फुटपाथ कि पार्किङ

काठमाडौंमा चारपांग्रे र दुईपांग्रे गरी १३ लाख सवारीसाधन छन्, ६ लाखका लागि पार्किङस्थलको अभाव छ 
प्रशान्त माली, सीमा तामाङ

काठमाडौँ — काभ्रे रोशी गाउँपालिका–६ कालिञ्चोकका ३४ वर्षीय रणबहादुर लामा भक्तपुर बस्छन् । बागबजारमा पसल गर्ने उनी प्यारालाइसिसका कारण राम्रोसँग हिँड्न सक्दैनन् । उनी हिँडिरहने पुरानो बसपार्क–बागबजार रुटमा फुटपाथको व्यवस्था छ । तर, मोटरसाइकल पार्किङका कारण उनी दिनहुँ जोखिम मोल्न बाध्य छन् । ‘फुटपाथ त छ, तर त्यसको अनुभूति गर्नै पाइएन,’ उनले भने ।

बालाजु बस्ने सप्तरीका ३५ वर्षीय नितेशकुमारको एउटा खुट्टा राम्रोसँग चल्दैन । पुतलीसडकस्थित एक सहकारीमा काम गर्ने उनी बालाजुबाट रत्नपार्कसम्म गाडीमा आउँछन् । रत्नपार्क–घन्टाघर–पुतलीसडक हिँडेरै पुग्छन् । तर, फुटपाथभरि मोटरसाइकल पार्क गर्दा उनलाई निकै समस्या परेको छ । ‘खुट्टा राम्रोसँग नचल्ने भएकाले सिधा हिँड्न सक्दिनँ,’ उनले भने, ‘शरीर बांगोटिंगो हुने भएकाले गाडीले छुने डर छ ।’ फुटपाथ व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा दृष्टिविहीनलगायत अपांगता भएका व्यक्ति बढी मर्कामा पर्ने गरेको उनले बताए ।


फुटपाथमा सवारी पार्किङ नरोकिँदासम्म लामा र यादवजस्ता सर्वसाधारण सास्ती भोग्न बाध्य छन् ।


संसद भवन क्षेत्र वरिपरि पनि फुटपाथको व्यवस्था छ । तर, मोटरसाइकल पार्किङका कारण पैदलयात्रु फुटपाथ प्रयोग गर्न पाउँदैनन् । बानेश्वर पुलदेखि बानेश्वर चोकका सडकमा पनि पैदलयात्रुले निकै सकस बेहोर्नुपर्छ । रत्नपार्क क्षेत्रको समस्या पनि उही हो ।


भोटाहिटीबाट रत्नपार्क पुग्न आकाशेपुलको व्यवस्था गरिएको छ । तर, पुल पुग्ने बाटोमा मोटरसाइकल जथाभावी पार्किङ गरिएको देखिन्छ । ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन गर्न रत्नपार्क, पुतलीसडक, थापाथली क्षेत्रमा मात्रै दैनिक दुई सय प्रहरी खट्ने गर्छन् ।


तैपनि जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्न नसकेको पैदलयात्रुहरूको गुनासो छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले स्थानीय तहले पार्किङको व्यवस्थापन गर्न नसक्दा समस्या समाधान नसकेको बताए । ‘पर्याप्त पार्किङ नहुनु मुख्य समस्या हो,’ उनले भने, ‘जथाभावी मोटरसाइकल पार्किङ हटाउने जिम्मेवारी महानगरपालिकाको हो । महानगरले नयाँ घर बनाउँदा अनिवार्य पार्किङको व्यवस्थापन गर्ने खालको कानुन बनाउनुपर्‍यो ।’ सरकारी तथा निजी जग्गाको खोजी गरेर पार्किङको व्यवस्थापन गर्न सकेमा समस्या केही हदसम्म समाधान हुने बताए उनले दाबी गरे । उनका अनुसार काठमाडौंमा चारपांग्रे र दुईपांग्रे सवारी गरी १३ लाख छन् । ६ लाखका लागि पार्किङस्थल अभाव छ ।


काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल व्यापारिक प्रयोजनका लागि घर बनाउन नक्सापास गर्दा अनिवार्य पार्किङ देखाउनुपर्ने बताउँछन् । तर, घरधनीले पार्किङस्थललाई गोदामको रूपमा प्रयोग गर्ने गरेका छन् । मोटरसाइकल जथाभावी पार्किङ गर्नेलाई महानगरले एक हजार रुपैयाँ जरिवाना लिने गरेको छ ।


पार्किङस्थललाई गोदाम बनाउने न्युरोडका व्यापारीलाई जानकारी गराइसकेको उनले बताए । ‘अब पनि नक्साबमोजिम गोदाम सञ्चालनमा नल्याए कारबाहीका लागि सिफारिस गर्छौं,’ उनले भने ।


ट्राफिक महाशाखाको तथ्यांकअनुसार उपत्यकामा ०६८/६९ देखि ०७६/०७७ साउनसम्म एक सय ५७ जना पैदलयात्रुले सवारी दुर्घटनामा परी ज्यान गुमाइसकेका छन् ।


फुटपाथमा पसलका सामान

सिंहदरबार पूर्वी गेटपारि फुटपाथमा मोटरसाइकल मात्रै होइन निजी कार पार्क गरेको देखिनु नौलो होइन । सवारी चालकहरू निर्धक्कसँग फुटपाथमा हर्न बजाउँदै आफ्ना सवारी रोक्छन् । ‘बबरमहल जान फुटपाथमा पनि सवारीसाधनबाट जोगिएर हिँड्नुपर्छ,’ घट्टेकुलो बस्ने ३३ वर्षीया सम्झना श्रेष्ठ भन्छिन्, ‘मान्छे हिँड्नलाई सहज छैन, यहीँ बाइक र कार रोकिदिँदा निकै कठिनाइ हुने गरेको छ ।’


बानेश्वर बस्ने २६ वर्षीया सुष्मा ढकाल सिंहदरबार सडकखण्डको फुटपाथमा हिँड्दै थिइन् । साताको दुई दिन उनी हिँडेरै माइती (डिल्लीबजार) आउजाउ गर्छिन् । ‘पैदलयात्रु हिँड्ने बाटो हो कि सवारीसाधन पार्क गर्ने ठाउँ, चिन्नै गाह्रो छ,’ उनले भनिन्, ‘काखे बच्चा बोकेर हिँड्न झनै मुस्किल ।’ सिंहदरबार पूर्वी गेटका फुटपाथ साँघुरा छन् । अनामनगरतर्फ हिँड्नेहरू फुटपाथमै सवारीसाधनबाट जोगिएर हिँड्नुपर्ने बाध्यता छ । त्रिपुरेश्वर–टेकु सडकखण्डमा पैदलयात्रु जोखिमपूर्ण यात्रा गरिरहेका छन् । अलि ठूलो फुटपाथ भएको स्थानमा हार्डवेयर पसलका सामानसमेत देख्न सकिन्छ । साघुँरा फुटपाथमा भने घरका सिँढी नै जोडिएका छन् ।


नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ । १५ मिनेटभित्र पाँचसम्म मानिस आवतजावत गर्ने फुटपाथमा १ दशमलव ५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा २ मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सय जनासम्मको चाप भए ३ मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ । सडकमा ह्विलचियर अट्ने गरी १ दशमलव ५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर, अपांग र दृष्टिविहीनमात्र होइन सामान्य पैदलयात्रुले पनि फुटपाथमा जोखिम बेहोर्नुपरेको छ । प्रकाशित : मंसिर २६, २०७६ १०:१८

प्रतिक्रिया
पठाउनुहोस्

फोहोर छुट्याउने अभियान निष्प्रभावी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले तीन महिनाअघि पाइलट प्रोजेक्ट भन्दै तीनवटा वडामा घरबाटै फोहोरको स्रोत छुट्याएर संकलन थाले पनि उक्त योजना निष्प्रभावी बनेको छ । पहिलो चरणमा वडा १२, १८ र २१ मा घरबाटै कुहिने/नकुहिने फोहोर छुट्टाछुट्टै दिन उठाउन सुरु गरिएको थियो । वडा नम्बर १८ मा दसैंअघि सुरु भएको योजना तिहार सकिँदासम्म पहिलेकै अवस्थामा पुग्यो ।

महानगरपालिकाको वातावरण विभागले साताको चार दिन अर्थात् आइतबार, मंगलबार, बिहीबार र शनिबार कुहिने तथा सोमबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने बताएको थियो । अन्य वडामा फोहोर उठाउन निजी क्षेत्रको संलग्नता भएको हुँदा पहिलोपटक यी तीन वडामा फोहोर उठाउन सुरु गरेको महानगरपालिकाले जनाएको थियो । तर, सोचेअनुरूप सफलता हासिल गर्न नसकिएको वातावरण विभागअन्तर्गत फोहोर व्यवस्थापन शाखाका प्रमुख निर्मलराज बरालले बताए । फोहोर छुट्याएर संकलन गर्नुअघि जनचेतनामूलक कार्यक्रम गरे पनि त्यो अपुग रहेको उनले सुनाए । सोमबारदेखि वडाका सबै सदस्यलाई अभिमुखीकरण तालिम दिन सुरु गरिएकाले अब ३२ वडाबाटै एकैसाथ सुरु गर्ने अवधारणा रहेको उनको भनाइ छ ।

महानगरले कुहिने फोहोरलाई खाल्डो खनेर कम्पोष्ट मल बनाउने र पुर्ने तथा नकुहिने फोहोरलाई सिसडोल पुर्‍याउने व्यवस्था गरेको जनाएको थियो । महानगरका अनुसार घरबाट निस्कने ६० प्रतिशत जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गर्न सकिन्छ । ३० प्रतिशत फोहोर पुन: प्रयोग गर्न मिल्छ । १० प्रतिशतमात्र डम्पिङ साइट पुर्‍याउने महानगरको योजना छ ।

अहिले डम्पिङ साइटमा न्य्नूतम मात्रामा फोहोर पुर्‍याउने उद्देश्यले यसअघि स्रोतबाटै फोहोर छुट्याएर संकलन गरिएको वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले बताएका थिए । अहिले स्थानीय तथा बहालमा बस्नेहरूको गुनासो आएपछि छुट्टाछुट्टै फोहोर संकलन अभियान रोकेको उनको भनाइ छ । अब पुसको पहिलो सातादेखि फोहोर छुट्याएरै संकलन गर्ने योजना रहेको उनले बताए । स्थानीय तथा बहालमा बस्ने सबैलाई कुहिने/नकुहिने फोहोर छुट्याएर ल्याउन र फोहोर न्यूनीकरणबारे प्रशिक्षण दिने उनले बताए ।

प्रकाशित : मंसिर २६, २०७६ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×