१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कीर्तिपुर किन भएन विश्वसम्पदामा सूचीकृत ?

प्रशान्त माली

काठमाडौँ — हालै आयोजित ‘तेस्रो मेयर्स फोरम’मा कीर्तिपुरलाई विश्वसम्पदामा सूचीकृत गर्न सकिने आधारबारे गहन बहस चल्यो । १८ पालिकाका प्रतिनिधि सहभागी भएको फोरममा आधुनिक संरचना निर्माणले तीव्रता पाएपछि कीर्तिपुर विश्वसम्पदामा सूचीकृत हुनबाट विमुख भएको बारे चिन्तासमेत व्यक्त गरियो ।

कीर्तिपुर किन भएन विश्वसम्पदामा सूचीकृत ?

काठमाडौं र काभ्रे उपत्यकाको ऐतिहासिक सम्पदा बस्ती संरक्षण गर्ने उद्देश्यमा छलफल गर्न जनप्रतिनिधि आइतबार कीर्तिपुरमा जुटेका थिए । त्यसो त कीर्तिपुरलाई विश्वसम्पदामा सूचीकृत गर्न पुरातत्त्व विभागले डेढ दशकअघि नै अध्ययन गरी प्रतिवेदन तयार पारिसकेको छ । त्यसयता पनि ऐतिहासिक कीर्तिपुरले मल्लकालीन संरचना परिवर्तन गर्दै गयो । आधुनिक शैलीले मौलिकता ओझेलमा पर्‍यो ।


विभागको प्रतिवेदनमा यहाँका कलासंस्कृति, आर्किटेक, इतिहासलगायतबारे अध्ययन गरिएको छ । मठमन्दिर, पाटीपौवा, पोखरी, ढुंगेधाराजस्ता मूर्त सम्पदा र त्यससँग जोडिएका भजनकीर्तन, पूजापाठ, जात्रापर्व इत्यादि अमूर्त सम्पदाबीचको सम्बन्धबारे पनि अध्ययन गरेको विभागका प्रमुख पुरातत्त्व अधिकृत सुरेशसुरस श्रेष्ठले बताए । ‘स्थानीयलाई मौलिक शैलीमा घर बनाउनुपर्छ भन्नेबारे विभागले मात्र सुझाव दिएर कार्यान्वयन गर्न सक्ने अवस्था आएन,’ उनले भने, ‘त्यसैले पनि कीर्तिपुर युनेस्कोको विश्वसम्पदामा सूचीकृत हुन नसकेको हो ।’


विशेष गरी ०५० सालयता यहाँका मल्लकालीन संरचनामा परिवर्तन हुन थालेको विज्ञहरू बताउँछन् । भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा पनि आधुनिक संरचना बनाइए तर सम्पदा विज्ञहरू भन्छन्, ‘अहिले पनि मौलिक संरचनालाई पुरानै ढाँचामा फर्काउन सकिन्छ ।’ फोरममा सहभागी जापानका प्राध्यापक एवं सम्पदाविज्ञ युकियो निसिमुराले भने, ‘स्थानीय सरकारले चाहे कीर्तिपुरलाई पुरानै स्वरूपमा ल्याउन सकिने आधार प्रशस्तै छन्, त्यसो भयो भने विश्वसम्पदा सूचीमा राख्न गाह्रो छैन ।’ प्राध्यापक निसिमुराले ३० वर्षअघि कीर्तिपुरको ऐतिहासिकतामाथि अध्ययन गरेका थिए । ‘०४६ यता व्यक्तिगत घर र जीवनशैलीमा बढी परिवर्तन आएको देखिन्छ,’ उनले भने, ‘तर, मठमन्दिर, पाटीपौवा, गल्ली, जात्रापर्व, परम्परा उस्तै छन् ।’ जापानमा ५० वर्षअघि नै आधुनिक भइसकेको बस्ती पुरानो स्वरूपमा ल्याइएको उदाहरण दिँदै उनले थपे, ‘यहाँ पाँच वर्षअघिसम्म ६० प्रतिशत घरहरू पुरानै शैलीमा थिए । तिनलाई मौलिक शैलीमा ल्याउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । हामी मल्लकालीन आर्किटेक चाहन्छौं ।’


काभ्रे उपत्यका, मकवानपुरको टिस्टुङ पालुङ, चित्लाङ, काठमाडौंका मच्छेगाउँ, सतुंगल, बलम्बु, थानकोट, फर्पिङ, ठेचो, चापागाउँ, बुलु, लेले, प्याङगाउँ, नगदेश, ठैव, हरिसिद्धि गरी ५४ वटा ऐतिहासिक बस्ती छन् । जहाँ अहिले धमाधम आधुनिक शैलीका घरभवन बन्ने क्रमले तीव्रता पाएको छ । मल्लकालीन शैली अपनाउन न स्थानीय सरकारले ध्यान दिए न त केन्द्र सरकारले चासो दियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर नेपालको सम्पदा र सभ्यता जोगाउन मेयरहरूसँग सहकार्य गर्न तयार रहेको बताउँछन् । उनका अनुसार भारतमा मृत शरीर जलाएपछि अस्तु गंगामा लगेर सेलाइने चलन छ । नेपालमा वाग्मतीमा सेलाइन्छ । उनले भने, ‘यस्तो महत्त्व बोकेको वाग्मती सभ्यता जसरी भए पनि हामीले जोगाउनुपर्छ ।’ राजधानीबाहेक अन्य जिल्लाका नयाँ सहरलाई मौलिक रूपमा विकास गर्ने योजना रहेको सुनाए । सहर व्यवस्थापन गर्न छुट्टै ऐन ल्याउने तयारीमा सरकार रहेको उनको भनाइ छ ।


भूकम्पपछि ललितपुरको बुङमती र खोकना बस्ती मौलिक शैलीमा पुनर्निर्माणको योजना बन्यो तर जनप्रतिनिधि र स्थानीय पुनर्निर्माण समितिका पदाधिकारीबीच सहकार्य नहुँदा सम्पदा बस्ती पुनर्निर्माण ओझेलमा परेको छ ।


भूकम्पलगतै ललितपुर महानगरपालिका–२२ मा बुङमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद् र २१ नम्बरमा खोकना पुनर्निर्माण तथा पुन:स्थापना समिति गठन भएको थियो । स्थानीय निकायमा जनप्रतिनिधि आएको दुई वर्ष बिते पनि बस्ती पुनर्निर्माणलाई तीव्रता दिनेबारे स्थानीय पुनर्निर्माण समिति र जनप्रतिधिबीच पर्याप्त छलफल भएको छैन ।


हरिसिद्धिको समस्या पनि उस्तै छ । सम्पदा बस्ती पुनर्निर्माण गर्न एकीकृत योजना लगतसहितको डिजाइन तयार भयो तर जनप्रतिनिधिले चासो नदिँदा पुनर्निर्माण अलपत्र परेको छ । यसले सम्पदा बस्तीका पुरात्तात्त्विक महत्त्वका मठमन्दिर, पाटीपौवा पुनर्निर्माणमा समस्या देखिएको छ । भूकम्पले ध्वस्त बुङमतीको रातोमत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण हुन सकेको छैन । मत्स्येन्द्रनाथको मूर्ति हाल टहरामा छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मत्स्येन्द्रनाथ मन्दिर अब ठेकेदारले नभई स्थानीय उपभोक्ता समितिले पुनर्निर्माण गरिने बताए । ‘सम्पदा पुनर्निर्माणले ठेकेदार मात्र मोटाउने काम भयो,’ उनले भने, ‘अब स्थानीयले नै बनाउँछन् ।’


सम्पदा बस्ती संरक्षण गर्न सहरी विकास तथा भवन निर्माण विभागमा सुचीकृत गर्नुपर्ने प्रावधान छ । सम्पदा बस्तीमा सूचीकृत भए पर्यटक वृद्धि भई त्यहाँ स्थानीयको आम्दानी बढ्न्,े राज्य र विदेशी दातृ निकायले दिने सहयोग उपभोग गर्न पाउनेजस्ता फाइदा छन् तर भवन विभागमा दर्ता गर्ने प्रावधानबारे बल्ल थाहा पाएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए । ‘ऐनमा सम्पदा बस्तीमा सूचीकृत गर्न ५० वटा घर अनिवार्य चाहिन्छ । कीर्तिपुरकै चिलंचो बस्तीमा त्यति संख्यामा घर छैन,’ उनले भने, ‘यसमा सम्बन्धित निकायले विचार पुर्‍याउनुपर्‍यो ।’


उनले कीर्तिपुरको मुख्य क्षेत्रभित्रको जात्रा रुट अथवा गढ पर्खालभित्रको बस्तीमा छुट्टै मापदण्ड भएको दाबी गरे । भवन विभागका सिनियर डिभिजन इन्जिनियर सुरेन्द्रमोहन श्रेष्ठ सम्पदा बस्ती दर्ता गर्नेबारे प्रचारप्रसार गरिरहेको बताउँछन् । ‘नीति–नियमबारे थाहा छैन भन्न पाइँदैन,’ उनले भने, ‘कुनै पनि बस्तीको चारकिल्ला तोकेर त्यसमा भएका मूर्त/अमूर्त सम्पदालगायत परम्पराको विशेषता झल्किने रिपोर्ट तयार गरेर दर्ताका लागि विभागमा पेस गर्न सकिन्छ ।’


भवन विभागले बनाएको कतिपय ऐन पुरातत्त्व विभाग स्मारक संरक्षण ऐनसँग बाझिएको पुरातत्त्व अधिकृतहरूले बताएपछि इन्जिनियर श्रेष्ठले जुधेका ऐनकानुन परिमार्जन गरेर अगाडि बढ्न तयार रहेको जवाफ दिए । खोकना, बुङमती र हरिसिद्धिमा बनाइएको सम्पदा बस्तीको डिजाइनमा भुइँतलामा क्युरियो सप, काष्ठकला, प्रशिक्षण केन्द्र, क्याफे, होटल तथा रेस्टुरेन्ट, पहिलो तलामा होमस्टे, लज, सर्भिस अपार्टमेन्ट र दोस्रोमा भान्सा रहने व्यवस्था छ । घरधनीलाई लक्षित गरी बनाइएका आवासका भुइँतलामा क्युरियो, पहिलो र दोस्रोमा घरधनी बस्ने र माथिल्लो तलामा भान्सा हुनेछ । सार्वजनिक तथा निजी संरचनामा सटर, रेलिङ, स्टिलको झ्याल ढोका, रङ, साइनबोर्ड, छत, पानीट्यांकीलगायत आधुनिक सामग्री प्रयोगलाई निरुत्साहित गरिएको छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?