कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेलम्ची खानेपानी आयोजना : सिनोले थाल्यो सुरुङ र हेडवर्क्सको काम

अस्थायी बाँध निर्माण गरेर भए पनि एक वर्षभित्र सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीको प्रतिबद्धता
दीपेन्द्र विष्ट

काठमाडौँ — इटालीयन कम्पनी सीएमसीले एकतर्फी रूपमा ठेक्का तोडेको घोषणा गरेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम करिब एक वर्षपछि पुन: सुरु भएको छ । नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवर्क्स निर्माण गरिरहेको हो । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले १५ महिनाभित्र सम्पन्न हुने गरी काम अघि बढेको जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना : सिनोले थाल्यो सुरुङ र हेडवर्क्सको काम

‘ठेकेदार र आयोजनाका कर्मचारी चौबीसै घन्टा निर्माणस्थलमा खटिएका छन्,’ उनले भने, ‘सुरुङ १२ महिनाभित्र र हेडवर्क्सको काम १५ महिनाभित्र सकिन्छ ।’


सीएससीले गत वर्ष पुसमा ठेक्का सम्झौता तोडेपछि सरकारले फास्ट ट्र्याकबाट काम अघि बढाउने निर्णय गरेको थियो । ठेक्का सम्झौताअनुसार सिनो हाइड्रोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाखमा हेडवर्क्स निर्माण गर्नेछ ।


२६ किमि सुरुङ खन्ने काम सकिएको छ भने त्यसमध्येको ५ किलोमिटरमा आरसीसी ढलान हुँदै छ ।


गत असोजमा सिनो र आयोजनाबीच सम्झौता भएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयले करिब ९३ प्रतिशत काम सकिएको दाबी गरे पनि ससाना काम धेरै बाँंकी छन् । टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण अघि बढिसकेको खत्रीले बताए  । डाइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माण हुन बाँकी छ । अम्बानथानमा हेडवर्क्स जोड्ने पक्की पुलसमेत बनेको छैन । अस्थायी बाँध निर्माण गरेर भए पनि १२ महिनाभित्र सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।


खत्रीका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र ९ वटा पानीपोखरी निर्माण भइसकेका छन् । ‘समानान्तर हिसाबले घरघरमा पानी पुर्‍याउँछौं,’ उनले भने, ‘त्यही किसिमले प्रत्येक संरचना निर्माण भइरहेका छन् ।’ पाइप परीक्षणलगायत सरसफाइ काम पनि भइरहेको उनले बताए । सुन्दरीजलमा साढे ८ करोड लिटर क्षमताको पानीपोखरी पनि निर्माण भइसकेको भने यहीँ अर्को पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले जनाकारी गराए ।

मेलम्चीबाट आउने खानेपानी वितरणका लागि ७० हजारभन्दा बढी धारा जडान भइसकेका छन् । ‘थोरै धारा निर्माण गरिसक्न बाँकी छ, ती पनि निर्माणको चरणमा छन्,’ आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘सुन्दरीजलमा पानी आइपुग्नेबित्तिकै खास समस्या छैन, पाइप र धाराको परीक्षण भइरहेको छ ।’ केही दिनअघि अनामनगर क्षेत्रको ५ सय ९० भन्दा बढी घरधुरीमा धाराको परीक्षण गरिएको खानेपानी आयोजना निर्देशनालयका प्रमुख भोजविक्रम थापाले जानकारी दिए ।


राष्ट्रिय गौरवअन्तर्गतको मेलम्ची खानेपानी आयोजनामा हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । दोस्रो चरणको याङ्ग्री र लार्केको मुआब्जा वितरणको काम भइरहेको छ । याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी मेलम्चीमा थपिनेछ । त्यसपछि मेलम्ची, याङ्ग्री र लार्केबाट ल्याइने ५१ करोड लिटर पानी दैनिक उपत्यकामा वितरण गरिनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा ०५८ सालमा उक्त आयोजना सुरु भएको हो । ०६५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भनिए पनि समय सीमाभित्र काम सम्पन्न नहुँदा आयोजनाको लागत ४२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?