३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साइकललाई छुट्टै लेन

ललितपुर —  कुपन्डोल–पुल्चोक–जावलाखेल हुँदै लगनखेलसम्म, लगनखेलबाट मंगलबजार र पुल्चोकबाट मंगलबजारसम्म तीनवटा रुटमा साइकल लेन निर्माण हुने भएको छ  । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सडकमा रङ पोतेर शनिबार साइकल लेन निर्माणको सुरुवात गरे  ।

साइकललाई छुट्टै लेन

केही दशकपहिलेसम्म ललितपुर साइकलमैत्री सहर रहेको स्मरण गर्दै मेयर महर्जनले भने, ‘भोटो जात्राको बेला पुल्चोकमा साइकल स्ट्यान्ड राखेका थियौं र एउटा साइकल राखेबापत १० पैसा लिँदा पनि ३५ रुपैयाँ पुगेको थियो ।’ फेरि उपत्यकालाई साइकलमैत्री सडक र सहर बनाउने अभियानको थालनी गरिएको उनले बताए । ‘काठमाडौं महानगरपालिकाले बूढानीलकण्ठसम्म र बूढानीलकण्ठ नगरपालिकाले शिवपुरीसम्म पुर्‍याओस्,’ उनले भने, ‘गोदावरी नगरपालिकासँग कुरा गर्दै छौं । गोदावरीले बोटानिकल गार्डेनसम्म पुर्‍यायो भने शिवपुरीदेखि गोदावरीपार्कसम्म मज्जाको साइकल लेन बन्छ ।’ साइकल लेनले शिवपुरी र फुलचोकीसमेत जोड्न चाहेको उनको भनाइ थियो ।

अहिले महानगरले पाटन दरबार क्षेत्रलाई केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन साइकल लेन बनाउने योजना बनाएको छ । ‘सडकको दायाँ र बायाँ दुवैतर्फ १ दशमलव २ मिटर चौडाइको लेन निर्माण गरिनेछ,’ महानगरका इन्जिनियर रामरतन शाहले भने, ‘उक्त लेन साइकलको हो भनी चिनाउन साइकलको चित्र, ट्राफिक चिह्नहरू पनि बनाइन्छ ।’ अहिले उक्त साइकल रुटको करिब पाँच किलोमिटर सडकमा साइकल लेन निर्माण गरिने उनले बताए ।

ललितपुर पहिलो साइकलमैत्री सहर बन्ने नेपाल साइकल सोसाइटीले दाबी गरेको छ । ‘माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन पहिले नै बने पनि त्यो प्रयोगमा आएन र मापदण्डअनुसार पनि छैन,’ सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले भने । कुपन्डोल पुलदेखि कानदेवता चोकसम्म दुवैतिर लेन छुट्याइसकेको र लेनमा साइकलका चित्रसमेत राखिएको उनले बताए ।

महानगरपालिकाले गत वर्ष ५० लाख रुपैयाँ छुट्याएको थियो । सोही बजेटमा अहिले काम भइरहेको छ । यस वर्ष पनि ५० लाख छुट्याएको छ । गत भदौमा रमित कन्स्ट्रक्सन प्रालिसँग चैतसम्म पहिलो खण्डको काम सकाउने गरी महानगरले सम्झौता गरेको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?