कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आगलागी रोक्न ‘ड्राइराइजर’

सीमा तामाङ

काठमाडौं — जुद्ध वारुणयन्त्र कार्यालयबाट साइरन बजाउँदै आएका दमकल जनबहाल चोकमा रोकिए । अत्तालिँदै बाहिर निस्केका स्थानीयको भीडमा एक युवा सोध्न थाले, ‘दमकल आयो त, कहाँ आगलागी भएछ ?’ केहीबेरमै दुईवटा एम्बुलेन्स यहीँ आइपुगे । अग्नि नियन्त्रक दमकलबाट ओर्लेर पाइप निकाल्न थाले । यहीबेला चोकबाट करिब सय मिटरभित्र एउटा अग्लो घरको चौथो तलाबाट धूवाँ निस्किरहेको देखियो । 

अग्नि नियन्त्रकले दमकलमा जोडेको पाइपको अर्को छेउ मासंगल्लीको मुखैमा भएको फलामे पाइप (इनलेट) मा जोडे । इनलेटबाट ड्राइराइजरको दूरी एक सय मिटरको थियो । इनलेटमा पाइप जोडेपछि अरू अग्नि नियन्त्रकले त्योभन्दा अगाडि गल्लीमा भएको अर्को ड्राइराइजरमा अर्को पाइप जोडेर धूवाँ आइरहेका ठाउँमा पुर्‍याए । अग्नि नियन्त्रक पुग्दासम्म त्यस वरपरका स्थानी आगलागी भयो भन्दै चिच्याइरहेका थिए । त्यसपछि अर्को ड्राइराइजरमा पाइप जोडेर आँगनबाटै माथि पानी छ्याप्न थालियो । अग्नि नियन्त्रकले तलमाथिबाटै पानीको फोहोरा हान्न थालेपछि आगो नियन्त्रणमा आयो । अग्नि नियन्त्रकले घाइते भएकालाई बाहिर निकाले त्यसपछि स्वयंसेविकाले प्राथमिक उपचार थाले । एक पुरुष र एक महिलालाई थप उपचारका लागि एम्बुलेन्समा राखी अस्पताल पठाइयो ।


यो दृश्य दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रण गर्न शनिबार गरिएको परीक्षण मात्रै थियो । काठमाडौं महानगरपालिका–२५ मासंगल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म चार इन्च मोटाइका फलामे पाइपलाइन बिछ्याएको छ । आगो लागेको खण्डमा उक्त पाइपलाइनबाट तीन सय वटा घर जोगाउन सकिने वडाध्यक्ष निलकाजी शाक्यले बताए । दुई सय मिटर लामो पाइपलाइनको आठ ठाउँमा ड्राइराइजर राखिएका छन् । आगलागीका बेला ती ड्राइराइजरमा पाइप जोडी आगो नियन्त्रण गर्न सकिन्छ । उक्त पाइपलाइन जडानका लागि नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रमबाट पाँच लाख, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट दुई लाख, संघसंस्था र उपभोक्ताको दुई लाख ४० हजार गरी नौ लाख ४० हजार खर्च भएको मासंगल्ली उपभोक्ता समितिले जनाएको छ ।


महानगरका मेयर विद्यासुन्दर शाक्यले इनलेटको मुख खोलेर पाइपलाइन उद्घाटन तथा परीक्षण सुरु गरेका थिए । पाइपलाइन प्रयोगको परीक्षणपछि उनले महानगरभित्र ऐतिहासिक, पुरातात्त्विक र पुराना बस्ती रहेकाले सम्भावित आगलागी नियन्त्रणका लागि योजना बनाइरहेको बताए । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विपद्का समयमा आवश्यक पर्ने सामग्रीलाई वडास्तरमा भण्डारण गर्ने योजना बनिरहेको जानकारी गराइन् ।

प्रकाशित : पुस २७, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?