कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विश्वसम्पदामै शौचालय छैनन्

‘टिकट लिन आउनेले मागेमात्र कर्मचारीले साँचो दिन्छन्, पर्यटकले देख्दै देख्दैनन् । यत्रो विश्वसम्पदामा एउटै सार्वजनिक शौचालय नहुनु दु:खद हो ।’
दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको टिकट काउन्टरका लागि नवआदर्श स्कुलको एउटा फ्ल्याट भाडामा लिइएको छ । कार्यालय प्रयोजनका लागि त्यहाँ शौचालय पनि छ, तर सधैं तालाबन्दी अवस्थामा । 

विश्वसम्पदामै शौचालय छैनन्

टिकट लिन आउनेले मागेमात्र कर्मचारीले साँचो दिन्छन् । ‘पर्यटकले देख्दै देख्दैनन्,’ काठमाडौं उपत्यकाका सफाइमा अध्ययन गरेका प्रकाश अमात्यले भने, ‘यत्रो विश्वसम्पदामा एउटै सार्वजनिक शौचालय नहुनु दु:खद हो ।’


विश्वसम्पदामा सूचीकृत स्वयम्भूमा पनि एउटै सार्वजनिक शौचालय छैन । यहाँ जाने पर्यटक स्वयम्भू चैत्यभन्दा तलको बसपार्कछेउ भगवान् पाउ र बुद्धपार्क जानुपर्छ । यहाँ तीनवटा सार्वजनिक शौचालय छन् । बुद्धपार्कको शौचालय साँघुरो छ । ‘यी कुनै पनि पर्याप्त छैनन्,’ अमात्य भन्छन्, ‘चैत्यमा दर्शन गर्न आउने वृद्ध, अशक्तलाई समस्या पर्ने गरेको छ ।’


पशुपति क्षेत्रका पनि शौचालय व्यवस्थित छैनन् । वाग्मती पुलबाट श्लेश्मान्तक वनतिर जाने उकालो र आर्यघाटमा पक्की सार्वजनिक शौचालय छन् । त्यसबाहेक ठाउँठाउँमा बाकसका अस्थायी शौचालय व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले एभरेस्ट बैंकसँगको सहकार्यमा ठाउँठाउँमा शौचालय राखे पनि व्यवस्थित छैन । पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन, ‘सार्वजनिक शौचालय बनाइएका त छन्, तर व्यवस्थापन छैन ।’

चाँगुनारायणमा चारवटा शौचायल पर्यटकलाई केन्द्रित गरेर बनाइएका छन् । मन्दिर क्षेत्रमा एउटा, बस्तीको बीचमा दुईवटा र बसपार्कछेउमा एउटा । ‘पहिला नियमित सफाइ हुन्थ्यो,’ स्थानीय प्रजेन भँडेल भन्छन्, ‘अहिले सफाइ नै हुँदैन । मान्छे आउने ठाउँमा त दिनभर सफाइ हुनुपर्‍यो भनेर माग राखिराखेका छौं । तर नगरपालिकाबाट सुनुवाइ भएको छैन ।’ ललितपुर संग्रहालयभित्र शौचालय भए पनि नियमित सफाइ हुँदैन ।


वसन्तपुरमा शौचालय बनाउन बजेट समेत विनियोजन गरे पनि ठाउँ भेटिएको छैन । महानगरले भूकम्पअघि प्रहरी कार्यालय भएको भवनछेउमा शौचालय बनाउन खोजेको थियो । भुवनेश्वरी मन्दिरको पश्चिमतिरको यो भागमा नीलबाराहीको मौला भएकाले पुजारीले बनाउन दिएनन् । स्थानीय भन्छन्, ‘महानगरले जुद्ध सालिकअघिका पसल हटाएर बनाउन सक्छ ।’


सफाइ अभियानमा श्रीकृष्ण


उनी फोहोर देखेर घिन मान्दैनन् । लाज पनि लाग्दैन । सार्वजनिक शौचालय सफा गर्न आफैं खटिन्छन् ।


उनी हुन्, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका ४४ वर्षीय श्रीकृष्ण सिंखडा । हास्य कलाकारसमेत रहेका उनले शौचालय सफाइको खर्च आफैं जुटाउँदै आएका छन् । एक्लैले शौचालय सफाइ अभियान चलाएका छन् ।


सरसफाइबारे जनचेतना जगाउन पनि उनले भ्याइरहेका छन् । आइतबार दिउँसो उनी रत्नपार्कस्थित सार्वजनिक शौचालय सफाइमा व्यस्त थिए । पन्जा, मास्क र स्पोर्टस् सुज लगाएर उनी बिनाहिचकिचाहट शौचालय सफा गरिरहेका थिए । ‘सभ्यताको पहिलो प्रतीक शौचालय हो । घरमा पाहुना आउँदा त्यो घर कस्तो छ भन्ने कुरा शौचालयले निर्धारण गर्छ,’ उनले भने, ‘त्यसकारण शौचालय सफाइलाई पवित्र काम मानेको छु ।’ उनी स्कुल, कलेज र अस्पतालका सार्वजनिक शौचालयमा साता दिन बिराएर सफाइमा खटिने गरेका छन् ।


विद्यालयका शौचालय सफा गर्न गएका बेला उनले हास्य प्रस्तुतिमार्फत् विद्यार्थीलाई मनोरञ्जन पनि दिने गरेका छन्  ।


प्रकाशित : मंसिर ४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?