१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ललितपुरको प्युटारमा अस्पताल बन्दै

प्रशान्त माली

(ललितपुर) — दमको बिरामले थलिएपछि मकवानपुर बेतिनीकी ५५ वर्षीया माइली थिङ दुई दिन लगाएर ललितपुरको लेले टीकाभैरवस्थित आनन्दवन अस्पताल आइपुगिन् । अस्पतालसम्म आइपुग्न उनले एक रात गिम्दीमा बास बस्नुपरेको थियो । ललितपुरकै प्युटार सिम्लेका ५५ वर्षीय रामबहादुर तामाङ तीन घन्टा हिँडेपछि बल्ल सवारीसाधन चढ्न पाए । त्यसपछि मात्रै उपचार गर्न अस्पताल आए । गिम्दीका ५५ वर्षीय रामप्रसाद तामाङ पनि घन्टौं हिँडेर उपचार गराउन आएका हुन् । उनीहरू जस्तै ललितपुरको दक्षिणी दुर्गम भेगका बासिन्दाले उपचारका लागि अस्पताल पुग्न ठूलो कष्ट झेलिइरहनुपरेको छ ।

ललितपुरको प्युटारमा अस्पताल बन्दै

अहिले वाग्मती गाउँपालिकाले प्युटारमा ५ शय्याको अस्पताल बनाउन थालेपछि भने उनीहरूजस्ता दक्षिणी भेगका बासिन्दा गाउँमै उपचार पाउनेमा आशावादी बनेका छन् । अस्पताल भवन बनाउन सांसद चेतनाथ सञ्जेलको पहलमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट गत वर्ष एक करोड ६० लाख र चालू आर्थिक वर्षमा २ करोड गरी ३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।


अस्पताल भवन निर्माणका लागि पिल्लर उठाउन डन्डी बिछ्याउने काम भइरहेको छ । केही दिनमै पहिलो तलाको ढलान गरिने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । ‘दक्षिणका दैनिक दुई/तीनजना बिरामी उपचारका लागि सहर पुग्ने गरेका छन्, अब यो झन्झटबाट गाउँलेले चाँडै मुक्ति पाउनेछन्,’ उनले भने, ‘स्थानीय तहमा एक हजार पाँच सय शय्यासम्मको अस्पताल बनाउने नीति छ,’ उनले भने, ‘अति विकट माझखण्ड गाउँमा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत् सेवा दिइरहेका छौं ।’ अस्पतालको सुविधा पाँच शय्याबाट क्रमश: बढाउँदै लैजाने योजना रहेको उनले बताए ।


बिरामीको चापले गर्दा स्वास्थ्य चौकीहरूलाई सेवा दिन भ्याईनभ्याई छ । अस्पताल सञ्चालनमा नआएसम्म भट्टेडाँडामा डाक्टर झिकाएर गरेर उपचार गराउँदै आएको लोप्चनले बताए । ‘अस्पताल सञ्चालनमा आएपछि सहरमा बसाइँसराइ गरेर उपचार गराइरहेका समेत फर्केर आउने विश्वास छ,’ उनले भने, ‘चारवटा बर्थिङ सेन्टरसमेत यहाँ सञ्चालन हुनेछ ।’


गाउँपालिकाका अनुसार अस्पताल भवन ज्ञानज्योति कन्ट्रक्सनले ०७७ जेठभित्रमा निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित २ करोड १ लाख रुपैयाँमा ०७६ भदौ ९ मा ठेक्का पाएको थियो । अस्पतालमा इमर्जेन्सी सेवासहित २४ घन्टै सञ्चालनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले बताए । अस्पतालमा वरिष्ठ डाक्टरसहित एकएक जना नासु, लेखापाल, सहायक कम्प्युटर अधिकृत र दुई/दुईजना मेडिकल अधिकृत, अनमी, अहेब र हेल्थ असिस्टेन्ट गरी १२ जना कर्मचारीको दरबन्दी राख्ने योजनामा रहेको आर्चायले बताए ।


अस्पताल समयमै बनेका ललितपुरको आश्राङ, गिम्दी, प्युटार, ठूलादुर्लुङ क्षेत्रबाहेक मकवानपुरको थिङगिन, मन्थलीवासीले पनि सेवा पाउनेछन् । प्युटार लगनखेलबाट ४५ किमि दक्षिणमा पर्छ ।


मानिखेल सञ्चालनमा आएन

ललितपुरको दक्षिणी भेग मानिखेलमा अस्पताल भवन निर्माण सम्पन्न भएको ६ वर्ष बिते पनि सञ्चालनमा आउन सकेको छैन । ४ करोड ६ लाख रुपैयाँ लगानीमा बनेको अस्पताल स्वास्थ्य मन्त्रालयले चिकित्सक लगायत कर्मचारीको दरबन्दी नदिँदा सञ्चालन हुन नसकेको हो । अस्पतालमा रगत, खकार, ईसीजी, दिसा–पिसाब जाँच्ने प्रयोगशालासहित एक्स–रेलगायतका उपकरण जडान भइसकेका छन् ।


उपकरण सञ्चालनमा आउन नसक्दा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बुद्धबहादुर नेगीले बताए । ‘स्वास्थ्य मन्त्रालयमा पटकपटक बजेट र दरबन्दीका लागि पत्र पठायौं, तर बेवास्ता गरियो,’ अध्यक्ष नेगीले भने, ‘अस्पताल सञ्चालनमा ल्याउन सके आकस्मिक र दुर्घटनामा परेका बिरामीले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’


प्रकाशित : मंसिर १४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?