१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोप हुँदै ढुंगेधारा

दामोदर न्यौपाने

काठमाडौँ — दरबारमार्गबाट कमलपोखरीतिर लाग्ने सडकको देब्रेतिर पर्छ, तीनधारा । ऐतिहासिक यो ढुंगेधारा अहिले नाम मात्रको छ । तीनवटै धारामा पानी आउँदैनन् । एउटा सग्लो देखिए पनि बाँकी टुटफुट भइसकेका छन् । धाराबाट पानी नझरेको २० वर्ष नाघ्यो । पानी खस्ने ठाउँमा वरिपरिका घरबाट बगेको फोहोर पानी आएर बग्छ । 

लोप हुँदै ढुंगेधारा

ढुंगेधाराको यो अवस्था देखेर संरक्षण गर्न अभियन्ताले पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका लगायत निकाय धाए । ‘यसलाई जोगाउन सकिन्थ्यो,’ अभियन्ता यादवलाल कायस्थ भन्छन्, ‘जति धाउँदा पनि कुनै निकायले वास्ता गरेनन् ।’


पुरिएको अवस्थामा थियो धारो । अभियन्ता जम्मा भएर पुरिएको ठाउँ खने । अहिले सफा पनि गरेका छन् । काठमाडौं ठहिटीका सुविन मानन्धर, पाटनका सुदर्शन महर्जन, इन्दु ज्यापुनी, यंगाका नुरज बज्राचार्य, नक्सालका कर्मवीर बस्नेत, डल्लुका सुरेश डंगोल र नघलका यादवलाल कायस्थको समूह यहाँको मात्र नभई ठाउँठाउँका ढुंगेधारा खोज्दै हिँडेको थियो । त्यही क्रममा यहाँ पनि पुरिएको अवस्थामा धारा भेटिएको कायस्थले बताए ।


पुरातत्त्व विभागको ‘इन्भेन्ट्री’ अनुसार धारो १४औं शताब्दीको हो । विभागका अनुसार यसका निर्माता लक्ष्मी नारायण हुन् । धारा फुटेर टुक्राटुक्रा भएको छ । यहाँ बानेश्वर महादेवको मन्दिर छ । मन्दिरअगाडि मन्दिर बनाउने दाताको सालिक पनि राखिएका छन् । त्यहाँ शिलापत्र पनि छन् । ‘सालिक वरिपरि ढुंगेधाराका टुक्रा छन्, यी टुक्रा हराए भने के गर्ने ?’ कायस्थ भन्छन्, ‘यसका पार्टपुर्जा हरायो भने मर्मत गर्न सकिँदैन । सम्बन्धित निकाय नै संवदेनशील नभइदिएपछि के गर्नु ?’ बानेश्वर मन्दिरको पूर्वतिर राममन्दिर थियो ।


त्यो पनि भत्किएको छ । भत्किएको मन्दिरको चौकोस पनि बानेश्वर मन्दिरकै छेउमा अलपत्र अवस्थामा राखिएका छन् । मन्दिरमा भएको रामको मूर्तिसमेत चोरिएको ३० वर्षदेखि यहाँको सत्तलमा बस्दै आएका धादिङका फलप्रसाद तिमल्सिनाले बताए । ‘म भजन सञ्चालन गर्न यहाँ बसेको छु,’ उनी भन्छन्, ‘मैले यहीँको पानी खाएको हुँ, नुहाएको हुँ । पहिला व्यवस्थित थियो ।’ तिमल्सिना यहाँ आउँदा पानी ठूलो थियो । विस्तारै वरिपरि घर बन्दै गए । इनार खन्न थालियो । सबैभन्दा बढी असर उत्तरतिरको शेर्पा मलले डिप बोरिङले गरिदियो । त्यसपछि पानीका स्रोत सुक्न थाले । ‘पानीको सानो मुल त अहिले पनि छ,’ तिमल्सिना भन्छन्, ‘यसलाई व्यवस्थित गर्ने हो भने धारामा पानी ल्याउन सकिन्छ ।’


राजधानीका अधिकांश ढुंगेधाराको अवस्था यस्तै छ । कोही ठाउँमा पुरिएका छन् । कोही ठाउँमा घरभित्र परेका छन् । कतै ढुंगेधारा मासेर घरसमेत

बनाइएको छ ।


दुई दशकयता धारा सुक्ने क्रम तीव्र देखिन्छ । पर्यटकको केन्द्रसमेत रहेको वसन्तपुरको मरुहिटीमा रहेको पाँचवटा धारामध्ये तीनवटामा पानी सुकेको छ । पाटन दरबारसँगै जोडिएको मंगहिटी पनि सुक्दै गएको छ । पहिला सधैं पानी पाउने यो धारा अचेल हिउँदमा सानो हुन्छ । ‘म यही धाराको पानी खाँदै आएको छु,’ पाल्पाका गोविन्द न्यौपाने भन्छन्, ‘हेर्दाहेर्दै यो धारो सुक्दै गएको छ ।’


उपत्यकाका धेरै ढुंगेधारा लोप भएका छन् । केही लोप हुने क्रममा छन् । ललितपुर महानगरपालिकामा मात्रै ६० वटा ढुंगेधारामध्ये ७ वटा लोप भइसके । १२ वटा सुकिसकेका छन् । चालु रहेका ४२ वटामा पनि सधैं पानी आउँदैन । भएका धारामा पनि कोहीमा नियमित आउँदैन । पानी आए पनि निकासमा समस्या छ । छबहालका तीनवटा धारामध्ये एउटामा पानी आउँछ तर निकास नभएकाले त्यहीँ जमेर पोखरी बनेको छ । धारोसमेत डुबेकाले पानी भर्न सकिँदैन । निकास थुनिएर बनेको पोखरीमा बालबालिका पौडी खेलिरहेका देखिन्छन् ।


दरबारमार्गस्थित तीनधारा । १४औं शताब्दीको यो धाराबाट पानी आउन छाडेको छ । धारा विभिन्न भाग फुटेर टुक्राटुक्रा भएका छन् । तस्बिर ः दामोदर/कान्तिपुर


भक्तपुरमा चालू अवस्थामा ३७ वटा धाराको हालत पनि ललितपुरको जस्तै छ । काठमाडौंमा महानगरभित्र १ सय ६५ धारा छन् । त्यसमध्ये ९६ वटा प्राकृतिक अवस्थामा सञ्चालित छन् । दुईवटा पाइपबाट पानी ल्याएर चलाइएका छन् । ३४ वटा सुकिसकेका छन् । ३३ वटाचाहिँ लोप भइसके ।


पुरातत्त्व विभागले ०३७ सालयता धाराको लगत संकलन गरेको छैन । त्यतिबेलाको लगतमा एक सय २० धारा भेटिन्छन् । महानगरले खोज्दा यो संख्या अझ बढेको थियो । ०३७ सालयता पुरातत्त्वले धाराको अवस्था कस्तो छ भनेर खोजी गरेको छैन ।


ढुंगेधाराका लागि आफूहरूले तत्काल केही काम गर्न नसकेको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने । उनको भनाइमा ढुंगेधाराका लागि कार्यक्रम नै छैन । विभागका कामु महानिर्देशक दामोदर गौतम सम्पदा संरक्षणमा स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘हामीले देख्ने ठाउँमा त गर्छौं,’ गौतम भन्छन्, ‘तर सबै ठाउँमा विभाग पुग्न सक्दैन । संविधानले सम्पदा संरक्षणको जिम्मा स्थानीय सरकारलाई पनि दिएको छ ।’ धारा सुक्न थालेपछि वर्षौंदेखि यसैमा भर पर्नेलाई समस्या भएको छ । यसको जीर्णोद्धार र मर्मतमा ध्यान दिइएको छैन । मोहनकाली चोकको ढुंगेधारामा पानी सुकेको छ । यहाँ कहिले पानी सुक्यो भन्ने कसैलाई पत्तो छैन । ०३८ सालमा हनुमानढोका दरबारका कर्मचारी भएर छिरेका सिन्धुपाल्चोक कालिकाका चन्द्रप्रसाद पराजुलीले देख्दा मोहनकाली चोकको सुन्धारामा पानी आउँदैनथ्यो । प्रताप मल्लको पालामा बनेको यो धारामा सर्वसाधारणलाई जाने अनुमति थिएन । मल्ल राजाहरूको निधन भएमा यही धाराको छेउमा राख्ने गरिन्थ्यो ।


केही समय यसलाई अप्राकृतिक रूपमै भए पनि धाराको स्वरूप दिइयो । ड्रममा पानी राखेर ढुंगेधारबाट खसालियो । धेरै दिन चलेन कृत्रिम धारा । भूकम्पले यसमा पनि क्षति पुर्‍याएपछि फेरि सर्वसाधारणका लागि बन्द छ ।‘म आउँदा यो धारो सुकिसकेको थियो,’ पराजुली भन्छन्, ‘बूढानीलकण्ठ प्रतिमा छेउका धारामा चाहिँ सानो पानी आउँथ्यो । पानी ल्याएका काठका डुँड देखिन्थे, अहिले सुक्यो ।’ हरेक धारामा धार्मिक महत्त्व गाँसिएका छन् । सबै धारामा नाग, महादेव, माछालगायतका मूर्ति सजिएका छन् । धेरैजसो धारामा सामान्यतः मकरको आकृति बनाइएका हुन्छन् ।

प्रकाशित : मंसिर ७, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?