बौद्धमा पनि दमकल

सीमा तामाङ

(काठमाडौं) — काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रमा मात्र रहेको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन केन्द्रको शाखा विस्तार गर्न बौद्धस्थित रामहिटीमा भवन निर्माण गरेको छ  । १२ सय वर्गमिटरमा बनेको उक्त भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी, अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीनवटा दमकल अटाउने स्थानका साथै तालिमका लागि दुईवटा सुविधासम्पन्न सेमिनार हल निर्माण गरिएको छ  ।

उक्त भवनमा पाँच सयवटा दमकलमा पानी भर्न सकिने ट्यांकी निर्माण भएको छ । उक्त भवनमा एकैचोटि तीन सय जनालाई तालिम दिने हल बनेको महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले बताए । महानगरका कर्मचारीका लागि अन्य तालिम सञ्चालन गर्न पनि भवनले सहज बनाउने उनको भनाइ छ ।

‘एक ठाउँबाट मात्र आगालागी भएको क्षेत्रमा दमकल पुर्‍याउन सकिन्न,’ उनले भने, ‘त्यसैले दमकलको संख्यासँगै भवन विस्तार गरेका हौं ।’ नयाँ बानेश्वरस्थित पहिलको ट्रली बसपार्कमा पनि भवन बनाउनेबारे महानगरले सोच बनाइरहेको उनले बताए ।

उक्त भवन सञ्चालनमा आएपछि न्युरोडमा रहेको जुद्ध वारुणयन्त्र भवन पुरानै स्वरूपमा पुनर्निर्माण गरिनेछ । ‘अग्नि नियन्त्रण भवन निर्माण गर्न ठूलो बाटो तथा जग्गाको आवश्यकता हुन्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता ठाउँ र जग्गाको खोजी भइरहेको छ ।’

महानगरपालिकाले पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने यो वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । दमकल जान नसक्ने स्थानमा तत्काल आगो नियन्त्रण गर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था गर्ने नीति लिइएको छ । सामुदायिक स्तरमा वर्षाको पानी संकलन गर्न ट्यांकीसमेत निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले यस वर्ष थप तीनवटा दमकल खरिद गर्न १० करोड रुपैयाँ र सञ्चालन, व्यवस्थापनका लागि चार लाख रुपैयाँ छुट्याएको छ ।

हाल महानगरसँग तीन दमकल सञ्चालनमा रहेको जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराज गाछा मगरले बताए । ‘दुईवटा मर्मतको क्रममा छन्,’ उनले भने, ‘थप तीन दमकल खरिद प्रक्रियामा छ ।’ नेपाल सरकारबाट सञ्चालित वारुणयन्त्र अहिले स्थानीय तहले सञ्चालन गरिरहेको छ । ‘दमकल एक ठाउँमा मात्र भएकाले खबर आउनासाथ जाँदा धेरै क्षति हुने भएकाले शाखा विस्तारसँगै संख्या पनि बढाउन लागिएको हो,’ उनले भने, ‘काठमाडौंका चारै दिशामा दमकल शाखा बनाउने योजनाअन्तर्गत पहिलो शाखा पूर्वमा (बौद्ध) निर्माण गरिएका हो ।’

बौद्धमा निर्माण भएको विपद् व्यवस्थापन केन्द्रको नजिकका शंखरापुर, गोकर्णेश्वर नगरपालिकालाई पनि सहयोग हुने उनले बताए । महानगरपालिकाले ८ करोड ६१ लाख रुपैयाँमा गत वर्ष १५ महिनाका लागि कविन्द्र सिद्धार्थ जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आश्रममाथि छानबिन सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति अन्नपूर्णा आश्रममाथि छानबिन सुरु गरेको छ  । आश्रमले विधान केरमेट गरेर सदस्य शुल्क बढाएको, दर्ताबिनै अन्तर्राष्ट्रिय अन्नपूर्ण आश्रम सञ्चालन गरेको, नक्कली विद्यावारिधिको डिग्री प्रदान गरेको, सरकारका सचिवको हस्ताक्षर दुरुपयोग गरेको विषयमा उजुरी परेपछि प्रशासनले छानबिन थालेको हो  ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘उजुरीका आधारमा छानबिन सुरु भएको छ । कमजोरी भेटियो भने थप छानबिन गर्न प्रहरीलाई निर्देशन दिन्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । समितिका सदस्य प्रशासनका कानुन अधिकृत तारानाथ शर्माले संस्थाले बदमासी गरेको केही तथ्य छानबिन क्रममा भेटिएको बताए । ‘केही दिनमै प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।

प्रशासनमा प्राप्त उजुरीमा संस्थाको विधान केरमेट गरेर साधारण सदस्यको वार्षिक शुल्क एक सयलाई एक हजार एक सय, आजीवन सदस्य पाँच सयलाई पाँच हजार पाँच सय र यशस्कृत सदस्यको ११ हजार एक सय ११ लाई एक लाख ११ हजार एक सय ११ बनाएको उल्लेख छ । कान्तिपुरलाई प्राप्त संस्थाको विधानमा भने केरमेट गरिएको छैन ।

एक लाख रुपैयाँमा सदस्यता बनाएको भन्दै उजुरीकर्ताले रसिदसमेत पेस गरेका छन् । ‘त्यो रसिद त्रिवि परिसरमा सरस्वती मन्दिर बनाउन सहयोग उठाउँदा काटेको हो,’ आश्रमका अध्यक्ष जगदीश वैद्यले भने, ‘हाम्रोमा सदस्य बन्न पैसा तिर्नु पर्दैन।’

प्रकाशित : मंसिर ६, २०७६ १९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×