२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

परालको मूर्ति, परालकै गेट

प्रशान्त माली

(ललितपुर) — पुटु ल: (गुन्यूचोली), हाकुपटासी, झकिझकाउ गरगहना । सिद्धिपुर तफाखेल टोलकी ६० वर्षीया कुमारी महर्जन दुलहीझैं सिँगारिएका छन् । सिद्धिपुर दुर्घाट टोलकी ५० वर्षीया न्हुछेँमाया महर्जन पनि उसैगरी देखा परिन् । सिद्धिपुरको नारायणी सामुदायिक संस्थाबाट खटिएका उनीहरू स्फूर्तिका साथ भेला भए । जसको एउटै कारण थियो– ज्यापू सम्मेलन । 

परालको मूर्ति, परालकै गेट

सम्मेलनका लागि उनीहरूजस्तै सिद्धिपुरको कला, संस्कृति प्रवर्द्धन गर्न ३२ वटा समूह खटिएको थियो । जसको नेतृत्व नारायणी सामुदायिक संस्थाका अध्यक्ष सिद्धिकुमारी महर्जनले गरेकी थिइन् । उनका अनुसार सम्मेलनका सहभागीलाई लसकुश (स्वागत) गर्न मात्रै पाँच सयजना खटिएका थिए । १४ वटा त बाजा खलक नै थिए ।


सम्मेलनमा लेले, चापागाउँ, ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, बाडेगाउँ, लुभू, खोकना, बुङमती, धापाखेल, पाटनका गरेर ५० भन्दा बढी बाजा खलक आ–आफ्नो बाजा लिएर आएका थिए । उनीहरूले सिद्धिपुर नगर परिक्रमा गरे । विभिन्न नेवार बस्तीबाट आएका बाजा खलकलाई सिद्धिपुरमा धिमे बाजा बजाएर स्वागत गरियो । इगु मुगु टोलमा भने बाँसुरी धुन गुन्जायमान थियो । ज्यापू महागुथि नेपा: जिल्लाका सचिव राममान महर्जनले सम्मेलनले संस्कृति प्रवर्द्धनको सन्देश दिन खोजेको बताए । ‘मुलुक विकास गर्न सबै एकजुट हुनुपर्ने सन्देश पनि हो,’ उनले भने, ‘जातीय विभेदविरुद्धको भेला पनि हो यो ।’


देवननी टोलस्थित ताहा सत (पाटी) मा ७३ वर्षीय चिरीमाया महर्जनसहितका वृद्धाहरू परालबाट विभिन्न मूर्ति, चकटी, टि प्याड तयार गरिरहेका थिए ।


परालबाट मल्लकालीन राजा योगनरेन्द्र, गणेश, तारा, बुद्ध, हात्तीको आकृति बनाइएको थियो । सुकुन्दा, थ्याका (रक्सी राख्ने भाँडो), मुरा, आँखीझ्याललगायत सामग्री बिक्रीमा राखिएको थियो । सिद्धिपुर सुकुलका लागि प्रख्यात मानिन्छ । ठाउँठाउँमा बनाइएको प्रवेशद्वारमा सुकुलकै गेट बनाइएको थियो ।


‘अहिले परालमा नकुहिने औषधि प्रयोग गरेर आधुनिक ढंगका सामान बनाउने थालेका छौं,’ ज्यापू महागुठी नेपा: सिद्धिपुर शाखाका सल्लाहकार कृष्णकुमार महर्जनले भने, ‘सिद्धिपुरमा परालबाट बनेका सामान जापान, चीन, अस्ट्रेलिया, फ्रान्सलगायतका देशमा निर्यात हुन्छ ।’


टोलटोलमा शिरमा शिरबन्दी, गलामा सिक्री, असर्फीको माला, हातमा बाला, कानमा मुन्द्री, औंठी र दुपट्टाको सारी लगाएका बालबालिका स्वागतमा जुटेका थिए । नेपा लिपि गुठीले उपस्थित व्यक्तिको नाम रञ्जना लिपिमै लेखेर नि:शुल्क वितरण गरेको थियो । लिपि गुठीयार राजा बज्राचार्यले रञ्जना लिपिको महत्व दर्शाउन खोजिएको बताए । सम्मेलन गत वर्ष खोकनमा सम्पन्न भएको थियो ।

प्रकाशित : पुस ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?