२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ङातापोलको जीर्णोद्धार सुरु

भक्तपुर — विश्व सम्पदामा सूचीकृत भक्तपुरको ङातापोल (पाँचतले मन्दिर) को जीर्णोद्धार थालिएको छ । भूकम्पको चार वर्षपछि भक्तपुर नगरपालिकाले मन्दिरको जीर्णोद्धार सुरु गरेको हो । भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुगेको नगरपालिकाका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए । १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि राजा महेन्द्र शाहले ०१९ मा र नगरपालिकाले ०५६ मा जीर्णोद्धार गरेका थिए । 

ङातापोलको जीर्णोद्धार सुरु

भक्तपुर नगरको पाँचौं नगरसभाबाट निर्णय गरी ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार थालिएको हो । नगरपालिकाका अनुसार अघिल्लो वर्ष नै मन्दिर जीर्णोद्धार गर्ने निर्णय भए पनि तौमढी क्षेत्रकै भैरवनाथ मन्दिर संरक्षणका कारण एक वर्ष ढिला भएको हो ।


केशव तमखुको अध्यक्षतामा गठित मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समितिले आउँदो असार मसान्तभित्र सक्ने लक्ष्य राखेको छ । मन्दिरको माथिल्लो तलामात्रै मर्मत गरिने भए पनि खट बाँध्दा बाँकी चारैतलाको छानाको झिँगटी झिक्नुपर्ने भएकाले बढी समय लाग्ने इन्जिनियर श्रेष्ठले बताए । भूकम्पको धक्काले झिँगटी छुट्टिएपछि पानी चुहिने समस्या छ ।


इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार ङातापोल मन्दिर नेपाल संवत् ८२२ मा भूपतीन्द्र मल्लले बनाएका हुन् । १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधिअनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ । मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ आषाढ सुदि १ मा टुप्पोमा गजुर राखेको प्रमाण फेला परेको श्रेष्ठले बताए ।


प्रकाशित : मंसिर १८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?