१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

६ लेन सडकमा सौर्यबत्ती

भक्तपुर — सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गत जडिबुटी मनोहरा पुलदेखि हनुमन्ते खोलासम्म सौर्यबत्ती जडान सुरु भएको छ । सडकको दायाँबायाँ करिब ५.५ किलोमिटर सडकमा बत्ती जोडिएको हो । मध्यपुर थिमि नगरपालिकाको समन्वयमा सार्वजनिक निजी साझेदारी अवधारणा (पीपीपी मोडेल) अन्तर्गत बतास एसोसिएट्स प्रालिले बत्ती जडानको काम गरिरहेको छ ।

‘उज्यालो मध्यपुर थिमि’ अभियानअन्तर्गत जडिबुटी मनोहरा पुल, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ थिमि हुँदै राधेराधे हनुमन्ते पुलसम्म २५/२५ मिटर दूरीमा सडकको दायाँबायाँ चार सय ४० वटा सोलार बत्ती, सात वटा सांकेतिक बोर्ड, ट्राफिक आइलाइन जडान गर्ने सम्झौता भएको मध्यपुर थिमि नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सत्यनारायण शाहले बताए ।


सडकबत्ती राखिएको पोलमा व्यावसायिक विज्ञापन राखेबापत् नगरपालिकाले आर्थिक ऐनमा तोकिएअनुसार वार्षिक विज्ञापन कर लिने सम्झौतामा उल्लेख छ । प्रालिले सौर्य बत्तीको प्यानल, पोल, ब्याट्रीलगायतको ६/६ महिनामा सरसफाइ र मर्मत संरक्षण गर्नुपर्ने हुन्छ । करिब ७ करोड ७ लाख रुपैयाँ लागतमा सौर्यबत्ती जडान गर्ने र दुई/दुई वर्षमा १० प्रतिशतका दरले विज्ञापन रोयल्टीको दर बढाउने गरी प्रालिसँग सम्झौता भएको नगरपालिकाले जनाएको छ ।


स्थानीय बासिन्दाले भने बत्तीको क्षमता कम भएको गुनासो गरेका छन् । ‘सडकबत्ती जडान भएको जस्तो मात्र छ । सडक उज्यालो भएको महसुस भएको छैन,’ मध्यपुर थिमि–३ कौशलटारका राज लवटले भने । सडकबत्तीको क्षमता कम्तीमा एक सय ५० देखि दुई सय वाट हुनुपर्ने भनिए पनि एक सय वाटका बत्ती जोडिएको नगरपालिकाकै एक कर्मचारीले बताए ।


मुख्य सडकको दायाँबायाँ सौर्यबत्ती जडान भए पनि वर्षौंदेखि ठडिएका बीच सडकका पोलमा भने बत्ती बलेको छैन । जापान सरकारले सन् २०११ मा सूर्यविनायक–तीनकुने ६ लेन सडक निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । नेपाल सरकारले जिम्मा पाएको सडकबत्ती जडान कार्य अझै पूरा भएको छैन । सल्लाघारी–सूर्यविनायक सडकखण्डमा पोलसमेत गाडिएको छैन । उक्त सडक मर्मत संरक्षण, आकाशेपुल निर्माण, सडकबत्ती जडान, सर्भिस ट्र्याक निर्माण तथा संरक्षणको जिम्मा पाएको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक योजनाले भने दक्ष प्राविधिक नहुँदा सडक बत्ती जडान हुन नसकेको बताउँदै आएको छ ।


प्रकाशित : मंसिर २६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?