लगानी रोक्ने एडीबीको चेतावनी

दीपेन्द्र विष्ट

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले आफूले सहयोग गरेका परियोजनाको काम अघि नबढेको भन्दै थप लगानी नगर्ने चेतावनी दिएको छ । परियोजनामा अलपत्र काम पुन: सञ्चालन हुन नसकेकोमा सरकारसँग असन्तुष्टि जनाउँदै उसले चेतावनी दिएको हो । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत याङ्ग्री र लार्केको सुरुङ निर्माण, राजधानीमा पाइप बिछ्याउने काम र दोस्रो चरणको वाग्मती ब्युटिफिकेसन परियोजनामा ढिलाइ भएकोमा एडीबीको असन्तुष्टि छ । 

लगानी रोक्ने एडीबीको चेतावनी

खानेपानी आयोजनाको पहिलो चरणको सुरुङ र हेडवर्क्सको काम सकिएपछि मात्र राजधानीमा थप पानी ल्याउने नयाँ परियोजना याङ्ग्री र लार्केका लागि सहयोग गर्ने पत्र पठाएको खानेपानी तथा सरसफाइ मन्त्रालयका एक उच्च अधिकारीले बताए । विस्तृत अध्ययन सम्पन्न भएर सुरुङ निर्माणको चरणमा पुगेका याङ्ग्री र लार्केमा स्थानीयसँग मुआब्जा वितरणलगायतमा सहमति नहुँदा काम प्रभावित भइरहेको छ । ‘स्थानीयको अवरोधले काम अघि नबढेपछि एडीबीले थप लगानी नगर्ने चेतावनी दिएको हो,’ ती अधिकारीले भने । उनका अनुसार मेलम्चीको सुरुङ र हेडवर्क्सको काम सुरु भए पनि गोकर्ण–सिनामंगल खण्डको वाग्मती ब्युटिफिकेसनको काम नौ महिनादेखि ठप्प छ । वाग्मती ब्युटिफिकेसनको सिनामंगल–बल्खु खण्डमा लगानी नगर्ने चेतावनी यसअघि नै एडीबीले सहरी विकास मन्त्रालयलाई दिइसकेको छ ।


वाग्मतीको मुहानदेखि बल्खुसम्मको करिडोर निर्माण र दुवैतर्फ बगैंचा बनाउने परियोजनामा एडीबीले करिब १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । बर्सातको पानी संकलनका लागि पोखरी र ढल निर्माण, प्रशोधन केन्द्र बनाउने योजना छ । ‘नौ महिनादेखि काम ठप्प छ, केही दिनभित्रै एडीबीको मिसन टोली परियोजनाको प्रगतिको हेर्न आउँदै छ,’ अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख लीला ढकालले भने, ‘समस्या नसुल्झिएपछि बाँकी काममा लगानी गर्न एडीबी इच्छुक छैन ।’ वाग्मती किनारमा ब्युटिफिकेसन भइरहेको जग्गा आफ्नो भएको दाबी गर्दै स्थानीयले मुआब्जा मागेर आन्दोलन थालेपछि समस्या बल्झिएको हो । पहिलो चरणको काम नै अवरुद्ध भएपछि दोस्रो चरणको काममा लगानी नगर्ने मनस्थितिमा एडीबी रहेको ढकाल बताउँछन् ।


पुसको अन्तिम साता वाग्मती ब्युटिफिकेसनको पहिलो चरणको ठेक्का सम्झौता सकिँदै छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन कम्पनीले २६ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । मेलम्ची आयोजनाको सुरुङ र हेडकवर्क्सको काममा ढिलाइ भएपछि दोस्रो चरणको याङ्ग्री र लार्केको सुरुङ निर्माण अघि बढाउने काम अन्योलमा परेको छ ।


इटालियन परामर्शदाता कम्पनी इप्टिसाले सात महिनाअघि याङ्ग्री र लार्केको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आयोजनालाई बुझाइसकेको छ । ‘डीपीआरबारे विभिन्न अन्तराष्ट्रिय विज्ञसँग छलफल गरेर तयारी अवस्थामा राखेका छौं,’ आयोजनाका एक अधिकारीले कान्तिपुरसँग भने, ‘तर लगानी गर्नेबारे एडीबीले सुनिश्चिता नजनाउँदा झन् अन्योल थपिएको छ ।’ आयोजनाले याङ्ग्री र लार्के क्षेत्रका जनतालाई मुआब्जा वितरण प्रक्रियासमेत अघि बढाइसके पनि लगानीको सुनिश्चिता नभएसम्म केही भन्न नसकिने उनले बताए । सरकारले दोस्रो चरणमा याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी सुरुङमार्फत मेलम्चीमा मिसाएर सुन्दरीजलमा झार्ने योजना छ ।


मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किलोमिटर छ । मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा ल्याएर मिसाइन्छ । मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइने योजना छ ।


साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने केन्द्रको निर्माण सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्र पनि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटरमात्र आपूर्ति हुँदै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।


प्रकाशित : मंसिर २१, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?