१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मूर्ति हराइरहन्छन्, भेटिँदैनन्

सम्बन्धित निकायले हराएका मूर्तिको तथ्यांक नराख्नु र खोजीमा चासो नदिनुले चोरी कार्यमा संलग्नलाई प्रोत्साहन मिलेको इतिहासविद्हरू बताउँछन्
लीला श्रेष्ठ

(भक्तपुर) — भूकम्पले चाँगुनारायण मन्दिरमा क्षति पुगेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प मन्दिर परिसरमै राखियो । सत्तल पुनर्निर्माणमा खटिएका कर्मचारी मन्दिरछेउमै बस्छन् । करिब तीन सय मिटरको दुरीमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणको कार्यालय पनि छ । तर, आइतबार राति चाँगुनारायण मन्दिर परिसरबाट अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरी भयो । सुरक्षा घेराबाटै मल्लकालीन मूर्ति हराउँदा स्थानीय बासिन्दा चकित परेका छन् । 

मूर्ति हराइरहन्छन्, भेटिँदैनन्

चाँगुनारायणका मुख्य पुजारी एवं विकास समिति अध्यक्ष चक्रधरानन्द राजोपाध्यायका अनुसार भूकम्पले क्षतिग्रस्त सत्तल पुनर्निर्माण गर्ने क्रममा हनुमान र अष्टबाहु नारायणको मूर्ति बाहिर झिकेर राखिएको थियो । ‘कामदारको जिम्मामा प्राचीन सम्पदाको पुनर्निर्माण थालिएको छ । सत्तल भत्काएर खुलै छ,’ उनले भने, ‘पुरातत्वका कर्मचारीबिनै कामदार खटिएका छन् ।’ युनेस्कोले मन्दिर सुरक्षाका लागि राखेको चारवटा सीसी टीभी क्यामेरासमेत बिग्रिएर थन्किएको छिन्नमस्ता मन्दिरकी पुजारी कृष्णदेवी कर्माचार्यले बताइन् । ‘सीसी क्यामेरा बनाउन पटकपटक निवेदन दिइसक्यौं, कसैले वास्ता गरेको छैन,’ उनले भनिन् ।


सीसी क्यामेरा जडान तथा निगरानीको विषयमा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरलाई केही जानकारी नभएको प्रमुख मोहन सिं लामाले बताए । ‘युनेस्कोले सीसी क्यामेरा जडान गरेको भन्ने सुनेको मात्र हो, हामीलाई हस्तान्तरण गरेको थिएन,’ उनले भने, ‘सीसी क्यामेरा कसको निगरानीमा थियो पनि थाहा छैन ।’


पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चाँगुनारायणबाट चोरी भएको मूर्तिका विषयमा छानबिन अघि बढिसकेको जानकारी दिए । ‘त्यो क्षेत्र सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेकाले प्रहरी निकायबाटै खोजबिन हुने भएको छ, हामीले पत्राचार गरिसकेका छौं,’ गौतमले भने ।


पटक–पटक चोरी

चाँगुनारायण परिसरबाट मूर्ति चोरी भएको घटना यो नै पहिलो भने होइन । मुख्य पुजारी राजोपाध्यायका अनुसार मन्दिर परिसरबाटै ०३१ सालमा ढलौटको कृष्णको मूर्ति हरायो । त्यहाँ करिब दुई दशकपछि नयाँ मूर्ति बनाएर प्रतिस्थापन गरिएको छ । ०३३ सालमा पनि किलेश्वर महादेवको ७ सय ९२ तोला चाँदीको मूर्ति चोरियो । उक्त ठाउँमा झन्डै १० वर्षपछि तामाको मूर्ति बनाएर राखियो । चाँगुनारायण मन्दिर मूलद्वारको बायाँतर्फ रहेको नारायणको मूर्ति (तामामा सुनको मोलम्बा (जलप) लगाइएको) पनि सुरक्षित रहेन । उक्त मूर्ति नभेटिएपछि अर्कै मूर्ति प्रतिस्थापन गरिएको छ ।


चाँगुनारायण परिसरमै पर्ने विष्णुविश्वरुपाको बायाँतर्फ रहेको सूर्यको ढुंगाको मूर्ति पनि चोरी भयो । ‘लुटेराले मन्दिर सुरक्षाका लागि बसेको प्रहरीलाई खुकुरी देखाएर मूर्ति लुटे,’ राजोपाध्यायले भने । चाँगुनारायण पूर्वतर्फ पारिजातको रुखमुनिका टेराकोटा (माटो) को शिवमूर्तिलगायत अन्य मूर्ति हराउँदै गएका छन् । ‘कुनकुन समयमा मूर्ति हराए र कहाँ पुर्‍याइयो भन्नेबारे कसैले खोजी गरेको छैन,’ उनी भन्छन्, ‘हराएका अधिकांश मूर्ति फेला पर्ने सम्भावना कम छ ।’


चाँगुनारायण क्षेत्रको मात्र नभई अन्य ठाउँबाट समेत पटकपटक मूर्ति चोरीका घटना भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ दिगुटोलबाट ०७२ पुस २ गते राति १७औं शताब्दीको ऐतिहासिक दिगु भैरव मन्दिरको मूर्ति चोरी भयो । मूल देवताको रूपमा पुजिँदै आएको दिगु भैरव अर्थात् प्रचण्ड भैरव मन्दिरको सुनको जलप लगाएको धातुको मूर्ति चोरी भएको चार वर्षसम्म पनि फेला परेको छैन । थिमिको मुख्य बिस्केट जात्रा सुरु गर्न दिगु भैरवको साधना गर्नैपर्ने चलन छ । यो प्रक्रियाबिना बालकुमारी जात्रासमेत सञ्चालन नहुने भएकाले हराएको चार महिनापछि नयाँ मूर्ति प्रतिस्थापन गरी जात्रा सञ्चालन गरिएको थियो । ०७३ वैशाख २८ गते राति भक्तपुर नगरपालिका सूर्यमढीस्थित ब्रह्मायणी मन्दिरबाट पनि दुईवटा ढलौटको मूर्ति चोरी भयो ।


मध्यपुर थिमिमा चार वर्षयता ऐतिहासिक पाँच मूर्ति चोरी भएको स्थानीय प्रदीप श्रेष्ठले बताए । दुई वर्षअघि मध्यपुरथिमि नगरपालिकास्थित सिद्धिकाली मन्दिर, मध्यपुरथिमि बामुने टोलको गणेश मन्दिरअगाडिको सिंहको प्रतिमा, मध्यपुर थिमिस्थित ताह द्यो अर्थात् गौरीशंकर भवानी मन्दिरको चारैतिरको मूर्ति चोरी भएको छ । गतवर्ष नै मध्यपुरथिमि लोकन्थलीबाट सिद्धिगणेशको एक फिट अग्लो ढलौटको मूर्तिसहित चाँदीका सिक्का हराए । मध्यपुरथिमिका अधिकांश मन्दिरका मूर्ति चोरी भएर सकिने स्थितिमा पुगेको स्थानीय बासिन्दा बताउँछन् । ‘मन्दिरको टुँडालमा रहेको काठ, माटोको मूर्तिसमेत चोरी भएका छन्,’ स्थानीय गणेशराम लाछीले भने । सम्पदा संरक्षणमा प्रहरी प्रसाशनसमेत मौन रहेको उनको भनाइ छ ।


तथ्यांकै छैन

हालसम्म के कति मूर्ति हराए भन्ने तथ्यांक पुरातत्व विभाग, नगरपालिकासँग र प्रहरीसँग नै छैन । ‘पुरातात्विक सम्पदाको संरक्षणमा बसेको पुरातत्व विभागले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा हराएका मूर्ति फेला पर्न सकेको छैनन्,’ इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सम्पदा संरक्षणमा स्थानीय बासिन्दा, नगरपालिका, पुरातत्व विभाग, प्रहरी लगायतको उत्तिकै चासो हुन जरुरी छ ।’ नेपालबाट हराएका अधिकांश मूर्ति युरोप, अमेरिकाको संग्रहालयमा संगृहीत हुन पुगेको सम्पदा संरक्षणकर्मी रविन्द्र पुरी बताउँछन् । ‘शताब्दीऔं पुराना मूर्ति भारत, युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका संग्रहालयमा छन्,’ उनले भने, ‘बेलाबेला ती मूर्तिको प्रर्दशनीसमेत हुने गरेको छ ।’ सम्बन्धित निकायले हराएका मूर्तिको तथ्यांक नराख्नु र खोजीमा चासो नदिनुले चोरी कार्यमा संलग्नलाई प्रोत्साहन मिलेको इतिहासविद् श्रेष्ठले बताए ।


पुरातत्व विभागले भने हराइएका मूर्ति तत्कालै नभेटिए पनि केही समयको अन्तरालमा भेटिने गरेको जनाएको छ । ‘हराएका मूर्तिको विवरण तत्कालै विभागसम्म आइपुग्दैन,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘प्रक्रियाबमोजिम हराएका मूर्तिको विवरण राख्ने गरिएको छ ।’ हराएका मूति विदेशी संग्रहालयमा भेटिने गरेको जिज्ञासा राख्दा उनले थपे, ‘नेपालमा कानुन नबनिसकेको अवस्थामा यहाँका मूर्ति विदेश पुर्‍याइएको हुन सक्छ, त्यसपछि हराइएका मूर्ति स्वदेशमै भेटिएका छन् ।’

प्रकाशित : मंसिर ५, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?