गेस्टहाउस सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घूस दिन खोजेको अभियोगमा काठमाडौं, टोखा नगरपालिकास्थित ‘आगमन फुडल्यान्ड एन्ड गेस्टहाउस’ की सञ्चालक सोममाया राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार गेस्टहाउस जाँच नगरिदिन आग्रह गर्दै प्रहरी टोलीलाई घूस दिन खोजेकी राई ५० हजार रुपैयाँसहित पक्राउ परेकी थिइन् । राईले घूस दिन खोजेको पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा डेढ महिना जेल सजाय र घूस दिन खोजेको रकम जफत गर्न मागदाबी गरेको छ ।

यसैगरी अख्तियारले सिन्धुलीको साविक जलकन्या गाउँ विकास समितिका तत्कालीन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले साविक जलकन्या गाविसका तत्कालीन प्राविधिक सहायक वीरेन्द्रकुमार दोवकोटाका नाममा तीन महिनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई ५८ हजार ३ सय २९ रुपैयाँ अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका-५ कालागाउँमा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन् । विजयी भएका बुढाथोकीले ७ सय ९२ मत ल्याएका छन् । बुढाथोकीका प्रतिद्वन्द्वी कांग्रेसका खडकबहादुर बस्नेतले २ सय ९१ र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

१ हजार ८ सय ३९ मतदाता रहेको कुमाख गाउँपालिका-५ को वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६१.१२ प्रतिशत मत खसेको थियो। संख्यात्मक रुपमा १ हजार १ सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका एक कर्मचारी राम कुमार खत्रीले बताएका छन। १ हजार १ सय २४ मध्ये पुरुष ५ सय २४ र महिला ६ सय रहेको उनले जानकारी गराएका छन्।

कुमाख गाउँपालिका-५ मा विजयी भएका वडा अध्यक्ष हरिप्रसाद बुढाथोकी जिल्ला समन्वय समितिको उपाध्यक्षमा विजयी भएर आएपछि वडाध्यक्ष पद खाली रहेकाले उप निर्वाचन गरिएको निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी गराए। उपनिर्वाचनमा नेकपाबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खडकबहादुर बोहरा र राप्रपाबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए।

प्रकाशित : मंसिर १४, २०७६ २०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×