघट गर्ने भन्ने चलाउन सकिन्छ । ‘कति मिनेटपछि लाइट रिभर्स हुने अर्थात् काउन्टिङ डिस्प्ले बनाउने अब ट्राफिक प्रहरी कक्षबाटै गर्न सकिन्छ छ,’ उनले भने ।


इन्टरनेटका माध्यमले एउटै कोठाबाट व्यवस्थापन गर्न सकिएको उनले बताए । अहिले नयाँ जडान र मर्मत गरिएको ट्राफिक लाइटमा दृष्टिविहीनले समेत बाटो पार गर्न आवाज आउने प्रविधि राखिएको छ । ‘दृष्टिविहीनले समेत जेब्राक्रसमा पुगेपछि बाटो काट्ने समय थाहा पाउने गरी आवाज आउँछ । जसले बाटो खुलेको थाहा हुन्छ,’ खड्काले भने ।


जथाभावी बाटो काट्नेलाई कक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ज्रेबाक्रस र आकाशेपुलबाट बाटो नकाट्ने पैदल यात्रुलाई सडकमै सचेतना कक्षा लिन थालेको छ । पैदल यात्रुले जथाभावी बाटो काट्दा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले जनचेतना फैल्याउन तर्फ लागेको हो ।


महाशाखाले जेब्राक्रसिङ र आकाशेपुल भएको ठाउँमा पनि जथाभावी बाटो काट्नेलाई सोही स्थानमा २० मिनेटको सचेतना लिइने जनाएको छ । यसभन्दा पहिले मादक पदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलाई मात्र सचेतना कक्षा लिइन्थ्यो । जेब्राक्रस र आकाशे पुल प्रयाप्त भएको ठाउँमा पनि पैदलयात्रुले जथाभावी बाटो काट्ने भएकाले त्यसलाई निरुत्साहित गर्न यो अभियान सुरु गरेको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले बताए । ‘बाटो काट्नका लागि राखिएका जेब्राक्रस र आकाशेपुल पैदलयात्रुले प्रयोग गरेको छैन,’ उनले भने, ‘त्यसैले पैदलयात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन अभियान सुरु गरेको हो ।’


सोमबार मात्रै भोटाहिटि र रत्नपार्क क्षेत्रमा आकाशेपुल र जेब्राक्रसिङको प्रयोग नगरी बाटो काट्ने एक हजार जनालाई सचेतना कक्षा लिएको महाशाखाले जनाएको छ । जथाभावी बाटो काट्ने पैदलयात्रुलाई सडककै किनारामा भेला गरी सचेतना कक्षा लिइएको प्रवक्त श्रेष्ठले बताए । सचेतना कक्षामा पैदलयात्रुलाई सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी गराइएको उनले बताए । त्यस्तै कक्षामा सहभागी पैदलयात्रुकै माध्यमबाट हरेक घरमा सचेतना फैलाउन पर्चा पम्पलेट वितरण गरेको महाशाखाले जनाएको छ ।


साउनदेखि कातिकसम्म मात्र उपत्यकामा ७६ वटा सवारी दुर्घटना भएको थियो । ती दुर्घटनामा ३२ जना पैदलयात्रुले ज्यान गुमाइसकेका छन् । गत वर्ष दुई सय ५४ सवारी दुर्घटना भएको थियो । जसमा ९३ जना पैदलयात्रुले ज्यान गुमाएको थियो । उपत्यकाको सवारी दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरुक्षा अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।


पैदलयात्रुले बाटोमा हिड्दा, बाटो काट्दा जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग नगरे त्यस्ता पैदलयात्रुलाई २० मिनेट सचेतना कक्षा लिइने महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । ‘जेब्राक्रसिङमा पनि ध्यान नदिइ बाटो काट्दा पैदलयात्रुले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेको छ,’ उनले भने, ‘त्यसैले जेब्राक्रसिङमा पनि कसरी बाटो काट्ने भनि सचेतना कक्षामा सिकाइनेछ ।’


प्रकाशित : पुस २९, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?