कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राविधिक छिरेनन्, भण्डारीद्वारा अवलोकन

दामोदर न्यौपाने

काठमाडौँ — भूकम्पले पशुपतिनाथ मन्दिरमा ठूलो क्षति नपुर्‍याए पनि धेरैको चिन्ता थियो, भित्रभित्रै जोखिम त छैन ? तर, जोखिम पत्ता लगाउने कसरी ? प्राविधिकलाई भित्र छिर्ने अनुमति छैन । भण्डारीेलाई प्राविधिक ज्ञान छैन ।

प्राविधिक छिरेनन्, भण्डारीद्वारा अवलोकन

यही अन्योलबीच पुरातत्त्व विभागले जुक्ति निकाल्यो– भण्डारी र बिसेट (कर्मचारी) लाई तालिम दिने र भित्र पठाउने । सोही योजनाअनुसार आइतबार मन्दिरको भित्री भागको अवलोकन गराइएको छ । मन्दिरको एउटा टुँडालबाट पानी चुहिन थालेपछि विभागले अवस्था बुझ्न चाहिरहेको थियो । पहिलो चरणमा यो पूरा भएको छ ।


मन्दिरको माथिल्लो भागमा रहेको मुख्य ढुकुटी बालाचतुर्दशीको अघिल्लो दिन मात्र खुल्छ । त्यही अवसर छोपेर यहाँको प्राविधिक अध्ययन गर्न भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारी, मूल भण्डारी कवीन्द्र भण्डारीसहित १० भण्डारी र बिसेट नाइके अरुण श्रेष्ठसहित तीनजना बिसेट टोली मन्दिरको माथिल्लो तला प्रवेश गरेका थिए । ‘बाहिर हेर्दा मन्दिरको अवस्था राम्रो देखिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘भित्र के छ, थाहा थिएन । आज छिरियो । यो ऐतिहासिक काम हो ।’


मन्दिरभित्र तीन तह छन् । पहिलो तहमा गर्भगृह छ । गर्भगृहभन्दा बाहिरको भागबाट घुम्न मिल्छ । गर्भगृहभित्र ढुकुटी छ । गर्भगृहभन्दा बाहिर ‘टिकी झ्या’ भएको क्षेत्र छ । यसको वरिपरि पनि घुम्न मिल्छ । टोलीले यही गर्भगृहबाहिर र टिकी झ्या वरिपरि घुमेर मन्दिरको अवस्था बुझेको हो । ‘प्रारम्भिक रूपमा हेर्दा पहिलो तलामा खासै क्षति पुगेको देखिएन,’ अध्यक्ष भण्डारीले भने, ‘तीनवटा इँटा चर्केको रहेछ । एक ठाउँमा काठ मक्किएको देखियो । बज्रले जडान गरेको गारो पनि बलियै छ ।’


मन्दिरमा केही वर्षदेखि भित्री काठ कुहिँदै गएको शंका भएपछि सामान्य प्राविधिक ज्ञान दिएर टोलीलाई भित्र पठाइएको पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले बताए । ‘काठ कुहिएको/नकुहिएको, इँटा चर्किएको/नचर्किएको र गारोको अवस्थाबारे प्राविधिक ज्ञान दिएका थियौं,’ घिमिरेले भने, ‘काठ कुहिएको देखिए पनि ह्याम्मरले हिर्काएपछि मात्र थाहा हुन्छ भनेर सिकायौं । समग्रमा अवस्था बुझ्न भने अझै अध्ययन गर्नुपर्छ ।’


पशुपति क्षेत्र विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरि ढुंगानाका अनुसार टोलीलाई पाँच दिनको तालिम दिइएको थियो । ‘बालाचतुर्दशीको बेला मात्र खुल्ने मुख्य भण्डारको अध्ययन भयो । भण्डारबाहेक अरू क्षेत्रमा भण्डारी र बिसेट अघिपछि पनि जान मिल्छ । त्यो क्षेत्रमा फेरि पनि प्राविधिकसँग सल्लाह गरेर अध्ययन गर्छौं,’ उनले भने, ‘माघसम्ममा यसको अवस्थाबारे अन्तिम प्रतिवेदन तयार हुनेछ ।’ मन्दिरको मूर्ति भएका ठाउँमा चारजना भट्टमात्र जान पाउँछन् । मन्दिरका पुजारीसमेत मन्दिरका सबै ठाउँमा जान पाउँदैनन् । माथिल्लो तलास्थित ढुकुटीमा भने भण्डारी र बिसेट जान पाउँछन् तर गहना तलमाथि नहोऊन् भनेर लगौटी/धोती लगाएर मात्रै ।


चाँदीले मोरिएको तोरणमा किला ठोक्दा नठोकिने समस्या देखिएपछि कोषले भित्रका काठ मक्किएको अनुमान गरेको थियो । ‘किला नठोकिएको देख्दा चाँदीभित्रका काठ कुहिए कि भन्ने थियो,’ ढुंगाना भन्छन्, ‘तर हचुवामा न मर्मत गर्न मिल्यो, न जीर्णोद्धार नै गर्न पाइयो ।’ चाँदीले मोरिएका खापाबारे पुसमा अध्ययन हुने उनको भनाइ छ ।


पशुपतिनाथ गर्भगृह भएको मन्दिर हो । गर्भगृह भएको मन्दिरमा गोप्य तान्त्रिक पूजा हुन्छ । तान्त्रिक पूजा हुने मन्दिरमा सबैलाई प्रवेश दिइँदैन । परापूर्वकालदेखि नै यहाँ गैरहिन्दु, केही जात विशेषलाई समेत प्रवेशमा बन्देज छ । हिन्दुहरू पनि गर्भगृहको पश्चिम ढोकाबाट दर्शन गर्न पाउँदैनन् ।


प्रकाशित : मंसिर ९, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?