स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा

फातिमा बानु

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाको स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु भएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नगरपालिकाले स्थानीय तहमै चिकित्सकले निःशुल्क उपचार र स्वास्थ्य जनचेतना दिने काम गरिरहेका छन् ।

स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा

आवश्यक पर्दा नगरपालिकामा भएका ६ स्वास्थ्यचौकीसम्म पुगेर ती चिकित्सकले सेवा दिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।

आधारभूत स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य चौकीमा चिकित्सकसहितको सेवा भएपछि बिरामीको आकर्षण बढ्दो छ । ‘सहरी क्षेत्रमा बसोबास गर्ने गरिब असहाय, सीमान्तकृत नागरिकका लागि यस्तो सेवा सुरु गरिएको हो । हुनेखानेहरू स्थानीय तहका स्वास्थ्य चौकीमा उपचार गराउँदैनन्,’ उनले भने । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिरामीले उपचारमात्रै होइन योगा, व्यायाम र व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलाप पनि सिक्छन् । नगरपालिकामा दुईवटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र छन् ।

प्रत्येक केन्द्रमा एमबीबीएस पढेका एक चिकित्सक कार्यरत छन् । यी चिकित्सकले निःशुल्क स्वास्थ्य शिविरमा बिरामी हेर्ने काम गरिरहेका छन् । ‘सुकुम्बासी क्षेत्रमै गएर बिरामीको रगतदिसा जाँच्ने, शरणार्थी बसेका ठाउँमा बिरामी हेर्ने गर्छन्,’ दाहालले भने ।


यस्ता केन्द्रमा नर्स, अनमी र ल्याब स्वास्थ्यकर्मीसहितको दरबन्दी छ । रगत, पिसाब जाँच गर्न सकिने खालको ल्याब परीक्षण सुविधा पनि छ ।

नगरपालिकाले ८० लाख बजेट छुट्टयाएर यस्ता केन्द्र चलाइरहेको छ । ‘सुविधाअनुसार बिरामीको चाप धेरै छैन । आर्थिक अवस्था कमजोर भएका, भाडामा बसेका मान्छे मात्रै आउने गरेका छन्,’ दाहालले भने ।

बूढानिलकण्ठ स्वास्थ्य चौकीमा २४ घण्टा सुत्केरी गराइने बर्थिङ सेन्टर पनि छ । दुई बेडसहितको बर्थिङ सेन्टरमा मासिक १५ वटा सुत्केरी गराइने गरिएको छ । सरुवा तथा महामारी रोग रोकथाम पनि यही केन्द्रमार्फत भइरहेका छन् । मधुमेह, क्यान्सर, उच्च रक्तचाप र दीर्घ श्वासप्रश्वासजस्ता नसर्ने रोग नियन्त्रणका लागि पनि

काम भइरहेका छन् ।


‘नसर्ने रोग बढाउने सूर्तिजन्य पदार्थ, मदिरा सेवा र जंकफुडका असरबारे जनचेतना जगाउन पनि लागेका छौं,’ जनस्वास्थ्य अधिकृत दाहालले भने, ‘क्षयरोग, एचआईभी, औलो, डेंगुलगायत रोगबारे जनचेतना फैलाउने र उपचार गर्ने काम पनि भइरहेको छ ।’

प्रकाशित : मंसिर २३, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?