कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चाँगुनारायणमा फेरि चोरी

विश्वसम्पदा सूचीमा रहेको मन्दिर सुरक्षा घेराभित्र भए पनि एक महिनाबीचमा यहाँ दुईपटक चोरी भयो
लीला श्रेष्ठ

(भक्तपुर) — भूकम्पले चाँगुनारायण मन्दिरमा क्षति पुर्‍याएपछि सुरक्षाका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प मन्दिर परिसरमै राखिएको छ । सत्तल पुनर्निर्माणका लागि खटिएका कर्मचारी मन्दिरनजिकै बस्छन् । करिब तीन सय मिटरको दूरीमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणको कार्यालय छ ।

चाँगुनारायणमा फेरि चोरी

गत मंसिर २ गते राति यही मन्दिरबाट अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरिएको थियो । बिहीबार रातिमात्रै पूजामा प्रयोग हुने ढलौटका पूजासामग्री हराए । एक महिना नपुग्दै दुईपटक चोरी हुँदा स्थानीयले मन्दिरको सुरक्षाप्रति नै शंका व्यक्त गरेका छन् ।


मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार मूल पुजारीको सत्तलबाटै शंख र नाग आकृतिका ढलौटका भाँडाकुँडा चोरी भएको हो । ‘सत्तलको ढोका फोडेर शंख, अर्घ्य राख्ने कलात्मक तीन सेट भाँडा (प्रति सेटमा ८ वटा हुन्छन्), दियो, पानीभाँडालगायत सामग्री चोरी भएको छ,’ विकास समिति अध्यक्षसमेत रहेका राजोपाध्यायले भने । यसअघि सत्तल पुनर्निर्माण गर्ने क्रममा ख्वापाबाट झिकेर राखेको अष्टबाहु नारायणको मूर्ति चोरी भएको थियो ।


सुरक्षा घेराबाटै मल्लकालीन अष्टबाहु नारायणको मूर्ति चोरी हुनु, मूल पुजारी घरबाट पूजा सामग्री चोरी हुनु दुर्भाग्य भएको स्थानीय बासिन्दा बताउँछन् । ‘पुरातत्त्व, गुठी संस्थान, नगरपालिका, सुरक्षा निकाय, स्थानीय बासिन्दाको लापरबाहीले मन्दिर थप असुरक्षित बन्दै गएको छ,’ चाँगुनारायण नगरपालिका–४ का कपुर थापाले भने, ‘पुनर्निर्माणको नाममा प्राचीन सम्पदा ठेकेदारलाई सुम्पिँदा सुरक्षामै शंका गर्न थालेका छौं ।’


युनेस्कोले मन्दिर सुरक्षाका लागि राखेको चारवटा सीसी क्यामेरासमेत बिग्रिएको छिन्नमस्ता मन्दिरका पुजारी कैलाशमान कर्माचार्यले बताए । ‘मर्मत गर्न सम्बन्धित निकायलाई निवेदन दिए पनि कसैले वास्ता गरेको छैन,’ उनले भने । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरलाई यसबारे केही जानकारी नभएको पुरातत्त्व अधिकृत मोहनसिं लामा बताउँछन् । ‘युनेस्कोले सीसी क्यामेरा जडान गरेको भन्ने सुनेको मात्र हो, हामीलाई हस्तान्तरण गरेको थिएन,’ उनले भने, ‘क्यामेरा कसको निगरानीमा थियो/थिएन पनि थाहा छैन ।’


चाँगुनारायण परिसरबाट मूर्ति चोरी भएको यो नौलो घटना भने होइन । राजोपाध्यायका अनुसार ०३३ सालमा किलेश्वर महादेवको ७ सय ९२ तोला चाँदीको मूर्ति चोरी भएको थियो । उक्त मूर्ति फेला नपरेपछि झन्डै १० वर्षपछि तामाको मूर्ति बनाएर प्रतिस्थापन गरियो । मन्दिर परिसरबाटै ०३१ मा ढलौटको कृष्णको मूर्ति हरायो । करिब दुई दशकपछि नयाँ मूर्ति बनाएर त्यहाँ प्रतिस्थापन गरेको राजोपाध्यायले बताए । त्यस्तै, चाँगुनारायण मन्दिर मूलद्वारको बायाँतर्फको तामामा सुनको मोलम्बा (जलप) लगाएको नारायणको मूर्ति पनि सुरक्षित रहन सकेन । पञ्चायतकालमा चाँगुनारायण परिसरको विष्णु विश्वरुपाको बायाँतर्फको सूर्यको ढुंगाको मूर्ति पनि हराएको थियो । ‘लुटेराले मन्दिर सुरक्षाका लागि बसेका प्रहरीलाई खुकुरी देखाएर सूर्यको मूर्ति लुटेका थिए,’ मूल पुजारी राजोपाध्यायले भने ।


चाँगुनारायण पूर्वतर्फको पारिजातको रुखमुनि रहेको टेराकोटा (माटो) को शिव मूर्तिलगायत अन्य मूर्ति हराउँदै गएका छन् । कुन–कुन समयमा ती मूर्ति हराए, कसैले अभिलेख राखेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान भने हराएका मूर्तिको खोजी भइरहेको बताउँछन् । ‘मन्दिरलगायत पुरातात्त्विक महत्त्वका स्थलमा अमूल्य वस्तुको सुरक्षाका लागि प्रविधिमैत्री सूक्ष्म निगरानी राख्नैपर्छ,’ उनले भने ।


सुस्त पुनर्निर्माण

प्राचीन चाँगुनारायण मन्दिर भूकम्पपछि जीर्णोद्धार भएको डेढ वर्ष भइसके पनि चौघेराका सत्तलको पुनर्निर्माणको काम कछुवाको गतिमा भइरहेको छ । चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष बुद्विलाल महर्जन ठेकेदार कम्पनीले पुनर्निर्माण गर्ने नाममा जथाभावी सत्तल भत्काउने, कलात्मक काठ, पुरातात्त्विक सामग्री लथालिङ बनाउने काम गरेको आरोप लगाए ।


अझै कतिपय पुरातात्त्विक सामग्री खुला आकाशमा छरिएको किलेश्वर महादेव मन्दिरका पुजारी रामप्रकाश भट्ट बताउँछन् । ‘विश्वप्रसिद्व प्राचीन मन्दिर पुनर्निर्माण हुँदा नक्सा, डिजाइनसहित प्राविधिक बस्नैपर्थ्यो,’ उनले भने, ‘ठेकेदारको भरमा पुरातत्त्व कानमा तेल हालेर बसेको छ ।’ विभागले भने मन्दिर र सत्तलको महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्तापाताको टहरा बनाएर भण्डारण गरेको जनाएको छ ।


विभागका पुरातत्त्व अधिकृत मोहनसिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि ०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भएको थियो । हाल मन्दिर परिसरको दक्षिण पश्चिमतर्फको चौघेरा सत्तल पुनर्निर्माण भइरहेको छ । उत्तरपश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पुजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काउने काम भएको उनले बताए ।


सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । ०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?