कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धूवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने बढे

काठमाडौं — मुलुकमा खैनी, गुट्खाजस्ता धूवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्यामा वृद्घि भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण (स्टेप्स) का क्रममा त्यस्तो निष्कर्ष निकालेको हो  ।

परिषद्ले १५–६९ वर्षका ५ हजार ५ सय ९३ जनामा गरेको सर्वेक्षणमा जनसांख्यिक तथा बानी–व्यहोरासम्बन्धी विवरणसमेत संकलन गरेको छ । ‘चुरोट सेवन गर्नेको संख्या नगन्य रूपमा कम भएको छ तर धूवाँरहित गुट्खा, खैनी आदि खानेको संख्या बढेको छ,’ एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै भने । प्रतिवेदनअनुसार मुलुकको कुल जनसंख्याको २८.९ प्रतिशत अर्थात् करिब २८ लाखले धूमपान गर्छन् । धूमपान गर्नेमा महिलाभन्दा पुरुष बढी छन् ।

कुल जनसंख्याको १८.३ प्रतिशतले धूवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्छन् । धूमपान गर्नेमध्ये ३३.३ प्रतिशत पुरुष र ४.९ प्रतिशत महिलाले धूवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्छन्, अर्थात् करिब ३० लाख जनसंख्याले धूवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्छन् । ०.८ प्रतिशतले विद्युतीय चुरोट सेवन गर्छन् । पहिलोपटक धूमपान सुरु गर्नेको औसत उमेर पुरुष र महिला दुवै गरी १७.८ वर्ष छ ।

सर्वेक्षणले बर्सेनि एक व्यक्तिले चुरोटमा १ हजार ४९ रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखाएको छ । धूमपानबाट चुरोट सेवन नगर्नेहरूसमेत धूवाँको दुष्प्रभावमा पर्ने गरेको सर्वेक्षणले औंल्याएको छ । विशेषज्ञहरूका अनुसार नेपालमा ७० प्रतिशत क्यान्सर हुने प्रमुख कारक तत्त्व धूमपान हो । फोक्सो, मुख मात्र नभई शरीरमा हुने सबै प्रकारका क्यान्सरको पहिलो कारक तमाखुलाई मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार तमाखुले करिब आफ्नो आधा जति उपयोगकर्तालाई मार्ने गरेको छ । तमाखुले बर्सेनि करिब ८० लाखभन्दा बढी उपयोगकर्तालाई मार्ने गरेको डब्लूएचओको तथ्यांक छ ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?