कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुठी जग्गा व्यापारिक प्रयोजनमा 

प्रशान्त माली

काठमाडौँ — चाबहिलका ६८ वर्षीय सत्यनारायण वैद्य गोरखनाथ चक्रपूजा (बालाचतुर्दशी) गुठीका गुठीयार हुन् । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित गुठीको जग्गामा ३० वर्षअघिसम्म खेती गरी अन्न भित्र्याएको उनीसँग अनुभव छ ।

गुठी जग्गा व्यापारिक प्रयोजनमा 

‘त्यहीँ उब्जेको अन्न मृगस्थलीको गोरखनाथ मन्दिरमा पूजा गर्न, जाँड पकाउन र भण्डारा खुवाउन महन्तलाई बुझाउने गर्थ्यौं । बीचमा मुद्दामामिला पर्‍यो,’ उनले भने, ‘अनि भोगचलन गर्न छोड्यौं । अहिले गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको सुनेर छाँगाबाट खसेजस्तो भएको छु ।’


बालाचतुर्दशीमा देशविदेशबाट पशुपतिनाथ र मृगस्थलीको गोरखनाथ मन्दिर दर्शन गर्न आउने साधुसन्त, कनफट्टा जोगी र योगीलाई भण्डारा खुवाउन गुठी स्थापना गरिएको थियो । पर्वपूजा र गुह्येश्वरीमा बलिसहितको रात्रीकालिन पूजा चलाउन चाबहिलमा जग्गाको व्यवस्थापन भएको वैद्य बताउँछन् ।

गुठीको ९ रोपनी १५ आना २ पैसा क्षेत्रफलको यो जग्गा गुठी संस्थान काठमाडौं शाखाले मरिण ठाकुर इन्टरनेसनल कम्पनीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । सञ्चालक ऋषिराम गर्तौलासँग संस्थानले मासिक ८ लाख ५ हजार रुपैयाँमा पाँच वर्षका लागि सम्झौता गरिसकेको छ । सम्बन्धित गुठीयारसँग छलफल नै नगरी जग्गा भाडामा दिएपछि स्थानीय चकित परेका छन् । ‘यो कार्य संस्थानको ऐन, मर्म र भावनाविपरीत छ । गुठीयारसँग संस्थानले रायसुझाव लिनैपर्छ,’ वैद्यले भने, ‘भाडामा दिने निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौं । जबरजस्ती गरेमा आन्दोलनमा उत्रिन्छौं ।’


संस्थानले ०७६ मंसिर १७ मा कम्पनीसँग सम्झौता गरेको थियो । गुठीमा सातजना गुठीयार छन् । वैद्यबाहेक अन्य गुठीयार जग्गा भाडामा लगाएको बारे अनभिज्ञ छन् । अर्का गुठीयार ५७ वर्षीय विनोद वैद्यका अनुसार उक्त जग्गा पहिले गुठीयारले प्रत्येक वर्ष पालैपालो भोगचलन गर्थे । जसको पालो पर्थ्यो, उसले गोरखनाथ मन्दिरमा दुइटा बोका र गुह्येश्वरीमा राँगा बलिसहित पूजाको व्यवस्थापन गर्नुपर्थ्यो । ‘गोरखनाथ मन्दिरका महन्तलाई ३० पाथी धान र जाँड पनि दिने गरिन्थ्यो,’ उनले भने, ‘वर्षभरि दिवंगत भएका आफन्तको आत्मा शान्तिको कामना गर्दै साधुसन्तलाई भण्डारा खुवाउने चलन थियो । यस्तो ऐतिहासिक महत्व बोकेको जग्गा गुठीयारकै सहमतिबिना भाडामा दिने निर्णय हामीलाई कसरी मान्य हुन सक्छ ?’


हिन्दु धर्मावलम्बीले प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीको राति दियो बाल्ने र भोलिपल्ट पशुपति क्षेत्रको श्लेषमान्तक वनमा सद्बीज छर्ने चलन छ । बालाचतुर्दशीको अवसरमा गोरखनाथ मन्दिरमा विशेष पूजा गरिन्छ । यसदिन पशुपति क्षेत्रका सत्तल, पाटी तथा विश्वरूप, राममन्दिर, कैलाश, वनकालीमा जाग्राम बस्ने योगी र ध्यानीको घुइँचो लाग्छ ।


तीर्थयात्रीलाई गोरखनाथ मन्दिरका महन्तद्वारा भण्डारा खुवाई जनही पाँच सयदेखि एक हजार दक्षिणा दिएर बिदा गर्ने चलन छ । यो सबै व्यवस्थापन बालाचतुर्दशी गुठीले नै गर्छ । तर, संस्थानले जग्गा भाडामा दिएको बारे गोरखनाथ मन्दिरका मूल महन्तलाई पनि जानकारी गराएको छैन । मन्दिरका ७० वर्षीय महन्त श्रीषनाथले सम्बन्धित गुठीयारसँग रायसुझाव नलिई भाडामा लगाउनु संस्थानको नैतिक पतन भएको बताउँछन् । आठ महिनाअघि पनि संस्थानले उक्त जग्गामा व्यापारिक भवन बनाउन लागेको उनले बताए । ‘त्यसबेला थाहा पाएर हामीले विरोध गरेपछि काम अघि बढ्न दिएनौं,’ उनले भने, ‘गुठीयारको यो जग्गामा जबरजस्ती संरचना बनाउन दिँदैनौं ।’


संस्थानका प्रमुख शैलेन्द्र पौडेल भने गुठी जग्गा भाडामा दिन गुठीयार वा महन्तसँग छलफल गरिरहन आवश्यक नहुने तर्क गर्छन् । ‘जग्गाबाट गुठीयार आफैले आम्दानी र खर्च गर्ने भए छलफल गर्नु आवश्यक थियो,’ उनले भने, ‘चाबहिलको जग्गाको सम्पूर्ण आम्दानी खर्च संस्थानले नै गर्दै आइरहेकाले गुठीयारलाई सोधिराख्नु पर्दैन ।’ उनले गोरखनाथ मन्दिरका लागि पनि संस्थानबाट छुट्टै खर्च पठाउने गरेको दाबी गरे । ‘सबै कुरा सोधेर पनि साध्य हुँदैन,’ उनले भने । उक्त जग्गा नरेन्द्रदेवको पालादेखि रहेको र धर्मसंस्कृति लोप हुने गरी संस्थानले आफूखुसी भाडामा लगाएको प्रति गुह्येश्वरीका पुजारीको पनि आपत्ति छ ।


उक्त क्षेत्रका सांसदले समेत संस्थानले भाडामा लगाउनुअघिदेखि नै जग्गा खुला राख्न माग गर्दै आइरहेका थिए । संस्थानको ऐनमा पनि सामुदायिक हितका लागि उपलब्ध गराउन सक्ने प्रावधान छ । गुठी संस्थान ऐन २०३३ को दफा ४२ (क) मा ‘सरकारले संस्थानको स्वामित्वमा रहेको जग्गा कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गर्न वा गराउन आवश्यक देखेमा व्यवहारिकता हेरी सहुलियत मूल्यमा लिन सक्ने’ उल्लेख छ ।


काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ‘क’ का सांसद नरोत्तम वैद्यले जसरी भए पनि जग्गा गुठीयार र सामुदायिक हितका लागि प्रयोगमा ल्याइने बताए । ‘ठेकेदार र संस्थानलाई संरचना बनाउन नदिन अल्टिमेटम दिइसकेको छु,’ उनले चेतावनीको शैलीमा भने, ‘जबरजस्ती गरेमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । उत्पन्न क्षतिको जिम्मेवारी संस्थानले लिनुपर्नेछ ।’ यही जग्गाको मोहियानी हकसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । संस्थान प्रमुख पौडेलले सरकारले चाहेमा मुआब्जा दिएर जग्गा लिन सकिने भए तापनि प्रक्रियागत ढंगबाट नआएको बताए । ‘मौखिक रूपमा मात्र खुला क्षेत्र बनाउँछु भनेर हुँदैन,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्‍यो वा जग्गाको सट्टाभर्ना दिनुपर्‍यो । सिधै हस्तक्षेप गर्न मिल्दैन ।’


संस्थानको जवाफ

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद गगन थापाले जग्गा भाडामा नलगाई खुल्ला क्षेत्र कायम गर्न माग गर्दै संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा ०७५ भदौ २२ मा निवेदन दर्ता गराएका थिए । तर, संस्थानले बेवास्ता गर्दै जग्गा भाडामा लगाउन ०७६ साउन २८ गते सूचना प्रकाशित गर्‍यो । त्यसपछि पनि थापाले ०७६ भदौ ३० र असोज १७ मा संस्थानको निर्णय तत्काल बदर गर्न माग गर्दै निवेदन दर्ता गरे ।


संस्थानले ०७६ मंसिर २९ गते मात्रै थापालाई जवाफ पठाएको छ । जात्रापर्व सञ्चालन गर्न गुठी जग्गा आयमूलक कार्यमा लगाउन सकिने कानुनी व्यवस्था रहेको जवाफमा उल्लेख छ । कानुनसम्मत सार्वजनिक सूचना निकाली भूबहालको मूल्यांकन गरी भाडामा लगाइएको संस्थाले प्रस्ट्याएको छ ।


प्रकाशित : पुस ५, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?