२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

व्रतबन्धमा प्रतिबन्ध !

काठमाडौँ — पशुपति क्षेत्रका केही भण्डारीका सन्तानहरू व्रतबन्धबाट वञ्चित छन् । पशुपतिको चारकिल्लाबाहिर जन्मेका र विवाहपछि पशुपति मन्दिर नघुमेकालगायत कारण देखाउँदै व्रतबन्ध रोकिएको हो । पशुपति क्षेत्र विकास कोषले अनुमति नदिएकाले तिथि तोकिएर पनि केही भण्डारीका सन्तानको व्रतबन्ध हुन नसकेको हो । 

व्रतबन्धमा प्रतिबन्ध !

पशुपतिका भण्डारी केदारमान भण्डारी गर्भवती पत्नी ज्ञानुलाई ओम अस्पताल दौडाउनुपरेको सम्झिरहन्छन् । ८ महिनाको गर्भवती उनलाई अचानक समस्या देखिएकाले पशुपति क्षेत्रभित्रै पर्ने भएकाले ओम अस्पताल लगेका थिए । अस्पतालले तुरुन्तै शल्यक्रिया गर्नुपर्छ भनिदियो । ‘अप्रेसन गर्नुपर्छ, एक लाख रुपैयाँ जम्मा गर्नुस् भन्न थाल्यो अस्पतालले । कहाँ अप्रेसन गर्नु ?’ केदारले भने, ‘त्यहाँबाट ट्याक्सी लिएर प्रसूतिगृह गयौं । त्यहाँ लैजान निषेध थियो, जेसुकै होस् भनेर लग्यौं ।’ प्रसूतिगृह लगेपछि अप्रेसन गर्नुपरेन । सामान्य जाँच गरेर पठाइदियो । एक महिनापछिको डेट दियो । दिएको डेटमा प्रसूतिगृह गएँ । नर्मल डेलिभरी भयो । ‘खर्चै भएन, उल्टै एक हजार रुपैयाँ भत्ता पो पाइयो,’ भण्डारीले भने, ‘झन्डै लाख रुपैयाँ खर्च भइसेको थियो ।’


पशुपतिनाथ मन्दिरको भण्डारी हुन पशुपति क्षेत्रको चारकिल्लाभित्रै जन्मेको हुनुपर्ने व्यवस्था छ । चारकिल्लाभित्र प्रसूति सेवा ओम अस्पतालमा मात्रै छ । ओम अस्पताल सामान्य आर्थिक अवस्था हुनेको पहुँचमा छैन । पहुँचमा नभएकाले उपचार गर्न प्रसूतिगृह लगायत सुलभ प्रसूति सेवा दिने अस्पतालमा जानबाट वञ्जित हुनुपर्ने अवस्था छ । ‘धन्न छोरी जन्मिइन्,’ भण्डारी भन्छन्, ‘छोरा जन्मेको भए भण्डारी हुनबाट वञ्चित हुनुपर्ने अवस्था आउने थियो ।’


कोषले अनुमति नदिएकाले व्रतबन्धको तिथि तोकिएर पनि रोकिएर समस्या व्यहोर्नेमध्येका विजय राजभण्डारी पनि हुन् । उनले छोरा सिर्जनको व्रतबन्ध गर्न गत वैशाख २४ मा साइत जुराएका थिए । निम्ता गर्न कार्डसमेत छपाइसकेका थिए । व्रतबन्ध गर्नुभन्दा ३५ दिन अगाडि कोषलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार जानकारी पनि दिएका थिए । तर, कोषले अनुमति दिएन । ‘व्रतबन्ध रद्द गर्नुपर्‍यो,’ भण्डारीले भने, ‘कोषले कहिल्यै नभएको विवाद निकालेर व्रतबन्ध रोकिदियो ।’


कोषले भण्डारीको व्रतबन्ध रोकिनुको कारणचाहिँ बुबाआमाको बिहेमा सामान्य प्रक्रिया नमिलेको देखाएको छ । नाबालक भण्डारी हुन बुबाआमाको विवाहदेखि नै प्रक्रिया पुर्‍याउनुपर्छ । पहिलो प्रक्रिया आफ्नो स्वजातिमा विवाह गर्नुपर्छ । विवाहमा पशुपतिमा बजाउने पञ्चैबाजा बजाउनुपर्छ । पञ्चैबाजा नभए अन्य बाजा बजाउँदा पनि हुन्छ । यसरी ल्याइएका दुलहीलाई पशुपतिनाथ दर्शन गराउनुपर्छ । मन्दिर प्रांगण परिक्रममा गराएपछि नेवारी पुरोहितले नेवारी विधिअनुसारै घर भित्र्याउनुपर्छ । त्यसरी भित्र्याएका दुलहादुलहीलाई घरको थकाली महिलाले सगुन दिन्छन् । सफलताको कामना गर्छन् । घर परिवारसँग नाता जोडियो भन्दै सुपारी दिने चलन छ ।


विजय दम्पतीले अरू सबै प्रक्रिया सुरु गरे । तर मन्दिर परिक्रमा गरेन । ०७५ मा गोरखा धुवाकोटबाट बेहुली ल्याउँदा रात पर्‍यो । त्यही भएर मन्दिर घुम्न पाएनन् दुलाहादुलही ।


‘बाटोमा दुर्घटना भएछ । त्यही कारण जन्ती तीन घण्टा एकै ठाउँमा रोकियो,’ सिर्जनकी आमा इन्द्रमायाले भनिन्, ‘घर आइपुग्दा मध्यराति भएको थियो । त्यही भएर मन्दिर परिक्रमा गरिएन । अहिले यही कारण देखाएर व्रतबन्ध रोकिएको छ ।’


पशुपतिका भण्डारीले आसापास सुविधा सम्पन्न प्रसूति सेवा उपलब्ध गराउन माग गरेको वर्षौं भएको छ । तर कोषले भण्डारीको गुनासो सुनुवाइ गरेकै छैन ।


‘पशुपति क्षेत्रभित्रै जन्मनुपर्ने परम्परा जोगाउनुपर्छ । तर त्यसका लागि यहाँ सुविधाजनक प्रसूति सेवा त हुनुपर्‍यो नि,’ भण्डारीले भने, ‘परम्परा धान्ने भन्दैमा ज्यानै खतरामा राख्नु त भएन नि । पहिला सुविधाजनक अस्पताल नहँुदा घरमै बच्चा जन्माउँथे । आमा र बच्चाको ज्यानसमेत गएका घटना थुप्रै छन् त्यतिबेला । अहिले पनि त्यही अवस्थामा बाँच भन्नु त भएन नि ।’


कोषले जुन परम्पराअनुसार भण्डारी चाहिने हो, त्यो परम्परा जोगाउनु कोषको दायित्व भएको जनाएको छ । ‘नियमावलीमै यही व्यवस्था छ,’ कोषका संस्कृति महाशाख प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘मूल भण्डारीले यो–यो बालक भण्डारी परम्पराविपरीत छ भनेपछि कोषले अनुमति नदिएको हो । सांस्कृतिक कुरा धेरै छन् ।’ उनले थोरै क्षमताको भए पनि प्रसूति केन्द्रको आवश्यकता रहेको बताए । ‘बरु चारै सिटको होस्, भण्डारीका लागि मात्रै यहाँ प्रसूति केन्द्र चाहिन्छ,’ ढुंगानाले भने, ‘अप्रेसन गर्नेसम्मको सुविधा भएको प्रसूति केन्द्र यहाँ चाहिन्छ भन्ने कोषको धारणा छ ।’


व्रतबन्ध रोकिएका सिर्जनजस्ता तीन किशोर छन् पशुपति क्षेत्रमा । माधव राजभण्डरीले छोराको व्रतबन्ध गर्ने योजना बनाएको ९ वर्ष भयो । ०६७ मै योजना बनाएका थिए छोरा साजनको व्रतबन्ध गर्न । ०६७ पुसमा व्रतबन्ध गरिपाऊँ भनेर निवेदनै दिए । त्यसको दुई वर्षपछि ०६९ पुस ९ मा फेरि अर्काे निवेदन दिए । त्यसयता चार पटक निवेदन दिइसकेका छन् । उनको निवेदनको पनि सुनुवाइ भएको छैन । उनलाई चाहिँ के कारण रोकिएको हो जानकारी पनि दिएका छैनन् । ‘हुन्छ भन्छन्, उनले सुनाए, ‘तर दिँदा पनि दिँदैनन् ।’ उनका छोरा ओम आशिष व्रतबन्धका लागि निवदेन दिँदा १२ वर्ष हुन ३ महिना बाँकीका थिए । ०६७ माघ २१ को साइत निकाले व्रतबन्ध गर्न लागेका थिए ।


११ देखि १३ वर्षको बीचमा व्रतबन्ध गर्नुपर्ने परम्परा छ भण्डारीको । यो समय गुज्रिएको छ साजनको । उनी १६ वर्ष भइसकेका छन् । ‘अब त बाहिर लगेर आफू खुसी गरिदिऊ कि जस्तो लाग्न थालेको छ,’ राजभण्डारी भन्छन्, ‘मुख्य भण्डारीलाई पनि भन्न धेरैपटक गइसके । तिम्रो हुँदै हुँदैन भन्छन् ।’


उपनयन संस्कार पशुपतिका भण्डारीमा मुख्य हो । यो संस्कार भएपछि मात्र भण्डारी संस्कारित मानिन्छन् । व्रतबन्ध गरेपछि पशुपति मन्दिरभित्र गएर काम गर्न सक्षम हुन्छन् । ‘गर्भ रहेको समयदेखि १२ वर्षभित्रमा व्रतबन्ध गर्ने चलन छ,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘कोषको कारण यो परम्परामा धक्का पुगेको छ ।’


बालक जन्मनासाथ आफ्नो कबलको मुख्य भण्डारीको उपस्थितिमा जन्म दर्ता गराउनुपर्छ । जन्मदर्ता गरेको मितिले उमेर भएपछि व्रतबन्ध गराउने बालकको बारेमा कवलका मुख्य भण्डारीलाई जानकारी गराउनुपर्छ । मसनभोक कबल, द:थु, कोफ्ले र मतिमडिल गरी भण्डारीका चार कबल छन् । ती प्रत्येक कबलका एक जना मुख्य भण्डारी हुन्छन् ।


मुख्य भण्डारीलाई जानकारी गराएपछि उनले मुख्य पुजारीलाई जानकारी गराउँछन् । भट्टले भण्डारका नाइकेलाई बोलाएर परम्पराअनुसार आवश्यक कदम चाल्न निर्देशन दिन्छन् । त्यसपछि नाइकेले विधि पूर्वक राजदरबार सचिवालयमा पत्र पठाउने चलन थियो । त्यही पठाएको पत्रको जवाफमा मुल भट्टले परम्पराअनुसार गर्नु भनेर सुपारी दिन्थे । राजा हटेपछि यो चलन हट्यो । अहिले कोषको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । ०६८ मा बनेको पशुपति मन्दिर तथा पूजा व्यवस्थापन नियमावलीले कोषको स्वीकृति लिएर व्रतबन्ध गर्नुपर्ने व्यवस्था गरेको छ । स्वीकृति पाएपछि शुभसाइतको चार दिनअघिबाटै व्रतबन्ध प्रक्रिया सुरु हुन्छ ।


पशुपति क्षेत्रमा बस्ने नेवारका ९ जातमध्ये एक हो भण्डारी । पशुपतिनाथको मन्दिरको भण्डार यिनै भण्डारीको जिम्मामा हुन्छ । भण्डारको काम गर्ने भएकैले उनीहरूलाई भण्डारी भनिएको हो ।


भण्डारीको काम पशुपति मन्दिरको रखवारी गर्ने, पुजारीलाई सहयोग गर्ने, आवश्यक चन्दन घोटी तयार गर्ने, मीनपचासभर जंगलबाट दाउरा खोजेर ल्याउने, पशुपति मन्दिरको भित्री ढोका खोल्ने, बन्द गर्ने, चन्दन, प्रसाद तथा जल दिने, गरहनाको सुरक्षा गर्ने, गर्भगृहमा सफाइ गर्ने, मूल पुजारीले अह्राएको काम गर्नेलगायतका काम कर्तव्य हुन्छन् । मन्दिरमा ४ पुजारी र ३ भण्डारी हुन्छन् ।


भण्डारीका चार कबलबाट छानिन्छन् । केदारमानका अनुसार ४ कबलमध्ये मनिभोमा २१ जना, द:थुमा २६ जना, कोफ्लेमा १९ र मतिमडिल कवलमा ३६ जना गरी १ सय २ जना भण्डारी छन् ।

प्रत्येक महिना फेरिन्छन् । एक जना भण्डारीको पाल ९ वर्ष, १० वर्ष, ८ र १४ वर्षमा पालो आउँछ । कवलमा धेरै सदस्य हुनेको पालो आउन धेरै वर्ष लाग्छ ।

प्रकाशित : पुस ९, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?