कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कमिसन नमिल्दा औषधिमा ढिलाइ

कात्तिकबाट सुरू भएको खरिद प्रक्रिया ढिलो भएर समयमा औषधि नआएपछि बिरामीलाई समस्या
फातिमा बानु

काठमाडौँ — भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रले तीन महिनादेखि बहुऔषधि प्रतिरोधी (एमडीआर) उपचारमा प्रयोग हुने क्यानमाइसिन औषधि खरिद नगर्दा बिरामी मारमा परेका छन् । केन्द्रले देशका विभिन्न ठाउँमा यो औषधि आपूर्तिसमेत गरेको छैन ।

कमिसन नमिल्दा औषधिमा ढिलाइ

शुक्रबार मोरङको क्षयरोग निवारण केन्द्रमा सम्पर्क राख्दा तीन महिनादेखि क्यानमाइसिन थोरै मात्रामा आइरहेको जानकारी दिए । केन्द्रका एक कर्मचारीले भने, ‘हामीकहाँ ५८ एमडीआर बिरामी छन् । पहिले चार महिनालाई एकैपटक पुग्ने गरी औषधि आउँथ्यो, अहिले आएको छैन ।’

गत कात्तिकबाट सुरु भएको खरिद प्रक्रिया ढिलो भएर समयमा औषधि नआएको केन्द्रका एक कर्मचारीले बताए । ‘पुराना स्टकमा १० कार्टुन औषधि मिति गुज्रिएर खेर गयो । मंसिरसम्ममा भित्रिसक्नुपर्ने औषधि आएको छैन,’ उनले भने । बिरामीले औषधि लिन नपाएपछि केन्द्रलाई दामियन फाउन्डेसनले सहयोग गरेको थियो । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएको ती कर्मचारीले बताए । ‘संस्थाले सहयोगमा दिएको औषधि पनि अब सकियो । जिल्लाका स्वास्थ्य केन्द्रबाट औषधि सकियो भनेर फोन आइरहन्छ, हामीसँग बाँकी भएको औषधि थोरै मात्रामा सबै ठाउँमा पठाएर काम चलाइरहेका छौं ।’

औषधि अभावकै कारण सुर्खेतका जीवन महतार (नाम परिवर्तन) ले पुस महिनाको चार दिन औषधि लिएनन् । चार महिनादेखि जटिल क्षयरोगको उपचार गराइरहेका उनलाई स्वास्थ्य केन्द्रबाट औषधि सेवन र साताको ६ दिन ‘क्यानमाइसिन’ इन्जेक्सन लिनुपर्छ । ‘काठमाडौंबाटै औषधि आएको छैन रे,’ उनले भने, ‘बजारमा किन्न पनि नपाएपछि मैले इन्जेक्सन लिएको छैन ।’ भारतमा जारी चुनावका कारण नेपालमा क्षयरोगको औषधि भित्रिएको छैन भन्ने हल्ला सुनेर उनी केही दिन औषधि नलिई बसे । औषधिको डोज पूरा नगरे औषधिले पनि काम गर्दैन भन्ने सुनेपछि मात्रै नेपालगन्जको स्वास्थ्य केन्द्रबाट औषधि मगाएर प्रयोग गरिरहेको उनलै बताए । ‘औषधि पठाइदिनुपर्‍यो भनेर मैले काठमाडौंको केन्द्रमा पनि सम्पर्क गरेँ,’ उनले कान्तिपुरसित फोनमा भने, ‘औषधि आउन समय लाग्छ भनेका छन् ।’ केन्द्र र औषधि सप्लायर्स फर्मसँग कमिसनमा कुरा नमिलेपछि औषधिको टेन्डर भएको केन्द्र स्रोतको दाबी छ ।

केन्द्रको तथ्यांकअनुसार क्यानमाइसिन औषधि लिने बिरामी देशभर सात सय २८ जना छन् । आधा बिरामीलाई दैनिक क्यानमाइसिन इन्जेक्सन चाहिन्छ । ‘कुनै बिरामीलाई हप्ताको तीन दिन र कुनैलाई ६ दिन चाहिन्छ,’ स्रोतले भने, ‘औषधि अभावमा बिरामीको ज्यान त जोखिममा पर्छ नै, औषधि प्रयोग नगरेका बिरामीबाट स्वस्थ व्यक्तिमा जटिल क्षयरोग सर्छ ।’ देशका २१ वटा क्षयरोग निवारण केन्द्रबाट बिरामीले यो इन्जेक्सन लिँदै आइरहेका छन् । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा यो औषधि चलाइँदै आएको छ ।

सरुवारोग विशेषज्ञका अनुसार सामान्य क्षयरोगको औषधि खाँदा रोग निको नभएका बिरामीलाई क्यानमाइसिन इन्जेक्सन दिइन्छ । अत्यधिक एन्टिबायोटिक खाएका कारण सामान्य औषधिले नछुने अवस्थामा पुगेका र क्षयरोगको नियमित औषधि नखाएका बिरामीलाई यस्तो औषधि दिइन्छ । रोगको समस्याअनुसार बिरामीले ९ महिनादेखि २० महिनासम्म नियमित यो औषधि लिनुपर्ने हुन्छ । सरकारले निःशुल्क रूपमा जटिल क्षयरोगको उपचार र औषधि दिँदै आएको छ । केन्द्रका अनुसार प्रदेश ३ मा यो रागका बिरामी बढी छन् । केन्द्रले वार्षिक करिब एक करोडको रकम बराबरको ७० भाइल औषधि खरिद गर्दै आइरहेको थियो । यस वर्ष १५ हजार भाइल औषधि आवश्यक भए पनि केन्द्रमा औषधि छैन ।

क्यानमाइसिनको बढी नकारात्मक असर भएकाले यो औषधि अब खरिद नगरिने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘यो औषधि लिने अधिकांश बिरामीमा कान कम सुन्ने र बहिरो नै हुनेजस्ता साइड इफेक्ट देखिन थाले,’ उनले भने, ‘अब हामी यो औषधि किन्दैनौं, जटिल क्षयरोग उपचारका लागि एमिकासिन किन्छौं ।’ नयाँ औषधि भएकाले यस वर्ष औषधि खरिद प्रक्रिया लम्बिएको उनले बताए । पुराना बिरामीलाई क्यानमाइसिन र नयाँ बिरामीलाई एमिकासिन दिइने उनको भनाइ छ ।

औषधि खरिद सम्झौता भइसके पनि केन्द्रसँग पर्याप्त क्यानमाइसिन नभएको स्वास्थ्यकर्मीले बताए । ‘अहिले आठ सय १० भाइल औषधि आएको छ । यति औषधिले दुई दिन पनि पुग्दैन,’ ती स्वास्थ्यकर्मीले भने ।

प्रकाशित : पुस २८, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?