कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिचौलिया समातिन्छन्, भोलिपल्ट उस्तै

प्रशान्त माली

(ललितपुर) — महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट गएको सादा पोसाकको सुरक्षाकर्मी टोली यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्यो । बिचौलियाको चलखेल बुझ्न परिचय लुकाएर गएको टोलीले कार्यालयअघि भेटिएका बिचौलियासित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गर्‍यो ।

बिचौलिया समातिन्छन्, भोलिपल्ट उस्तै

बिचौलियाले पनि ग्राहक ठानेर ‘नक्कली होइन, सक्कली नै बनाइदिने’ भन्दै २५ हजार लाग्ने बताए । प्रहरीले आफ्नो परिचय खुलाए र भोजपुरका २९ वर्षीय सञ्जीव राईलाई नियन्त्रणमा लिए । सात दिनअघि समातिएका उनले प्रहरीसँगको बयानमा सवारी प्रशिक्षण दिने, अनुमतिपत्र मिलाइदिने र सवारी दर्ता किताबको नवीकरण गर्ने गरेको बताएका छन् ।


बिचौलिया पक्राउ परेपछि केही दिन कार्यालयको स्थिति सामान्य बन्यो । तर, अहिले भने अवस्था पहिलेकै दोहोरिन थालेको छ । बिचौलियाको चलखेल अत्यधिक भएपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वाग्मती एकान्तकुनाका निमित्त प्रमुख चेतप्रसाद उप्रेतीले कार्यालयमा बिचौलिया हाबी भएपछि पक्राउ गरी कारबाही गर्न आफैले प्रहरीलाई सूचना दिनुपरेको बताए । ‘अधिकांश दलाल लागुपदार्थ सेवन गर्ने छन् । प्रहरीको सहयोग नभई हामीले मात्र केही गर्न सक्दैनौं,’ उनले भने, ‘साता दिन बिराएर प्रहरीलाई खबर गर्ने गरेका छौं ।’ कार्यालयमा चलखेल कम गर्न कोठाकोठामा सीसीटीभी क्यामेरा जडान गरिए पनि हाल ती सञ्चालनमा छैनन् ।


यातायात कार्यालय सवारी अनुमतिपत्र फाँटबारे जानकार एक सरकारी कर्मचारीका अनुसार सवारी अनुमतिपत्र बनाउने क्रममा बिचौलिया र केही कर्मचारीबीच मिलेमतो हुने गरेको छ । यस्तो कार्यमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकसमेत संलग्न छन् । सोझासिधा सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाले एउटा लाइसेन्स निकालेबापत २५ देखि ३० हजारसम्म लिने गरेका छन् । ‘लिखित पास भएर पनि ट्रायलमा फेल भएका व्यक्ति दलालको सम्पर्कमा जाने गरेका छन् । सवारी अनुमतिपत्रमा आर्थिक घोटाला र चलखेलको गुनासो आउने गरेको छ,’ एक अधिकृतले भने ।


बिचौलियाले १० रुपैयाँमा सजिलै पाउने एउटा दर्ता फारामको ३०, लिखित परिक्षाको नतिजा जानकारी गराइदिने भन्दै ५०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।


कार्यालयमा केही साताअघि ललितपुर महानगरपालिकाबाट खटिएको प्रहरी टोलीले पनि बिचौलियाको फोटोकपी मेसिन, दर्ता फारामलगायतका सामान बरामद गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले दलालको चलखेल हटाउन प्रहरीलाई नियमित परिचालन गर्न निर्देशन दिइसकेको बताए । ‘सादा पोसाकमा पनि प्रहरी परिचालन हुनेछ,’ उनले भने, ‘दोहोर्‍याएर पक्राउ पर्नेलाई कडा कारबाही गर्न भनेका छौं ।’

प्रकाशित : पुस १२, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?