बेसहाराको व्यवस्थापन गर्दै महानगर

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडकमा माग्न बस्नेलाई व्यवस्थापन गर्ने घोषणा गरेको छ । २५ औं महानगर दिवस अवसरमा मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सडकमा भेटिने बेसहारा व्यक्तिलाई व्यवस्थापन गर्ने घोषणा गरेका हुन् । यसलाई एउटा अभियानकै रूपमा अघि सार्ने उनले बताए । 

‘तीन महिनाभित्रै यो अभियान पूरा गरिछाड्छौं,’ मेयर शाक्यले भने, ‘सडकमा माग्न बस्नुको बाध्यता अध्ययन गरी बेसहाराका लागि महानगर नै अभिभावक बन्छ ।’ उनले सडकमा कोही बेसहारा देखिए तत्कालै सम्पर्क गर्न आग्रहसमेत गरे । ‘यो अभियानमा सबैको सहयोग आवश्यक छ,’ उनले भने । सडकमा बेबारिसे व्यक्ति देखिए मानव सेवा आश्रमका सुमन बर्तौलालाई ९८५५०७६००४ र ९८५५०७६००१ मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ । यसबाहेक कामाडौं महानगरपालिकाको सहरी योजना आयोगका गुजेश्वरी श्रेष्ठ र महानगरकै सहरी सुव्यवस्था विभागका हरिबहादुर कुँवर, महानगर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेलाई सम्पर्क गर्न सकिने पनि महानगरले जनाएको छ । महानगरले साताअघि सूचना प्रकाशन गरी सडकमा माग्न नबस्न आग्रह गरेको थियो ।


यो अभियानका क्रममा महानगरले माग्न बस्नेलाई महानगरले बालाजुस्थित स्किनिङ सेन्टरमा लगेर माग्न सडकमा बस्नुको कारण पत्ता लगाउने, माग्नेको तथ्यांक संकलन गर्ने, आफन्त भएकालाई मेलमिलाप गराउन लागेको छ । ‘आफन्त कोही नहुनेलाई खान, बस्न, औषधि उपचारलगायत हेरचार हामी गर्छौं,’ मेयर शाक्यले भने । बेसहारालाई मानव सेवा आश्रमसँग सहकार्य गरेर व्यवस्थापन गर्न लागेको उनले बताए । माग्ने र बेसहारालाई व्यवस्थापन गर्न महानगरले घर निर्माण गर्न एक करोड रुपैयाँ दिने भएको छ । सडकमा भेटिएका बेसहारालाई आश्रमसम्म लैजान गाडी खरिद गरिदिएको छ ।


०५२ मंसिर २९ मा घोषणा भएको महानगरपालिका २५ वर्ष लागेको अवसरमा शनिबार र आइतबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । आइतबार वसन्तपुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।


त्यसैगरी, महानगरले मक्खन टोल र किलागल टोलमा रहेका दुई जीवित देवी कुमारी, इन्द्रजात्रामा निकालिने पुलुकिसी, दीप्याखं, लाखे, आकाश भैरव (सव:द्य:) र श्री करुणामय पाय्ता: बाजाका बाजा गुरुहरूलाई पनि सम्मान गरेको छ । अघिल्लो वर्ष झैं यसपटक पनि व्यक्तिगत र संस्थागत रूपमा नियमित कर तिर्ने उत्कृष्ट करदाता र १० जना पत्रकारलाई पनि सम्मान गरेको छ । महानगरीय सुशासन पत्रकारिता पुरस्कार पाउने हरेक सञ्चारकर्मीलाई ५० हजार रुपैयाँ राशि प्रदान गरिएको छ ।


सम्पत्ति करतर्फ छेतेन ग्युमार्न श्रेष्ठ (वार्षिक चार लाख ६४ हजार रुपैयाँ), बहाल करतर्फ जयाराज्यलक्ष्मी शाह (वार्षिक २४ लाख रुपैयाँ), व्यवसाय करतर्फ उपमा डेभलपर्स प्रालि (वार्षिक पचास हजार), मनोरञ्जन करतर्फ कुमारी चलचित्र मन्दिर (१५ लाख ७० हजार) लाई सम्मान गरिएको छ । महानगरले दीर्घकालीन सेवापदक (२५ वर्ष सेवाअवधि पुगेका कर्मचारी) १७ जनालाई पनि सम्मान गरेको छ ।

प्रकाशित : मंसिर ३०, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?