१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भक्तपुर अस्पताल : करार र छात्रवृत्तिको भरमा

अस्पतालमा कार्यरत दरबन्दीका चिकित्सकहरु समायोजनमा परेर संघ, प्रदेश र स्थानीय तहमा गएपछि नाक, कान, घाँटी रोगको ओपीडी सेवा दुई महिनादेखि बन्द छ, अन्य सेवा बन्द हुने अवस्थामा छन् । 
लीला श्रेष्ठ

(भक्तपुर) — चिकित्सक नहुँदा भक्तपुर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अन्य सेवा बन्द हुने अवस्थामा छन् । 

भक्तपुर अस्पताल : करार र छात्रवृत्तिको भरमा

दैनिक ६ सय जनाभन्दा बढी बिरामी आउने ७५ शय्याको अस्पताल करार र सरकारी छात्रवृत्तिमा पढेकासहित ७ जना डाक्टरको भरमा चलिरहेको छ । दरबन्दीका १० मध्ये अहिले एक जना मात्रै विशेषज्ञ चिकित्सक (गाइनोकोलोजिस्ट) छन् । समयोजनक्रममा चिकित्सकहरू संघ, प्रदेश र स्थानीय तहमा गएपछि अस्पताल रित्तै भएको हो ।


अस्पताल प्रशासनका अनुसार नाक, कान घाँटीको ओपीडी सेवा बन्द भएको दुई महिना भइसकेको छ । अन्य रोगको ओपीडी करार र सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकको भरमा चलाउने गरेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.करुणा बज्राचार्यले बताइन् ।


मेडिकल सुपरिन्टेन्डेन्ट एघारौं तहको हुनुपर्नेमा आठौं तहकी मेडिकल अफिसर बज्राचार्यले निमित्त चलाइरहेकी छन् । यसअघिका प्रमुख मेडिकल सुपरिटेन्डेन डा.सुधा देवकोटाको साउन २ गते सरुवा भएपछि निमित्तका रूपमा डा.रविभूषण सुवाल आए । दुई महिना नबित्दै उनी वीर अस्पतालमा समायोजन भएपछि बज्राचार्यले निमित्त पाएकी हुन् ।


मेडिकल सुपरिन्टेन्डेन्टका अलावा अस्पतालमा नवौं र दसौं तहका १० कन्सल्टेन्ट डाक्टरको दरबन्दी छ । प्याथोलोजिस्ट डा.लिसा गौचन ट्रमा सेन्टरमा, अर्थोपेडिक सर्जन डा.सुदीप खनाल वीर अस्पतालमा, एनेस्थेसियोलोजिस्ट डा.सरिता श्रेष्ठ (केसी) वीर अस्पतालमा, बालरोग विशेषज्ञ डा.शान्ति श्रेष्ठ प्रसूतिगृह थापाथलीमा, रेडियोलोजिस्ट डा.हरि ओम जोशी कान्ति बाल अस्पतालमा र छालारोग विशेषज्ञ डा.उमा गिरी घिमिरे वीर अस्पतालमा सरुवा भएपछि भक्तपुर अस्पताल विशेष चिकित्सकविहीन भएको हो । गाइनोकोलोजिस्ट डा.अतित पौडेलको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएपछि उनको ठाउँमा डा.सुमित्रा गौतम आएकी छन् । प्रदेश ३ सरकारमातहत रहेको यो अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा सेवाप्रवाहमा समस्या आएको बज्राचार्यले बताइन् । ‘कर्मचारी र चिकित्सक समायोजनमा गएपछि अस्पताल लगभग रित्तिएको छ,’ उनले भनिन् ।


अस्पतालमा आठ जना मेडिकल अफिसरको दरबन्दी भएकोमा ६ जना कार्यरत छन् । तीमध्ये चार जनाको संघमा समायोजन भइसकेको छ । उनीहरू जतिबेला पनि दरबन्दी भएको अस्पतालमा जान सक्छन् । दुई जना अध्ययन बिदामा छन् । अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अफिसर मात्रै होइन, नर्ससमेत अभाव छ । दरबन्दीका १९ स्टाफ नर्समध्ये १२ जना कार्यरत छन् ।


अस्पताल विकास समितिले अर्थोपेडिक सर्जन डा.मधु पाण्डे, गाइनोकोलोजिस्ट डा.रञ्जना यादव र रेडियोलोजिस्ट डा.अविनाश कस्यपलाई नियुक्त गरेको छ । छात्रावृत्ति करारमा सर्जन डा.रन्जीस पहारी र फिजिसियन डा.देवेन्द्र भट्टराई छन् । प्रदेश ३ सरकारले करारमा एनेस्थेसियोलोजिस्ट डा.निर्मला श्रेष्ठ र यौन तथा छाला रोग विशेषज्ञ डा.रोसिना पौडेललाई नियुक्त गरेको छ । ‘समितिको आयस्रोत छैन,’ अध्यक्ष मिलन सुवालले भने, ‘कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत गाह्रो छ ।’ चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराए पनि पदस्थापना नपठाउँदा समस्या भएको उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?