डोजर लगाएर खुलामञ्च सफाइ

काठमाडौँ — टुँडिखेललाई खुला बनाउन माग गर्दै ‘अकुपाई टुँडिखेल’ अभियान चलाइरहेका अभियन्ताले शनिबार डोजर लगाएर खुलामञ्च सफाइ गरेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै उनीहरूले डोजर लगाएर सम्याएका हुन् । उनीहरूले उक्त क्षेत्रमा सरसफाइसमेत गरेका छन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीको अगुवाइमा खुलामञ्च सफाइ गरिएको हो । खुलामञ्चलाई पुरानै ढाँचामा ल्याउने प्रयासस्वरूप डोजर चलाइएको उनले बताए । फोहोर र माटो थुपारिएर अस्तव्यस्त बनेको खुलामञ्च डोजर लगाइएपछि सफा देखिएको छ । यसक्रममा शिक्षक, विद्यार्थी, प्रहरी, कर्मचारीलगायत सहभागी थिए । ‘यो सांकेतिक विरोध हो,’ अभियानका संयोजक विजय श्रेष्ठले भने, ‘टुँडिखेल खुला ठाउँ मात्र होइन, सामाजिक क्रियाकलाप हुने स्थल पनि हो । यसको सांस्कृतिक, वातावरणीय महत्व छ ।’


यही मौकामा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । ‘मैले त्यहाँ पढाउने हुनाले सामाजिक, सांस्कृतिक विषयको कसरी रिर्पोटिङ गर्ने भनेर सिकाउन ल्याएको हुँ,’ शिक्षिका विनिता दाहालले भनिन् ।


टुँडिखेललाई खुला गर्ने उद्देश्यले गत कात्तिक २३ गते विश्व स्वतन्त्रता दिवसका दिनदेखि अभियान सञ्चालन भइरहेको छ । पहिलो दिन मानव साङ्गालेले टुँडिखेल घेेरिएको थियो । त्यसयता टुँडिखेलमा खरीको बोट रोप्ने, साहित्यिक जमघट, सम्पदामाथि पुस्तक चर्चार्, मैत्रीपूर्ण खेलजस्ता कार्यक्रम भइरहेका छन् । अभियान तीन महिना चल्ने अभियन्ताले जनाएका छन् । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेल विभिन्न खण्डमा विभाजन भइसकेको छ । खुलामञ्चमा अहिले बसपार्क राखिएको छ । खुलामञ्चकै केही भाग दरबार हाइस्कुलका ठेकेदार बस्न प्रयोग भएको छ । अर्को छेउमा भने निजी गाडी पार्क गर्न प्रयोग भइरहेको छ । टुँडिखेलको दक्षिणतिरको भागमा नेपाली सेनाले कतै भवन र कतै खेलकुदका लागि प्यारापिट बनाएको छ ।


प्रकाशित : मंसिर २९, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?