कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयार भयो दरबार हाई स्कुल

गणेश राई

काठमाडौँ — भूकम्पले ध्वस्त भएको दरबार हाई स्कुलको नयाँ भवन बनेको छ । चीनको सांघाई कन्स्ट्रक्सनले ५२ कोठाको चारतले भव्य भवन बनाइदिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का उपनिर्देशक दिलीपशेखर श्रेष्ठले अबको दुई महिनाभित्र नवनिर्मित भवन हस्तान्तरण हुने कार्यतालिका रहेको बताए ।

तयार भयो दरबार हाई स्कुल

‘चीनबाट विज्ञ टोली आएर परीक्षण गरेलगत्तै चीनले सरकारलाई भवन हस्तान्तरण गर्नेछ,’ उनले भने ।


चीनकै कन्सल्ट्यान्ट र ठेकेदारले ८५ करोड रुपैयाँ लागतमा भवन बनाएका हुन् । नयाँ भवनमा ४० जनाका दरले विद्यार्थी अट्ने ४६ वटा कोठा छन् । हरेक विद्यार्थीलाई अलग–अलग कुर्सी र टेबलको व्यवस्था गरिएको छ । पुस्तकालय, सभा हल, स्टाफ हल, लेखा तथा प्रशासन कक्ष, क्यान्टिन, खानेपानी र शौचालय छन् ।


नयाँ भवनमा ०७७ वैशाखबाट पठनपाठन हुनेछ । साबिकको व्यवस्थाअनुसार नयाँ भवनमा भानु माध्यमिक विद्यालय र संस्कृत मावि सञ्चालन हुनेछन् । तर, तिनको सञ्चालन कसरी गर्ने भन्ने अन्योल छ । यसअघि गठित विद्यालय व्यवस्थापन समितिको म्याद सकिइसकेको र नयाँ समिति गठन भई नसकेकाले सञ्चालनमा अन्योल भएको हो । ‘व्यवस्थापन समितिको म्याद सकिएको धेरै भयो, नयाँ गठन हुन सकेको छैन,’ प्रधानाध्यापक हेमचन्द्र महतोले भने, ‘महानगरको शिक्षा विभागले चाँडै गर्ने भनेको छ ।’ नियमानुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक व्यवस्थापन समितिमा रहनुपर्ने हुन्छ ।


भानु माविमा अधिकांश विद्यार्थी काठमाडौंबाहिरबाट आएर व्यापार, व्यवसाय र मजदुरी गर्ने अभिभावकका छोराछोरी छन् । यहाँ शिशु कक्षादेखि १० कक्षासम्म पढाइन्छ । प्रधानाध्यापक महतोका अनुसार शैक्षिक सत्र ०७६ मा १ सय ५० विद्यार्थी भर्ना भएकामध्ये १ सय ३० जना मात्र नियमित छन् । मावि तहका ८, निमाविका ४, प्राविका ६ र निजी स्रोतका ३ गरी २० शिक्षक र ४ जना कर्मचारी छन् ।


संस्कृततर्फ कक्षा ६ देखि ११ सम्म पढाइ सुचारु छ । संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीका अनुसार चालु शैक्षिक सत्रमा १० कक्षासम्म १ सय ३५ विद्यार्थी छन् । तीमध्ये धेरै उपत्यकाबाहिरका छन् । मावि तहका १२, निमाविका ३ र निजी स्रोतका ३ जना तथा ६ जना कर्मचारी कार्यरत छन् । ‘संस्कृति माविको व्यवस्थापन समिति नयाँ गठन प्रक्रियामा छौं,’ प्रधानाध्यापक अधिकारीले भने, ‘अभिभावकको नामावली प्रकाशन गर्दै छौं । अझै तीन साता जति लाग्न सक्छ ।’


महानगरपालिकाको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलले दरबार हाई स्कुल सरकारको स्वामित्वमा आएलगत्तै नियमित प्रक्रियाअनुसार पठनपाठन सुरु हुने बताए । ‘दुवै विद्यालयको व्यवस्थापन समिति चाँडै गठन गरिनेछ,’ उनले भने, ‘नियमित रूपमै सञ्चालनमा रहेकाले खासै समस्या आउँदैन । जति विद्यार्थी भर्ना भए पनि शिक्षक पर्याप्त छन् । शैक्षिक गुणस्तरचाहिँ सुधार गर्नुपर्छ ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरबार हाई स्कुलको नयाँ भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालन गरिने जनाएको छ । यसअघि संस्कृत माविले जग्गाको स्वामित्व भानु माविको नाममा मात्र भएको भन्दै बराबरी हिस्सा माग गरेको थियो । त्यसपछि मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । ‘ऐतिहासिक विद्यालय भएकाले एकै छानोमुनि दुई विद्यालय सुचारु रहन्छन्,’ उनले भने, ‘सम्पत्ति स्वामित्व दरबार हाई स्कुलको नाममा छ । दुवैको अस्तित्व रहने गरी आधा संरचना भानु मावि र आधामा संस्कृत मावि सञ्चालन हुनेछन् ।’


महानगरपालिका वडा नं २७ वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भने नयाँ भवनमा कसरी पठनपाठन सञ्चालन गर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताए । सुविधासम्पन्न नयाँ भवन बनेकाले वरिपरिका अन्य सरकारी विद्यालयसमेत गाभ्न सकिने उनको तर्क छ । १९४८ सालमा बनाइएको दुईतले भवन भूकम्पले भत्किएपछि दुवै विद्यालयका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ ।


प्रकाशित : पुस १७, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?