कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उद्धार गरिएका उकुसमुकुस

काठमाडौं महानगरले सडकमै सुत्ने, दिनभरि माग्ने, बेसाहरालाई मात्रै होइन स्वतन्त्र रुपमा सडकमा हिँडेकालाई समेत उद्धार गरी एउटा कम्पाउन्डभित्र राखेको छ । उनीहरूमध्ये मदिरा र धूम्रपानका अम्मलीहरू छट्पाइरहेका छन् भने केही आफूलाई बिनाकारण राखिएकोमा दु:खी छन् । 
सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडकबाट उद्धार गरी बालाजुको स्क्रिनिङ सेन्टरमा राखिएकाहरू उकुसमुकुसमा छन् । महानगरले दिनभरि काम गरी साँझ मदिरा सेवन गरी सडकमै सुत्ने, दिनभरि माग्ने, बेसहारालगायतलाई उद्धार गरी सेन्टरमा राख्ने गरेको हो । त्यहाँ धूम्रपान र मध्यपानका केही अम्मलीहरू छट्पाइरहेका छन् भने केही आफूहरूलाई बिनाकारण सेन्टरमा राखेकोमा उकुसमुकुसमा छन् । 

उद्धार गरिएका उकुसमुकुस

बालाजु बाइसधाराको स्विमिङ पुलभित्रको घरमा पुग्ने जोकोहीलाई त्यहाँ रहेका महिला र पुरुषले इसारा गर्दै सोध्छन्, ‘चुरोट वा खैनी छ ?’ त्यहाँ सडकबाट उद्धार गरिएका महिला र पुरुष गरी एक सय २० जना छन् । रिपोर्टिङ गर्न आइतबार दिउँसो पुग्दा गेटमै एक ज्येष्ठ नागरिक आइपुगे । भित्रै पुगेपछि त कोही बच्चा च्यापेर आउपुगे । कोही लौरो टेक्दै नजिकै आए । उनीहरूको आश ‘चुरोट छ कि’ भन्ने थियो । उनीहरूले आश गरेजस्तो मसँग न चुरोटै थियो न त खैनी । उनीहरूमध्ये केहीको गुनासो थियो, ‘घर पठाएन, केहीले मदिरा सेवन गर्न नपाएको पनि थियो ।’ तीमध्येका सुस्मिता अधिकारी पनि हुन् ।


‘सडकमा सुतेको दिन थोरै खैनी थियो । त्यो पनि समाएकै दिन सकिहाल्यो,’ १५ महिने किशोरको आमा सुस्मिताले भनिन्, ‘ओछ्यानमा सुते पनि खैनी खान नपाएपछि बौलाजस्तै भएकी छु ।’ बिहान अरूको घरमा लुगा धुने र राति सडकमा छोरालाई काखी च्यापेर सुत्ने उनलाई बौद्धबाट उद्धार गरिएको हो ।


चिसोमा सुत्नेलाई बाक्लो डस्ना र सिरकमा सुताए पनि सन्तुष्ट छैनन् । काम गर्न नपाउँदा, मद्यपान र धूम्रपान गर्न नपाएपछि उनीहरू बिरक्तिएका हुन् । सयभन्दा बढीको समूह भए पनि एक अर्कोसँग खासै बोल्दैनन् । एक्लाएक्लै हुन्छन् । उद्धार टोलीले काम गरेर फर्कंदै गरेको मजदुरलाई समेत ल्याएको आक्रोश पनि उनीहरूले पोख्ने गरेका छन् । कालिमाटीको सडकमा सुतिरहेका विक्रम आलेलाई महानगरको टोलीले चार दिनअघि उद्धार गर्‍यो । उनलाई पनि स्क्रिनिङ सेन्टरमा राखिएको छ । आइतबार दिउँसो उनी घाम तापिरहेका थिए । जसरी घामको तापले उनको शरीर तातेको थियो तर, मन भने चिसै थियो । नहोस् पनि कसरी ? ‘काम गरेर फर्कदै गर्दा मलाई बाटैबाट उठायो । काम गरेर खाने मान्छेलाई यसरी जेलमा हाले जसरी राखेको छ । जान्छुभन्दा जान दिँदैनन् ।’ कहिले सेक्युरिटी गार्ड त कहिले डकर्मीको काम गरेर गुजारा चलाइरहेको उनी सुनाउँछन् । परिवार सबै भारतमै रहे पनि आफू ६ वर्षअघि काठमाडौं आएको उनले बताए । ‘सडकमा हिँडिरहेकालाई उठाइयो,’ उनले भने, ‘कोही नभएको मान्छे चिनेर मात्र उठाउइनुपर्छ ।’


कपिलवस्तु घर भएका थमनबहादर खत्रीलाई पनि सडकमा सुतेपछि नयाँ बसपार्कबाट उद्धार गरिएको छ । कपिलवस्तुबाट काठमाडौं आएकै दिन उनी सेन्टरमा पुगे । ‘भारतमा कुकको काम गरेको हुँदा नयाँ बसपार्कमा पनि काम खोज्न आएको थिएँ,’ उनले भने, ‘बिहान सात बजे ओर्लनासाथ कामको खोजीमा नयाँ बसपार्कमा बसिरहेको बेला मलाई गाडीमा राखेर यहाँ ल्याए ।’ आफन्त सम्पर्कविहीन भएपछि उनी चार दिनदेखि सेन्टरमा छन् । परिवारलाई यसबारे अझै पनि थाहा नदिएको उनी बताउँछन् ।


सर्लाही घर भएका सुवास कार्की पनि सातायता सेन्टरमा छन् । दक्षिणकालीस्थित रिसोर्टमा सेक्युरिटी गार्डको काम गर्ने बताउने उनी सेन्टरमा कसरी आइपुगेबारे थाहा छैन । ‘एक दिन रक्सी खाएर सडकमै सुतेको थिएँ,’ उनले भने, ‘त्यसपछि यहाँ ल्याइयो, अहिले बिरामी छु, सन्चो भएपछि जाने हो ।’


त्रिशूली स्थायी घर भएका उत्तम अधिकारीले दिनभरि काम गरेर सडक छेउमा थकाइ मेटाइरहेको बेला प्रहरीसहितको टोलीले सेन्टरमा ल्याएको बताए । ‘सडकमा बस्न पाउँदैन भनेर यहाँ ल्याइयो,’ उनले भने, ‘भारी बोकेर दैनिक दुई हजार कमाउने मान्छेलाई घाममा सेकाएर राखेको छ ।’ सडकबाट उद्धार गरेर सेन्टरमा जति बसेका छन् सबैले सडकमा हुँदा काम गर्दा कमाउने पैसा सम्झिरहेका छन् । काठमाडौं महानगरले स्थापना दिवसको अवसरमा मंसिर २९ बाट रातमा सडकपेटीमा सुत्नेलाई उद्धार गर्न थालेको हो । त्यसै अभियानअन्तर्गत उद्धार गरेकाहरू सडकमा सुतेका कारण आफूलाई उद्धार गरेर ल्याएको बताउँदैनन् । उनीहरू कोही सडकमा हिँडेका कारण, कोही फुटपाथमा केही बेर बसेका कारण आफूलाई सेन्टरमा ल्याएको दाबी गर्छन् ।


मानव सेवा आश्रमका प्रदेश ३ का इन्चार्ज सुमन बर्तौलाका अनुसार सेन्टरमा भएका धेरैजना पहिलाकै ठाउँमा जान खोजिरहेको बताए । ‘सेन्टरमा भएकाहरू विभिन्न बाहना देखाउँदै निस्कन खोज्छन्,’ उनले भने, ‘कतिपयले त हामी सडकमा बस्दैनौं, कोठा खोजेर बस्छौँ पनि भन्छन् ।’ परिवारिक पुनर्मिलन गरेर पठाइएकाहरू पुन: सडकमा आउने गरेको उनले बताए । सडकबाट उद्धार गरेर ल्याइएका धेरैमा रक्सीको लत लागेको पाइएको उनले जनाए । ‘त्यस्ता समस्याबाट छुटकारा दिलाउन औषधि दिइरहेका छौं,’ उनले भने ।

प्रकाशित : पुस ९, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?