साग उद्‌घाटन भोलि : बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइने

नारायण ढुंगाना/रासस

काठमाडौँ — तपाईंको गाडी नम्बर जोर की विजोर ? यदि जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । 

ZenTravel


केही खेल सुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ। 'खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर/बिजोर प्रणाली लागू गरिएको हो, आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने। समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ।

Meroghar


सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन। जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ। सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ। सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएको छ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो। झण्डै दुई दशकपछि नेपालले तेस्रो पटक साग आयोजना गर्ने अवसर पाएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० को सङ्घारमा आयोजना भएको सागले विश्वमै नेपालको प्रचार हुने भएकाले पनि शान्ति सुरक्षा अझै विशेष छ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको सुरक्षा समन्वय समितिले सुरक्षाकर्मी परिचालन गरेको छ। जनकपुरमा प्रदेश २ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन्। ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ।

खेलाडीलाई आवासस्थानदेखि खेलस्थलसम्म जान आउनका लागि प्रहरीले स्कटिङको व्यवस्था गरेको छ। दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। प्रहरीले विमानस्थल प्रवेशद्वारदेखि नै खेलाडी र विशिष्ट पाहुनाको विशेष सुरक्षा निगरानी गरेको छ भने आवागमनका लागि सुरक्षा सहजीकरण गरिरहेको छ।

प्रहरी महानिरीक्षक खनालले सुरक्षामा कुनै सम्झौता नगरी जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी र नेपाली सेनालेसमेत आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ। राष्ट्रिय अनुसन्धानले सुक्ष्म रुपमा परिस्थितिको अनुसन्धान र विश्लेषण गर्ने गरी सुरक्षा समन्वय गरिएको छ।
आवश्यक मात्रामा सादा पोशाकमा प्रहरी परिचालन भएको र थप सुरक्षा बलसमेत तयारी अवस्थामा राखिएको छ। सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ। यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ। खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ। सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन्। नेपालले सबै खेलमा सहभागिता जनाउने छ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन्। सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ। साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी पुरिएको छ। खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ। सडकका विभिन्न क्षेत्रमा सागसँग सम्बन्धित तुल र ब्यानर राखिएको छ। सागको मस्कट कृष्णसारको आकृतिमा छ।

प्रकाशित : मंसिर १४, २०७६ २०:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

रासस

काठमाडौँ — प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनमा ६५ दशमलव ४३  प्रतिशत मत खसेको छ । उपनिर्वाचनमा दुई लाख ९७ हजार एकसय ३७ जनाले  मतदान गरेको हुँदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले साँझ भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

शान्तिपूर्ण भएको मतदानमा छिटफुट घटनाबाहेक मतदाताको उत्साहजनक सहभागिता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य बिस्फोटका घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सँखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनेछन् ।

मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत सुरु भएको छ । वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आँकलन गरेको छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पुर्‍याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×