जग खन्दा ढुंगेधारा

दामोदर न्यौपाने

काठमाडौँ — भवन बनाउन ठिक्क पारेको ठाउँ उत्खनन् गर्दा प्राचीन ढुंगेधारा पत्ता लागेको छ । केही वर्षअघिसम्म सर्वसाधारणले पानी प्रयोग गर्दै आएको हात्तीसारस्थित ढुंगेधारा रहेको ठाउँमा भवन बनाउन थालिएपछि सम्पदा संरक्षण अभियन्ताले विरोध गरेका थिए । कित्ता नम्बर २६६३ र २६६४ मा रहेको सो जग्गा बुद्धलक्ष्मी गुरुङको नाममा छ ।

जग खन्दा ढुंगेधारा

दुई महिनाअघि यहाँ भवन बनाउने उद्देश्यले डोजर चलाएपछि अभियन्ताले पुरातत्त्व विभाग गुहारेका थिए । विभागका अवकाशप्राप्त विज्ञ उद्धव आचार्यको नेतृत्वमा पुरातत्त्व अधिकृत विष्णु पाठक, भक्तलक्ष्मी महर्जन र प्रकाश खड्काको समूहले उत्खनन् गरेको थियो ।


ढुंगेधारामाथि भवन बनाउन लागेपछि काठमाडौं ठहिटीका सुविन मानन्धर, पाटनका सुदर्शन महर्जन, इन्दु ज्यापुनी, यंगाका नुरज बज्राचार्य, नक्सालका कर्मवीर बस्नेत, डल्लुका सुरेश डंगोल र नघलका यादव कायस्थको समूहले काम रोकेर उत्खनन् गर्न पुरातत्त्व विभागमा निवेदन दिएका थिए । स्थानीय सचिनकुमार तण्डुकारको नेतृत्वमा सम्पदा संरक्षण समिति बनाएर संघर्ष नै थालिएको थियो । उत्खनन् गर्दा ढुंगेधारको संरचना भेटिए पनि टुटी फेला परेको छैन । ‘ढुंगेधारा मास्ने उद्देश्यले नै टुटी गायब पारेर पुरिएको हो,’ कायस्थले भने, ‘टुटी भएको ठाउँमा कंक्रिट राखेर बलियो गरी छोपिएको रहेछ ।’ डोजर नलगाउन घरधनी गुरुङसँग आग्रह गरे पनि रातारात डोजर लगाएर जग्गा सम्याइसकेको उनले बताए । उत्खनन् क्रममा भेटिएको माटोको पाइपबाट पानी बगिरहेको छ । धारा वरिपरि इँटाको गारो लगाइएको छ । धारा उत्खनन्पछि डोजरले नै माटो हालेर छोपिएको छ ।


‘अब यसको अभिलेख राख्ने काम हुन्छ । कुन कालखण्डको हो भनेर बुझिरहेका छौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘अध्ययन सकिएपछि अब के गर्ने भनेर छलफल गर्छौं ।’ यही ठाउँमा ०५४ सालतिरै भवन बनाउने प्रयास भएको थियो । नक्सा पास गर्न सिफारिस लिन जाँदा तत्कालीन वडाध्यक्ष किरण श्रेष्ठले रोकिदिएका थिए । त्यसपछि केही समय महानगरमा मुद्दा नै पर्‍यो । अहिले के भएको छ भन्ने जानकारी महानगरसँग छैन । ‘हामीले फाइल खोज्दा फाइलै भेटिँदैन,’ श्रेष्ठ भन्छन्, ‘यहाँ ढुंगेधारा भएको जानकारी पाएपछि मैले रोकिदएको हुँ । नक्साका लागि निवेदन आएपछि त्यसबेलाका नगर सदस्य पुरुषोत्तम खकुरेललाई फिल्ड हेर्न पठाएँ । धारा त पुरिइसकेको रहेछ ।’


उनका अनुसार त्यतिबेला जग्गा अमृतमान शाक्यको नाममा थियो । ०७२ सालमा गुरुङले शाक्यसँग यो जग्गा किनेकी थिइन् । २४ रोपनीमा फैलिएको जग्गा व्यक्तिको नाममा रहेको लामो समय भइसकेकाले के गर्ने भनेर यसै भन्न सक्ने अवस्था नरहेको विभागका प्रवक्ता कुँवरको भनाइ छ ।


नक्सालका सचिनकुमार तण्डुकार २५ वर्षअघिसम्म ढुंगेधाराको जमेको पानीमा पौडी खेलेको सम्झन्छन् । ‘सानो हुँदा ढुंगेधारबाट बाहिर पानी जाने निकासमा थुनिदिन्थ्यौं । थुनिएपछि पोखरी बन्थ्यो । त्यहाँ हामी पौडी खेल्थ्यौं,’ ४० वर्षीय तण्डुकारले भने ।


काठमाडौं महानगरपालिकाले ०५८ सालमा निकालेको वडा प्रोफाइलमा यो ठाउँमा ढुंगेधारा देखाइएको छ । त्यसबेला केशव स्थापित मेयर थिए । ‘२०२१ सालको नापीमा ढुंगेधारालाई पनि व्यक्तिकै नाममा दर्ता गरिएछ,’ तत्कालीन वडाध्यक्ष श्रेष्ठ भन्छन् । जग्गाधनी बुद्धलक्ष्मीका पारिवारिक सदस्य रामकाजी कोने नियमअनुसार काम अघि बढाएको दाबी गर्छन् । ‘मैले किनेको हुँ,’ उनले भने, ‘कानुनी प्रक्रियाअनुसार नै काठमाडौं महानगरपालिकाले नक्सा पास गरिदिएको छ ।’ यसका लागि सिफारिस दिने वडाध्यक्ष भरतलाल श्रेष्ठसँग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।


प्रकाशित : मंसिर २९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?