मेयरको तोक लगाउन सुन्धारा, सेवा लिन अन्तै

महानगरको एउटै भवनमा सेवा पाइने आशा गरेर आएका सेवाग्राही छरिएका कार्यालय खोज्दै दिनभर बिताउन बाध्य छन् । सेवा लिनचाहिँ अर्को दिन कुर्नुपर्ने अवस्था छ ।

काठमाडौँ — वनस्थलीकी शुभेच्छा कार्कीलाई वडा कार्यालयबाट काठमाडौं महानगरको नक्सा शाखा पठाइयो । उनी ट्याक्सी चढेर सुन्धारा बागदरबारस्थित महानगर कार्यालय आइन् । नक्सा शाखा खोज्दै मेयरको कार्यकक्ष भएको जेडीए कम्प्लेक्सको छैटौं तलामा उक्लिइन्, र कर्मचारीलाई सोधिन्, ‘नक्सा शाखा कहाँ हो ?’ 

मेयरको तोक लगाउन सुन्धारा, सेवा लिन अन्तै

एक कर्मचारीले उक्त शाखा बबरमहल भएको जानकारी दिए । यो शाखाबारे जानकारी नहुँदा उनको समय व्यर्थैमा खेर गइसकेको थियो । ट्याक्सी लिएर बबरमहलको आर्ट काउन्सिलतिर लागिन् ।


सहकारीसम्बन्धी काम लिएर आएका सुशान्त खड्का पनि कार्यालय समय खुल्नेबित्तिकै सुन्धारास्थित महानगर कार्यालय पुगे । तर, उनले त्यो शाखा कतै फेला पारेनन् । कर्मचारीले बिजुलीबजारमा रहेको जानकारी गराएपछि दिक्क मान्दै भने, ‘महानगरको कार्यालय भनेर आउँछौ । शाखा खोज्न अन्तै जानुपर्ने ?’ मोटरसाइकलमा आएका उनी सहकारी विभाग खोज्दै बिजुलीबजारतिर लागे ।


उनी फर्किएलगत्तै आइपुगिन्, सुनिता तामाङ । संस्थासम्बन्धी काम लिएर आएकी उनलाई पनि सुन्धारा कार्यालयबाट कर्मचारीले फर्काए । उनी एकछिन अकमक्क हुँदै बबरमहलस्थित जिल्ला समन्वय समितिको भवनतिर लागिन् । छात्रवृत्तिसम्बन्धी गुनासो लिएर आएकी रञ्जना महर्जनलाई पनि कर्मचारीले ताहाचलस्थित पुरानो जिल्ला शिक्षा कार्यालय जान भन्दै फर्काए ।


महानगरको एउटै भवनमा सेवा पाइने आशा गरेर आएका सेवाग्राहीले छरिएका कार्यालय खोज्दै दिनभर बिताउनुपरेको छ । सेवा लिनचाहिँ अर्को दिन पुग्नुपर्ने हुन्छ ।


काठमाडौं महानगरको कार्यालय भएको बागदरबारमा ०७२ को भूकम्पले क्षति पुर्‍याएपछि महानगरका महाशाखा, विभाग र शाखा चारैतिर छरिएका छन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत भएकै ठाउँबाट काम बन्ने सोचेर सेवाग्राही पुगेका हुन्छन् तर, अन्यत्र धाउनुपर्ने बाध्यता छ । मेयर र प्रशासकीय अधिकृतबाट तोक लगाएको निवेदन च्यापेर कार्यालय खोज्दै निस्कनुपरेको सेवाग्राहीले गुनासो गरे । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन र लेखा शाखासमेत चार वर्षदेखि बागदरबारसँगैको जेडीए कम्प्लेक्सको दुईवटा तलाबाट सञ्चालन भइरहेका छन् । धराप बागदरबारमा भने न्यायिक समिति, पञ्जीकरण, नगरप्रहरी महाशाखा रहेको छ । सेवाग्राहीको भीडभाड हुने राजस्व, निर्माण इजाजत, सहरी पूर्वाधार विकास विभाग बबरमहलको कर कार्यालयअगाडिको भाडाको घरमा छन् । यी विभागमा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही पुग्छन् । दैनिक एक करोड रुपैयाँसम्म राजस्व संकलन हुने कार्यालयमा सेवाग्राहीलाई पानी खुवाउने व्यवस्थासमेत छैन । पालो कुर्नुपर्ने सेवाग्राहीलाई बस्ने कुर्सी देखिन्नन् । पर्याप्त शौचालयसमेत छैन । शाखा खोज्दै थकित भएर पुग्ने सेवाग्राहीले गाडी र मोटरसाइकल पार्किङ गर्ने ठाउँ पाउँदैनन् । सडक र फुटपाथमा पार्किङ गर्नुको विकल्प छैन ।


उक्त घर भाडामा लिएबापत मासिक ३ लाख ८१ हजार ६ सय ३४ रुपैयाँ महानगरले तिर्ने गरेको छ । ‘यतिको भाडा तिरेपछि सेवाग्राहीले सडकमा पार्किङ गर्न नपरे हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘कर्मचारीका मोटरसाइकल र गाडी आर्ट काउन्सिलमा पार्किङ गर्ने गरेका छौं । गेटमा ताला लागेको बेला भाडाको गाडीमा घर जानुपर्ने हुन्छ ।’


महानगरको शिक्षा विभाग ताहाचलमा, कृषि, सूचना प्रविधि महाशाखा, महिला बालबालिका, सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन, सम्पदा तथा पर्यटन विभाग, सामाजिक विकास विभाग, विपद् व्यवस्थापन, सार्वजनिक नीजि साझेदारी एकाई बबरमहलस्थित जिल्ला समन्वय समितिको भवनमा छ । यी कार्यालय राखेबापत महानगरले समितिलाई मासिक एक लाख ९६ हजार ३ सय ५० रुपैयाँ भाडा तिर्ने गरेको छ । महानगरले कार्यालय सञ्चालनबापत् घर भाडामात्रै २० लाख ३ हजार ८ सय ३९ रुपैयाँ तिर्छ । महानगरका मेयर र उपयमेयरको कार्यकक्ष भएको जेडीएको छैटौं तला र लेखा शाखा भएको पाँचौ तलाको भाडामात्रै मासिक ८ लाख २९ हजार २ सय ५५ रुपैयाँ छ ।


सहकारी विभाग भएको बिजुलीबजारस्थित प्रभु बैंक पारिपट्टिको घरको भाडा एक लाख १२ हजार, सहरी योजना आयोजनाको कार्यालय रहेको बबरमहलको घरको भाडा ३ लाख १२ हजार छ । महानगरको ३२ वटा वडामध्ये १४, ३० र ३२ वडाको आफ्नै भवन पर्याप्त छ । १४ नम्बर वडा कार्यालय रहेको भवनको भाडा ५० हजार ६ सय रुपैयाँ, ३० नम्बर वडाको भाडा ५५ हजार र २२ वडा कार्यालयको भाडा ३५ हजार छ । शाखा र वडा कार्यालयबाहेक महानगरले वडा नम्बर २५ को वडा क्लिनिक रहेको कोठाको १३ हजार, वडा नम्बर ३ को क्लिनिक रहेको कोठाको १९ हजार तिर्ने गरेको छ ।

भूकम्पको चार वर्ष बित्दा पनि महानगरका जनप्रतिनिधिले कार्यालय बनाउन तदारुकता नदेखाएको भन्दै कर्मचारीसमेत निराश छन् । ‘मेयर र उपमेयर आएकै तीन वर्ष हुन लागिसक्यो । यो अवधिमा पनि नबनेको भवन अब कहिले बन्ला ?’ महानगरका एक कर्मचारीले भने, ‘काम गरिरहेका हुन्छौं । मिटिङ भन्छन्, जानै पर्‍यो । जाँदा आउँदा जाममा परिन्छ ।’


महानगरका कार्यालयहरू जेडीए, बागदरबार, ताहचल, समन्वय समिति, कर कार्यालयअगाडि बबरमहल, बिजुलीबजार बाहेक टेकुको वातारण व्यवस्था विभाग र अकुपञ्चर सेवा, जग्गा एकीकरण आयोजना रहेका

ठाउँमा पनि छन् ।


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनताको मर्का बुझेरै बागदरबारमा बनाउन खोजे पनि उजुरी परेर रोकिएको बताए । ‘बागदरबारको बाहिरी स्वरूप उही रहने गरी बनाउन लागेका थियौं । तर, काम गर्न लाग्दा मुद्दा परेकोले अघि बढाउन सकेनौ ।’



कुन कार्यालय कहाँ ?

  • मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, अन्तराष्ट्रिय सम्बन्ध, सार्वजनिक खरिद एकाई, वित्त विभाग, आन्तरिक लेखा परीक्षण
– सुन्धाराको जेडीए कम्प्लेक्स

  • पञ्जीकरण तथा नाता प्रमाणीकरण एकाई, नगर प्रहरी महाशाखा – बागदरबार
  • सामाजिक विकास विभाग, विपद् व्यवस्थापन, सार्वजनिक साझेदारी एकाई, सूचना प्रविधि, महिला बालबालिका महाशाखा, सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखा, कृषि र सम्पदा पर्यटन विभाग
– जिल्ला समन्वय समितिको भवन, बबरमहल

  • सहकारी कार्यालय – बिजुली बजार
  • राजस्व, निर्माण इजाजत, सहरी पूर्वाधार विकास विभाग – बबरमहल
  • जग्गा एकीकरण आयोजना – टेकु
  • शिक्षा विभाग – ताहाचल





प्रकाशित : मंसिर २२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?