कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फोहोर व्यवस्थापन : मन्त्रालयको निर्देशन नगरले टेरेनन् 

प्रशान्त माली

(ललितपुर) — चापागाउँका दिलबहादुर श्रेष्ठको घरबाट दैनिक दुई किलो फोहोर उत्पादन हुन्छ । घरको फोहोर व्यवस्थापनमा उनलाई हम्मेहम्मे छ । गोदावरी नगरपालिकामा पटक–पटक गुनासो राखिसके । सार्वजनिक सुनुवाइमा समस्या उठाए । तर, कतैबाट पहल भएन । ‘व्यवस्थित रूपमा बस्ती विकास भएको ठाउँमा त यस्तो समस्या छ,’ उनले भने, ‘अन्य ठाउँको अवस्था कस्तो होला ?’ 

फोहोर व्यवस्थापन : मन्त्रालयको निर्देशन नगरले टेरेनन् 

बडिखेलका गौरव पहरीको घरमा दैनिक तीन किलो फोहोर जम्मा हुन्छ । कुहिने फोहोरलाई घरमै व्यवस्थापन गरे पनि चाउचाउको खोल, सिसी, कपडाको व्यवस्थापनमा उनलाई निकै समस्या छ । ‘फोहोर न्यूनीकरणमा डस्टबिनको प्रभावकारी भूमिका हुन्छ । तर, बडिखेलमा सार्वजनिक स्थानमा पर्याप्त डस्टबिन छैन,’ उनले भने ।


यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । उत्पादित फोहोर व्यवस्थापन गर्ने स्थान नहुँदा गोदावरीवासीलाई तनाव छ । नजिकैको वन, खोल्साखोल्सी, सार्वजनिक स्थानमा फोहोर फाल्नु बाध्यता बनेको एक स्थानीयले बताए । झरुवारासीका विनोद खड्काले भने एक हजार लिटरको ड्रममा हावा छिर्ने गरी प्वाल पारेर फोहोर व्यवस्थापन गर्दै आइरहेको बताए । ‘तर, नकुहिने फोहोर व्यवस्थापनमा समस्या छ,’ उनी भन्छन् । स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन गर्न ०७३ मा गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालाई निर्देशनात्मक पत्र पठाएको थियो ।


मन्त्रालयले त्यतिबेला नगरपालिकालाई कुहिने फोहोर जाडोमा साताको दुई दिन र गर्मीमा तीन दिन तथा र नकुहिनेलाई अवस्था हेरी सातदेखि १५ दिनमा टोलटोलबाट उठाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । फोहोर संकलन गर्ने समय, स्थान र विसर्जन गर्ने स्थानको कार्यसूची तयार पारी सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देश गरेको थियो । उक्त निर्देशन नगका कर्मचारीले मात्र नभई जनप्रतिनिधिले पनि कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले सरकारको मात्रै भर पर्ने प्रवृतिले समस्या समाधन गर्न नसकिने बताए । ‘नागरिक आफै पनि सचेत हुनुपर्छ,’ उनले भने । फोहोर व्यवस्थापन गर्न कौसी खेतीको प्रवर्द्धन गर्ने तयारी थालिएको उनको भनाइ छ ।


अहिले गोदावरी, गोदामचौर, विंशखुनारायण, हरिसिद्धि, ठैव, गोदामचौर, बडिखेललगायतका सडक वरिपरि फोहोर थुप्रिन थालेको छ । यसले दुर्गन्ध फैलिनुको साथै सहर कुरूप देखिएको छ । टोली गठन गरी सरसफाइ अनुगमनका साथै जनचेतना प्रवर्द्धन गर्ने गोदावरी र ललितपुर महानगरपालिकाको योजना पनि अलपत्र परेको छ । ‘नगरपालिकालाई भनेर छुट्टै ल्यान्डफिल साइट पहिचान गर्न कठिनाइ छ,’ प्रवक्ता सिलवालले भने, ‘नगरमा तीन प्रकारको रातो, निलो र हरियो डस्टबिन वितरण गर्ने तयारी भइरहेको छ ।’


जिल्लामा ल्यान्डफिल साइट बनाउन स्थानीयलाई सहमतिमा ल्याउन सके दक्षिण ललितपुरमा फोहोर व्यवस्थापन गर्न सकिने नगरप्राविधिक बताउँछन् । सहरका रूपमा विकास भइरहेको सुनाकोठी, चापागाउँ, ठेचो, धापाखेलस्थित वन प्लास्टिकजन्य फोहोरमैलाले भरिन थालेपछि यसको सौन्दर्य ह्रास हुन थालेको छ ।

प्रकाशित : पुस १७, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?