कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुधारिँदै कान्ति, थपिए आईसीयू बेड

फातिमा बानु

काठमाडौँ — एकातिर आईसीयू बेड नपाएका बालबालिका निजी अस्पताल जानुपर्ने बाध्यता, अर्कातिर अस्पतालसँग भएको आईसीयूको १५ बेड प्रयोगविहीन । दैनिक सात सय बिरामीको ओइरो । धमिलो पानी, शौचालय फोहोर त भइहाले, जनशक्ति अभावले पनि कान्ति बाल अस्पताल समस्यामा गुज्रिएको थियो ।

सुधारिँदै कान्ति, थपिए आईसीयू बेड

विशेष गरी गरिब बालबालिकाको आशाको केन्द्र यही अस्पतालमा ०७२ को भूकम्पले क्षति पुर्‍यायो । यस्ता कैयौं समस्यामा गाँजिएको महाराजगन्जस्थित अस्पतालले सुधारको संकेत देखाउँदै छ ।


थपिए आईसीयू बेड

आईसीयूमा बेड अभाव अस्पतालको विकराल समस्या थियो । बेड नपाएकै कारण दैनिक १० बिरामी उपचारबिनै फर्किन्थे । ती बिरामी निजी अस्पतालमा १० देखि २० हजारसम्म तिरेर उपचार गर्न बाध्य हुन्थे । अस्पतालका निर्देशक डा. आरपी बिच्छा भन्छन्, ‘निजी अस्पतालको आईसीयू बेड खर्च धान्न नसकेपछि ती बिरामी फर्केर कान्तिमै आउँथे । आईसीयू नहुँदा कतिपटक बच्चाले अस्पतालमै ज्यान गुमाउँथे ।’ यस्ता समस्या समाधान गर्न अस्पतालमा अहिले आठ बेडको ‘पेडियाट्रिक इन्टरमेडिएट आईसीयू’ व्यवस्था गरिएको छ ।


यस्ता बेडमा भेन्टिलेटर नचाहिने खालका बिरामी राख्न मिल्छ । आईसीयूमा बसेर सुधार भएका बिरामी पनि राख्न सकिने डा. बिच्छाले बताए । यस्तो बेडको सुविधा थपिएसँगै ७० प्रतिशत बिरामी बालबालिकालाई आईसीयू छैन भनेर फर्काउनुपर्ने अवस्था अब नभएको उनको भनाइ छ । अहिले कान्तिबाट दिनमा मुस्किलले दुईदेखि तीन जना मात्रै बिरामी आईसीयू बेड नपाएर फिर्ता हुन्छन् । जनशक्ति नथपी यो वार्डलाई दीर्घकालीन बनाउन चुनौती रहेको उनले बताए । ‘पेडियाट्रिक इन्टरमेडिएट आईसीयूमा २० बेड भए बिरामीले आईसीयूका लागि बाहिर जानुपर्ने समस्याको समाधान हुन्छ,’ उनले भने, ‘आउने आर्थिक वर्षसम्म अस्पतालबाट आईसीयूको शतप्रतिशत समस्या समाधान हुन्छ ।’


आफ्नै ब्लड बैंक

दैनिक १२ वटा शल्यक्रिया हुने अस्पतालको आफ्नै ब्लड बैंक नहुँदा बिरामीका आफन्त राति पनि रगत खोज्न बाहिर दौडिनुपर्थ्यो । रगत आवश्यक परिरहने क्यान्सरका बिरामीलाई सास्ती थियो । अब अस्पतालको आफ्नै ब्लड बैंक छ । स्वास्थ्य मन्त्रालयले ब्लड बैंक स्थापनाका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराएपछि यो सम्भव भएको डा. बिच्छाले बताए । रेडक्रसको सहयोगमा अस्पतालका पाँच कर्मचारीलाई एक महिने तालिम दिएर ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । रक्तदान कार्यक्रम गरी अस्पतालले रगत संकलन गरिरहेको छ । ब्लड बैंक चौबिसै घण्टा चल्ने भएकाले जुनसुकै बेला बिरामीले रगत लिन सक्छन् । ‘टिचिङ र रेडक्रस सोसाइटी पनि हामीकहाँ रगत लिन आउँछन्,’ उनले भने ।


आफैं अक्सिजन उत्पादन गर्दै

सन् १९९४ मा जापान सरकारले अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण सहयोग गरेको थियो । उक्त उपकरण बिग्रिएपछि सन् २००६ पछाडि अस्पतालबाट अक्सिजन उत्पादन हुन छाड्यो । त्यसपछि अस्पतालले अक्सिजन सिलिन्डर खरिद गरेरै सेवा दिन बाध्य भयो । ‘वार्षिक ७० लाख रकम त अक्सिजन खरिदमै खर्च हुन्छ,’ डा. बिच्छाले भने, ‘अब यो समस्याको समाधान निस्किएको छ, हामी आफैं अक्सिजन उत्पादन गर्दै छौं ।’ दिनको ७० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट बनाउन काठमाडौं महानगरपालिकासँग सम्झौता भइसकेको उनले बताए । यसका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।


कुरुवा घर बन्दै

देशभरिका अस्पतालबाट बिरामी बालकालिका रिफर भएर आउने केन्द्र हो, कान्ति बाल अस्पताल । टाढाबाट आएका बिरामीका कुरुवा उपचार नसकिएसम्म अस्पतालको चिसो भुइँमा सुत्छन् । ‘पैसा हुनेहरू महँगो अस्पताल जालान् । यहाँ त गरिबका छोराछोरी बढी आउँछन्,’ डा. बिच्छाले भने, ‘होटलमा बस्न खर्च नहुनेहरू अस्पतालमै सुत्छन् ।’


अब नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक सहयोगमा अस्पतालले कुरुवाघर निर्माण गर्दै छ । ‘जग्गा हामीसँग पर्याप्त छ । कुरुवाघर निर्माणको डीपीआर बनिसक्यो,’ उनले भने । यही आर्थिक वर्षभित्र ५० परिवार बस्न मिल्ने कुरुवाघर निर्माण हुने उनले जानकारी दिए ।

प्रकाशित : पुस १९, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?