कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

ढोकैमा ज्यान गुमाउँछन् बिरामी

फातिमा बानु

काठमाडौँ — सल्यान छत्रपुरकी ६० वर्षीया विष्णुमाया ओलीलाई पुस २ गते बिहान भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र पुर्‍याइयो । क्षयरोगको नियमित औषधि नखाएका कारण श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सल्यान जिल्ला अस्पतालले उनलाई केन्द्रमा रिफर गरेको थियो । केन्द्रमा पुग्दा उनलाई छिनछिनमा बान्ता हुने, अचेत हुने भइरह्यो ।

ढोकैमा ज्यान गुमाउँछन् बिरामी

बिहान ८ बजे केन्द्र पुगेकी उनले १० बजेसम्म क्लिनिक खोल्ने समय कुर्दैमा बिताइन् । क्लिनिक त खुल्यो, उनको कुनै उपचार हुन सकेन । अन्तिम श्वास गन्दै त्यहाँ पुगेकी उनले अक्सिजन नपाएर केन्द्रमै ज्यान गुमाइन् ।


‘क्षयरोग केन्द्र उपचार गर्ने ठाउँ त होइन । यस्ता रोगीको उपचारमा अस्पतालहरूले पनि विभेद गर्छन्, छुन मान्दैनन् र केन्द्रमै रिफर गरिदिन्छन्,’ केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘दक्ष जनशक्ति हुँदाहुँदै पनि पूर्वाधार अभावका कारण सिकिस्त बिरामीलाई उपचारबिनै फर्काउन बाध्य छौं,’ रिफर भएर आएका १० जना बिरामीले बर्सेनि केन्द्रमै ज्यान गुमाउने गरेको उनले बताए । क्षयरोगको औषधि सेवन गरिरहेका अर्का बिरामी केही दिनअघि केन्द्र पुगेका थिए । त्यसदिन उनको रगत जाँच र एक्सरे गर्ने पालो पनि थियो । पालो कुर्दाकुर्दै उनी लाइनमै ढले । बेहोस भएका बिरामीको व्यवस्थापन केन्द्रमा थिएन । केन्द्रमा एक स्वास्थ्यकर्मीले भने, ‘अक्सिजनबिना बिरामी होसमा नआउने भएपछि ट्याक्सीमा हालेर भक्तपुरकै कोरियामैत्री अस्पताल पठायौं । बिरामी अन्तिम अवस्थामा पुगिसकेको थियो ।’


क्षयरोग केन्द्रको क्लिनिकमा पुगेका सिकिस्त बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपर्ने या फर्किनुपर्ने यी दुई उदाहरण मात्रै हुन् । क्षयरोगले ग्रस्त भई देशरभरबाट रिफर भएर आएका कुनै बिरामीले यहाँ आधारभूत स्वास्थ्य उपचारसमेत पाउँदैनन् । ‘क्षयरोगकै कारण लामो खोकी लाग्ने, सास फेर्न अप्ठेरो हुने, बेहोस हुने, धेरैपटक बान्ता भएर अन्तिम अवस्थामा पुगेका बिरामी आउँछन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘फोक्सोमा पानी जम्ने, मुटुको बाहिरी झिल्लीमा पानी जमेर जटिल समस्या भएका बिरामी देशभरका अस्पतालबाट रिफर भएर यहीँ आउँछन् ।’ ती बिरामीलाई कम्तीमा अक्सिजन दिने र प्राथमिक उपचार गर्ने व्यवस्था भए बिरामीले ज्यान गुमाउनु नपर्ने उनको भनाइ छ । प्राथमिक उपचार मात्रै गरिदिने हो भने ती बिरामीलाई अन्य अस्पताल रिफर गरेर बचाउन सकिने केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् ।


केन्द्रमा सिकिस्त बिरामी उपचारका लागि आवश्यक बेड, अक्सिजन, सलाइन पानी चढाउने व्यवस्था छैन । क्षयरोग, छातीरोग र एचआईभी रोगको उपचार गर्ने देशकै एक मात्र रेफरल केन्द्रले बिरामीलाई जँचाउने र औषधि खुवाउने मात्रै गर्ने गरेको छ । ‘कुनै बिरामी त रगत छाद्दै आइरहेका हुन्छन् । दुर्गमदेखि एम्बुलेन्समा आएका बिरामीलाई भित्र छिर्न नपाई ढोकैबाट फर्काइन्छ,’ एक स्वास्थ्यकर्मीले भने । सरुवारोग विशेषज्ञ अनुप बाँस्तोलाका अनुसार क्षयरोगको नियमित औषधि नखाने, बीचैमा औषधि छाड्ने, पोषण नपुगेका, रोगसँग लड्ने क्षमता कम भएका बिरामी सिकिस्त हुन्छन् । ‘जटिल टीबी भएका बिरामीले सामान्य टीबीको औषधि खाँदा पनि सिकिस्त हुन सक्छन्,’ उनले भने, ‘कसैलाई टीबीकै कारण हाडजोर्नी र नसामा गम्भीर समस्या भइरहेको हुन्छ । यस्ता बिरामीको उपचार गर्ने ठाउँमा अक्सिजन र भेन्टिलेटर आवश्यक पर्छ ।’ अधिकांश बिरामी निजी अस्पतातलको खर्च धान्न नसकेपछि केन्द्र आइपुगेका हुन्छन् । यहाँबाट पनि फर्काएपछि निजीमा जान सक्दैनन् । उपचार नपाएका यस्ता बिरामी बेड पाएसम्म राजधानीको कालीमाटीस्थित क्षयरोग अस्पतालमा उपचार गराउन जाने गरेका छन् । त्यहाँ उनीहरूलाई नि:शुल्क उपचार र औषधिको व्यवस्था छ । ‘यहाँ राख्न सक्ने अवस्था नभएपछि अन्य अस्पतालमा खबर गर्छौं,’ केन्द्रका एक स्वास्थ्यकर्मी भने, ‘बिरामी र स्वास्थ्यकर्मीलाई रोग सर्छ भनेर अस्पतालले यस्ता बिरामी लिन मान्दैनन्, अनि यहीँ बस्दाबस्दै कतिपयले ज्यान गुमाउँछन् ।’ राजधानीका सरकारी अस्पतालले समेत यस्ता जटिल बिरामी लिन नमान्ने ती स्वास्थ्यकर्मीले बताए ।


आकस्मिक कक्ष नहुँदा केन्द्रको ढोकासम्म आएको एम्बुलेन्सभित्रै बिरामीलाई परामर्श गरेर फर्काइन्छ । न्यूनतम आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्न उपचार कक्ष निर्माणको आवश्यकता भएको केन्द्रका कर्मचारी र स्वास्थ्यकर्मी बताउँछन् । केन्द्रका छातीरोग विशेषज्ञ तथा क्लिनिक इन्चार्ज नवीनप्रकाश शाहले केन्द्रमा आउने कुनै पनि बिरामी नफर्काउने गरेको दाबी गरे । उनले भने, ‘हामीकहाँ इमर्जेन्सी उपचार चाहिने बिरामी आउँदैनन्, सेवा आवश्यक पनि छैन ।’


सय बेडको अस्पताल

क्षयरोगले सिकिस्त भएर उपचार खोज्दै आएका बिरामीका लागि सय बेडको अस्पताल निर्माण हुने केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए । यो अस्पताल आगामी असार मसान्तसम्म निर्माण भइसक्ने योजना छ । अस्पताल बनेपछि क्षयरोगका बिरामीले सामान्यदेखि शल्यक्रियसहितको उपचार पाउने उनले बताए ।


प्रकाशित : पुस २५, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?