कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सीसी क्यामेराको फुटेज हेर्दै कारबाही

काठमाडौं, भक्तपुर र ललितपुरको सडकमा जडान गरिएको सीसीटीभी फुटेजका आधारमा १३ हजार चालकलाई कारबाही 
मकर श्रेष्ठ

काठमाडौँ — मैतीदेवीका अमित देउजा मंगलबार पौने तीन बजे हस्याङफस्याङ गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखामा पुगे । महिला साथीसहित पुगेका उनको हातमा प्रदेश ३–०२–०१२ प ५९१२ मोटरसाइकलको ब्लु-बुक थियो ।

सीसी क्यामेराको फुटेज हेर्दै कारबाही

शाखाको ढोकाबाट चियाउँदै उनले भने, ‘मैले ट्राफिक नियम उल्लंघन गरेकोले मोटरसाइकलको कागजपत्र लिएर आउनू भनेर बिहान फोन आएको थियो । मैले त त्यस्तो केही गरेको छैन ।’ त्यतिबेला खोजतलास शाखामा ट्याक्सीमा सामान छुटेर खोजी गरिदिन दिएको उजुरीको छानबिन गर्न ट्राफिक प्रहरीले बोलाएका चालक र उजुरी गर्ने बीच चर्काचर्की चलिरहेको थियो । ट्राफिक प्रहरी नायब निरीक्षक शंकर पाण्डे विवाद छाडेर देउजाको गुनासो सुन्नतिर लागे । देउजाको ब्लुबुक उनले लिए । त्यसमा उल्लेख भएको मोटरसाइकल नम्बर कम्प्युटरमा खोज्नतिर लागे । उनले लेन मिचेको विवरण थियो । पाण्डेले अर्को फोल्डरबाट उनले उल्लंघन गरेको फुटेज देखाए ।

देउजा मंसिर २६ को बिहान हतारमा थिए । उनको पर्खाइमा बसेका साथीलाई भेट्न मोटरसाइकलमा माइतीघर हुँदै रत्नपार्कतिर हुइँएिका थिए । बबरमहलबाट माइतीघर सडक खण्डमा अरु दिनजस्तै त्यो दिन पनि जाम थियो । उनी जाम छल्न सेन्ट जेभियर्स कलेज अगाडि माइतीघरको डिभाइडर र अर्को लेन मिचेर आफ्नो लेनमा छिरेका रहेछन् ।

त्यतिबेला त्यहाँ न ट्राफिक प्रहरी थिए न त अर्को ठाउँ पुग्दा पनि ट्राफिक प्रहरीले सचेत गराएका थिए । तर, नियम मिचेको १४ दिनपछि उनलाई ट्राफिक प्रहरीले फोन गरी बोलाएका थिए । ‘विदेशमा मात्रै यस्तो हुन्छ भन्ने सुनेको थिएँ । ट्राफिक नियम मिच्दा सीसीटीभी हेरेर कारबाही होला भन्ने सोचेको पनि थिइनँ,’ उनले भने । मोटरसाइकलको भिडियो देखेपछि उनीसँगै आएकी महिला साथीले भने देउजालाई जिस्क्याइरहिन् । देउजा भने मुसुमुसु हाँसी मात्र रहे । ट्याक्सीमा सामान हराएर उजुरी गर्ने र चालकको विवाद पनि सुनसान नै भयो । सबैको ध्यान ट्राफिक प्रहरीले प्रविधिमार्फत कसरी कारबाहीको दायरामा ल्याइरहेको छ ? भन्दै चासो दिएर हेरे ।

देउजाभन्दा अघि नै महाराजगन्जमा लेन मिचेर अरूभन्दा अघि पुगेका नारायण श्रेष्ठलाई भिडियो देखाएर जरिवानाको चिट थमाइसकेको थियो । ‘फोन गरेर तपार्इं आउनुपर्‍यो भन्यो । आत्तिएर पुगे । बैंक गएर फर्कंदा लेन मिचेको भिडियो देखाए,’ नारायणथान बस्ने उनले भने, ‘आफूले गरेको गल्तीको भिडियो नै देखाएपछि होइन भन्नै सकिनँ । चिट थमायो लिएर फर्कें ।’ एक घण्टाको कक्षा र पाँच सय जरिवाना भने फुर्सदमा गएर तिर्ने उनले बताए । ट्राफिक प्रहरीले आफूले गरेको गल्तीको भिडियो देखाउँदा सपनाजस्तै लागेको उनले बताए ।

ट्राफिक प्रहरीले सडकको लेन मिच्ने मात्रै होइन, सार्वजनिक बसमा झुन्ड्याउने चालकलाई पनि सीसीटीभीको फुटेजमार्फत कारबाहीको दायरामा ल्याउन थालेको छ । जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदा हेल्फर झुन्ड्याएको दृश्यका आधारमा बा २ ख ८४९१ बसको विवरण संकलन गरिरहेको छ । ‘सीसी क्यामेरामा कैद भएको भिडियोका आधारमा ट्याक्सीमा छुटेको सामानको खोजी हुने गरेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले भने, ‘ट्याक्सी चढेर कुन बेला कहाँ गएको हो ? भन्ने सीसी क्यामेराबाट थाहा पाइहाल्छ । सामान हराउँदा उजुरी गर्न ट्याक्सी वा अन्य सवारीको नम्बर नै हुनुपर्छ भन्ने छैन ।’

महानगरीय प्रहरी (मेट्रो) रानीपोखरीमा काठमाडौं, भक्तपुर र ललितपुरको सडक र गल्लीको सीसी क्यामेराको रेकर्ड हुन्छ । ट्राफिक नियम उल्लंघन गरेको भिडियो फुटेजका आधारमा धमाधम चालकलाई कारबाही गरिरहेको ढकालले बताए । १६ हजार ३ सय ६३ चालकले नियम उल्लंघन गरेको फुटेज भए पनि १३ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरिसकेको उनले जनाए । साउनदेखि मंसिरसम्म ५ हजार ५० चालकलाई भिडियो फुटेज हरेर कारबाही गरिएको उनले सुनाए ।

ट्राफिकले महानगरीय प्रहरीबाट आउने फुटेज र सीसी क्यामेरा हेरेर तत्काल सडकमै पनि कारबाही गर्ने गरेको छ । फुटेज हेरेर धेरैपछि भन्दा पनि फिल्डमै कारबाहीमा पर्ने चालकको संख्या बढी छन् । ट्राफिक प्रहरीले फुटेज हेरेर साउनमा १ सय ४३, भदौमा १ सय ३३, असोजमा ६३, कात्तिकमा १ सय ८ र मंसिरमा १ सय ३३ जना चालकलाई जरिजना तिराएको छ ।

जनशक्ति अभावले सबै सडकमा ट्राफिक प्रहरी व्यवस्थापन गर्न नसक्ने भएपछि प्रविधिको प्रयोग उपयोगी भएको ढकालले बताए । ट्राफिक प्रहरी नभएपछि एक तर्फी सडकमा लैजाने, लेन मिच्ने, छत र ढोकामा यात्रु चढाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढाउने गर्छन् । ‘ट्राफिक छैन नियम उल्लंघन गर्दा नि केही हुँदैन भन्नेलाई प्रविधिको सहायताले कारबाही गरिरहेका छौं,’ उनले भने ।

डिल्लीबजार पीपलबोटबाट कारागारतर्फ जाने चोकबाट सिधै भित्र जाने सानो एकतर्फी सडकमा कारबाहीमा पर्ने चालकहरू यसका उदाहरण हुन् । यो चोकमा ट्राफिक प्रहरी नभएको मौका छापेर अर्जुन ओझा मंसिर २६ गते बिहान ११ बजेर २७ मिनेटमा एकतर्फी सडक हुँदै ज्ञानेश्वर गएका थिए । ट्राफिक प्रहरीले भिडियो फुटेज हेरेर जरिवाना तिराएको छ ।

कसरी गरिन्छ कारबाही ?

उपत्यकाको सडकको भिडियो रेकर्ड महानगरीय प्रहरी रानीपोखरीमा हुन्छ । ट्राफिक नियम उल्लंघन गर्ने गाडी नम्बरसहितको विवरण र भिडियो फुटेज ट्राफिक प्रहरी महाशाखालाई उपलब्ध गराएपछि छानविन अघि बढाइन्छ ।

नियम उल्लंघन गरी कारबाही गर्नुपर्ने सवारीसाधनको विवरण यातायात व्यवस्था कार्यालयबाट मागिन्छ ।

त्यसकै आधारमा सवारीधनीलाई ट्राफिक प्रहरीको खोजतलास शाखाबाट फोन गरेर बोलाइन्छ । चालकलाई नियम उल्लंघन गरेको सीसीटीभी फुटेज देखाई गल्तीअनुसार पुर्जी (चिट) थमाउने गरिन्छ । चिटमा तोकिएको जरिवाना तिरेर ट्राफिक प्रहरीले राखेको लाइसेन्स वा अन्य कागजपत्र लिनुपर्ने हुन्छ ।

प्रकाशित : पुस १५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?