यूएन पार्कछेउ चिल्ड्रेन पार्क

(ललितपुर) — कुपन्डोलनजिक यूएन पार्कछेउको एकतले भवन । ललितपुर खेलकुद प्रशिक्षण केन्द्र । त्यहीँनेर छ, पुरानो स्वरूपको खरको छाना भएको घर । जहाँ ढिक्की, जाँतोजस्ता परम्परागत साधन राखिएका छन् । घरको भित्तामा झ्यालबाट चियाइरहेका दुई बालबालिकाको चित्र छ । वरपर बस्नका लागि काठका मुढा छन् भने सौन्दर्यका लागि फूल । यी संरचना यूएन पार्क समितिले पहिल्यै निर्माण गरेको हो । 

केन्द्रले भने ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा बालबालिकाका लागि प्रशिक्षण केन्द्रदेखि पार्क, खेलमैदान र ज्येष्ठ नागरिकका लागि विश्रामस्थल समेत निर्माण गर्दै छ । यूएन पार्कसँगै जोडिएको ज्वागलस्थित ६ रोपनी ३ आना जग्गामा खेलमैदान र प्रशिक्षण केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको छ । जहाँ ५० जना अटाउने क्षमता छ ।


एक करोड रुपैयाँको लागतमा चिल्ड्रेन पार्क, खेलमैदान, प्रशिक्षण केन्द्रको भवन, ज्येष्ठ नागरिक विश्रामस्थल र राजतीर्थ घाट व्यवस्थितसँगै मन्दिर पनि निर्माण गर्ने राजतीर्थ उपभोक्ता समितिका अध्यक्ष सिद्धि व्यञ्जनकारले बताए । खेलकुद मैदानमा बिहान–बेलुका बालबालिकालाई तालिम दिन थालिएको छ । ‘अब चिल्ड्रेन पार्कमा बच्चाहरूका लागि पिङ, चिप्लेटी राख्न बाँकी छ,’ उनले भने, ‘लगभग ७० प्रतिशत काम सम्पन्न भइसक्यो । फिटनेस सेन्टरसमेत राख्ने योजना छ ।’ ०७२ सालको भूकम्पबाट विचलित बालबालिकालाई खेलको माध्यमबाट जागरुक बनाउन केन्द्रको स्थापना भएको हो ।


व्यञ्जनकार एन्फाका पूर्वप्रशिक्षक पनि हुन् । अहिले बिहान/बेलुका ६० जना बालबालिकालाई उनी अभ्यास गराइरहेका छन् । पार्क सम्पन्न भएपछि स्थानीयदेखि बटुवासम्मलाई बस्न र शान्त ठाउँमा समय व्यतित गर्न सकिने महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिङ व्यञ्जनकारले बताए । ‘अहिलेका बच्चाहरूले छिमेकीका बच्चासमेत चिन्दैनन्,’ उनले भने, ‘पार्क बनेपछि बच्चादेखि वृद्धलाई समेत सजिलो हुन्छ ।’

प्रकाशित : मंसिर १४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?