विश्व शौचालय दिवस : सरसफाई अभावले दैनिक ४ बालबालिकाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — सातौं विश्व शौचालय दिवस मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, सुन्धारा, न्यूरोड हुँदै बसन्तपुर पुगेर समापन भएको थियो । 

काठमाडौं महानगरपालिका र वाटर एड नेपालको सहयोगमा खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था गुथीले आयोजना गरेको प्रभातफेरीमा खानेपानी तथा ढल निकास बिभाग, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो), फोहोरमैला व्यवस्थापन संघ, एरोसान, पश्चिम पाइला, नेपाल साइकल सोसाइटी, त्रि-चन्द्र क्याम्पस, युवा रेडक्रस सर्कल, वातावरण इन्जिनियर समाज (सोफेन), काठमाडौं विश्वविद्यालय, अर्टिजम केयर नेपाल लगायत सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्था सहभागी थिए । प्रभातफेरीमा सहभागीले ‘महामारी मुक्त नेपाल’, ‘शौचालयबाट निस्केको फोहोर कहाँ जान्छ ?’, ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘महिलामैत्री शौचालय’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस वर्ष ‘शौचालयको प्रयोगबाट कोही पनि बञ्चित नहोस्’ नारासहित दिवस मनाइएको हो ।

हरेक वर्षको नोभेम्बर १९ तारिखका दिन मनाइने दिवसको अवसरमा शौचालय सरसफाइमा काम गर्ने जनशक्तिलाई खादा ओढाएर सम्मान गरिएको थियो

महानगरपालिकाभित्र सुविधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिन संघीय सांसद जीवनराम श्रेष्ठले आग्रह गरे । ‘अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्नपर्छ,’ उनले भने, ‘शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुन्छ ।’

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माणलाई बराबरी महत्व दिएर काम गरिरहेको बताए । उनका अनुसार महानगरका सहरी योजना आयोगले सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारिसकेको छ ।

नेपालमा सरसफाइको अभावले गर्दा ५ वर्ष मुनिका औसतमा दैनिक ४ जना बालबालिकाको मृत्यु हुने राष्ट्रिय सरसफाइ तथा समन्वय समिति सदस्य सचिव देवेन्द्र झाले जानकारी दिए । सोही तथ्यांकको आधारमा वार्षिक करिब १४ सय बालबालिकाको मृत्यु हुने गरेको छ । सन् २००० मा वार्षिक १० हजार ८ सय रहेको यस प्रकारको मृत्युदर सन् २००८ मा ७ हजारमा झरेको थियो ।
गत वर्ष गुथीले काठमाडौं उपत्यकाका ११५ वटा सार्वजनिक शौचालयमा गरेको अध्ययनले सार्वजनिक शौचालयमा सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड प्राप्त नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग अनुकूल नहुनु जस्ता समस्या देखाएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ १३:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा शौचको सकस

राजधानीकै सार्वजनिक स्थलहरुमा पर्याप्त शौचालय छैनन् । भएकाको पनि व्यवस्थापन नहुँदा सर्वसाधारणले दिसापिसाब रोकेर बस्नुपर्ने बाध्यता छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — - ‘प्रवेश शुल्क एक हजार रुपैयाँ तर शौचालयमा पानी छैन । कृपया शौचालयको राम्रो व्यवस्था गरिदिनुस् न ।’ - ‘कृपया पाटन दरबार क्षेत्रमा पर्यटक शौचालय बनाइदिनुस् ।’

०००
विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा आएका विदेशीले आगन्तुक पुस्तिकमा लेखेको अनुरोध हो यो । पिसाबले च्यापेका बेला दरबार क्षेत्रमा व्यवस्थित शौचालय नपाएपछि उनीहरू यात्राको पीडा यसरी पुस्तिकामै लेख्न बाध्य भए ।

पर्यटकलाई लक्ष्य गरी मंगलबजार र हःखा टोलमा शौचालय बनाइएको छ । तर ती पर्यटकको पायकमा छैनन् । हःखा टोलको शौचालय भण्डारखालमा कार्यक्रम हुँदा मात्रै प्रयोगमा आउँछ । ‘अरू बेला कोही पुग्दैनन्,’ पाटन संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखेले भने, ‘रेस्टुरेन्ट, कि मंगलबजार जानुको विकल्प छैन ।’

स्वदेशी पर्यटकले पनि पिसाब च्यापेर सार्वजनिक शौचालय खोज्दै हिँड्नुपर्ने बाध्यता छ । यस्तो बाध्यता ललितपुर मात्र होइन, काठमाडौं र भक्तपुरका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदास्थलमा पनि छ ।

इमाडोलबाट पाटन जाँदै गर्दा सुनिता बज्राचार्यलाई आइतबार पिसाबले च्याप्यो । उनले शौचालय खोजिन् । नभेटिएपछि शौचालयकै लागि मगंलबजार जानुपर्‍यो । ‘महिला भएकाले जथाभावी बस्न सकिँदैन,’ उनले भनिन्, ‘४५ मिनेट पिसाब च्याप्नुपर्‍यो ।’ पिसाब च्याप्दा स्वास्थ्यमा असर पर्छ भन्ने उनलाई थाहा छ । तर विकल्प नभएको उनले बताइन् ।

यस्तै समस्या पर्‍यो, टयासी चालक मोहन बस्नेतलाई । मंगलबार झिसेमिसेमै कोटेश्वरस्थित कोठाबाट निस्केका बस्नेत यात्रु कुर्दै बसे । बल्लतल्ल यात्रु पाएपछि कोटेश्वरबाट मंगलबजारतिर लागे । तर गन्तव्यमा नपुग्दै उनलाई पिसाबले च्याप्यो । बीचमा केहीछिन परेको जामले त्यो समस्या थप बढाइदियो । ‘भनेको ठाउँमा शौचालय पाइँदैन, खाली हुँदा चियापानी खायो, यात्रु लिएर हिँडेपछि गाह्रो पर्छ,’ उनले भने ।

रत्नपार्क क्षेत्रमा व्यवस्थित शौचालय नहुँदाको समस्या पनि उस्तै छ । भएका शौचालय छिरिसक्नु छैनन् । केहीको चुकुल लाग्दैन, कुनमौ ढोकाको पाता फुटेको छ । केहीमा पानी छैन । दिसापिसाबको दुर्गन्ध सहिसक्नु छैन ।

काठमाडौं धापासीकी सुनिता गजमेरले आमा र अरु आफन्तलाई एक साताअघि आफन्तलाई भृकुटीमण्डप घुमाउन लैजाँदा कम्ती पीडा भोगिनन् । आमालाई पिसाबले च्यापेपछि उनले शौचालय खोजिन् । नभेटिएपछि पाँच वर्षीय छोरालाई बोकेर पुतलीसडक, बागजारतिर लागिन् । त्यता पनि शौचालय भेटिनन् । काठमाडौंबारे त्यति जानकारी नभएकी उनी बटुवालाई सोधेर सोधेर पुरानो बसपार्कस्थित शौचालय गइन् । ‘यतिका भीड हुने ठाउँमा पनि शौचालय छैन । खोज्दै हिँड्नुपर्ने बाध्यता छ,’ गजमेरले भनिन् । यो शौचालयमा न्युरोडदेखि आउने पनि थिए । होलसेलमा सामान लिन लगनखेलबाट न्युरोड पुगेकी सृजना तामाङलाई त्यतातिर ठाउँ नभेटेपछि यहाँसम्म आउनुपर्‍यो । भनिन्, ‘पिसाब लागेको एक घण्टा भए पनि पायक पर्ने शौचालय छैन ।’

एक त उपत्यकामा एकदमै कम शौचालय छन्, भएका पनि महिला र अपांगता भएका व्यक्तिका लागि उपयुक्त छैनन् । भद्रकालीमा महिलाका लागि एउटा मात्र शौचालय छ । धेरै महिला भए लाइन बसी शौचालय जानुपर्ने बाध्यता छ यहाँ । मंगलबार लाइनमा भेटिएकी कपनकी मञ्जु ओझाले भनिन्, ‘कहिले पालो आउने हो, थाहा छैन ?’

शौच लाग्दा फुटपाथका व्यापारी पनि समस्यामा पर्ने गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलअगाडि तरकारी बिक्री गर्ने तारा कोइरालालाई ठूलो चिन्ता शौचालयकै छ । डोकोमा साग र अन्य तरकारी लिएर दिउँसो ३ बजे कोठाबाट निस्कने उनी पिसाब नआओस् भनेर पानी कम खान्छिन् । ‘पिसाबले नच्यापोस् भनेर तिर्खा लागे पनि पानी खान मन लाग्दैन,’ उनले भनिन्, ‘पिसाब गर्न जाने ठाउँ कतै छैन ।’

बानेश्वर चोकमा कपडा बिक्री गर्दै आएका राकेश यादवको पनि पीडा उस्तै छ । ‘शौचालय नभएकाले पिसाब च्यापेर बस्नुपर्ने समस्या छ,’ उनले भने । बानेश्वर पीपलबोटस्थित पार्कमा शौचालय बने पनि सञ्चालनमा आएको छैन । ‘शौचालय बन्न थालेपछि अब समस्या सकिन्छ जस्तो लागेको थियो,’ यादवले भने, ‘तर अहिलेसम्म प्रयोग गरिएको छैन, निर्माण कार्य नसकेको हो कि, प्रयोग नगरेको हो, थाहा छैन ।’ शौचालय उद्घाटन नहुँदा सञ्चालनमा ल्याउन नसकिएको काठमाडौं महानगरपालिका–१० का कार्यवाहक वडाध्यक्ष सतीश तण्डुकारले बताए ।

महिलालाई बढी समस्या
बाहिर हिँड्दा सार्वजनिक शौचालयको समस्या केकस्तो छ, सबैलाई थाहा छ । कतिपय पुरुषले खोला, साघुँरा बाटो, गाडी तथा अग्ला पर्खालमा छलिएर पनि शौच गर्ने गरेका छन् । सार्वजनिक शौचालय नभएकै कारण खुला ठाउँमा शौच गर्न बाध्य हुनुपरेको उनीहरू बताउँछन् । ‘ट्वाइलेटमा ताल्चा लगाएको रहेछ । खुला ठाउँमा बाध्यताले जानुपरेको हो,’ भक्तपुर क्यान्सर अस्पतालअगाडि गाडीको छेल पारेर पिसाब गरिरहेका एक वृद्धले भने । महिलाहरू त्यसो गर्न पनि सक्दैनन् । ‘चर्पी नै भए पनि महिलाले कत्तिको सुरक्षित छ भनेर विचार गर्नुपर्ने हुन्छ । लाजको कुरा एकातिर छ भने महिलाले थप हिंसाको सिकार पनि हुनुपर्छ,’ मंगलबजारमा भेटिएकी बज्राचार्यले भनिन्, ‘सहरमा सुरक्षित सार्वजनिक शौचालय नहुँदा महिलाले बढी पीडा भोगिरहेका छन् ।’

महिनावारीका बेला बाटोमा प्याड फेर्ने ठाउँ नहुँदा पनि महिलाहरू समस्यामा पर्ने गरेका छन् । ‘एक दिन लगनखेलमा हिँडिरहेका बेला महिनावरी भयो । शौचालय जाऊ कतै छैन,’ उनले भनिन्, ‘पाटन अस्पतालको शौचालयमा गएर प्याड लगाएँ ।’ महिनावारीका बेला धेरै समस्या हुने गरेको कोटेश्वर सार्वजनिक शौचालयअघि भेटिएकी संगिता श्रेष्ठले बताइन् । ‘बाटोमा हिँड्दै गर्दा पनि महिनावारी हुन सक्छ, त्यस्तो बेला कहाँ गएर प्याड लगाउने वा फेर्ने ?’ उनले प्रश्न गरिन्, ‘सार्वजनिक शौचाालय भेटिए पनि पानी र डस्टबिन हुँदैन ।’

शौचालय भए पनि डस्टबिन नहुने समस्या छ । ‘विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ३ सय मिटरमा एउटा सुविधा सम्पन्न शौचालय हुनुपर्छ,’ खानेपानी तथा सरसफाइसम्बन्धी क्षेत्रमा काम गरिरहेको संस्था स्मार्ट वास सोलुसनका अध्यक्ष इन्जिनियर रामदीप साहले भने, ‘पूर्ण सरफाइका लागि शौचालयको राम्रो व्यवस्थापन हुनैपर्छ ।’

प्रत्येक तीन मिनेट पैदल दूरीमा एउटा शौचालय बनाउन नसके पनि एक वर्गकिलोमिटरमा हुनुपर्ने उनले बताए । काठमाडौं र ललितपुर महानगरपालिका, मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकामा ६२ वटा मात्रै सार्वजनिक शौचालय रहेको काठमाडौं उपत्यकाको सार्वजनिक शौचालयबारे अध्ययन गरेका प्रकाश अमात्यले जानकारी दिए । धार्मिक स्थल, सरकारी भवन, पार्क, व्यावसायिक भवन, अस्पताललगायत स्थानमा एक सय ८० शौचालय छन् । जसलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ । सरकारले मुलुकलाई नै खुला दिसामुक्त घोषणा गरे पनि सर्वसाधारणको भीड हुने ठाउँमै पर्याप्त शौचालय नभएको उनले बताए ।

सुधारिएका सरकारी शौचालय
मालपोत कार्यालय भक्तपुरको शौचालयमा एक महिना अघिसम्म पिसाब फेर्न पनि गाह्रो थियो । शौचालयको प्यानसमेत थुनिएको थियो । कलंकी मालपोतबाट भक्तपुर सरुवा भएलगत्तै देवीबहादुर भण्डारीको प्राथमिकतामा शौचालय पर्‍यो । र उनले सुधार गरे । दैनिक एक हजार पाँच सय सेवाग्राहीले एक करोड रुपैयाँ राजस्व तिर्ने कार्यालयको शौचालयमा अहिले भने सहजै पिसाब गर्न सकिने भएको छ ।

कान्तिपुर टिमले सर्वसाधारणको चाप बढी हुने जिल्ला प्रशासन, समन्वय समिति, नापी, मालपोत, परीक्षा नियन्त्रण कार्यालय, यातायात कार्यालयका शौचालय अनुगमन गर्दा विगतको तुलनामा पाइएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुना र मालपोत कार्यालय चाबहिलको कार्यालय रहेको घरभित्रको शौचालय कर्मचारीका लागि मात्रै छ । यातायात कार्यालयमा लाइसेन्स नवीकरण र जरिवाना तिर्न जाने सर्वसाधारणले भने कार्यालय परिसरको शौचालयमा पनि शुल्क तिर्नुपर्छ ।

‘पानी किन्नुपर्ने भएकाले शुल्क लिने गरेका हौं,’ शौचालय प्रयोग गरेबापत शुल्क लिने एक महिलाले भनिन् । यातायात कार्यालय जगाती भक्तपुरका सेवाग्राही पनि व्यक्तिको घरमा शुल्क तिरेर शौचालय जान्छन् ।

साबुनबिनाको अस्पतालको शौचालय
राजधानीको वीर अस्पतालमा बटुवा पनि छिरिरहेका हुन्छन् । यसको एउटै कारण हो – शौचालय । ट्याक्सी चालक, रिक्सा चालक, महाबौद्धमा होलसेल सामान किन्न आउने व्यापारीलगायत सबैको दिसापिसाब धानेको छ– अस्पतालको शौचालयले ।

दैनिक २ हजार बिरामी आउने अस्पतालको शौचालय एकछिन खाली हुँदैन । ‘धेरैपटक सफा गर्नुपर्‍यो भन्दै सफाइ कर्मचारी दिक्क मान्ने गरेका छन्,’ एक कर्मचारीले भने । वीरमा १ सय २० शौचालय छन् । बिरामी भर्ना गरिएका वार्डका भन्दा आकिस्मक कक्षका शौचालय फोहोर देखिन्छन् ।

शौचालयमा साबुन, न्याप्किन जस्ता सफाइका सामान छैनन् । त्यहाँ भेन्टिलेसन पनि छैनन् । कतै धारा छन्, टुटी छैनन् । टुटी भएका धाराबाट पानी आउँदैन । कतै ढोका छन्, चुकुल छैनन् । साबुन राखेको एकैछिनमा गायब हुने र धाराका टुटी चोरी हुने गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘साबुन र टाबेल हामीले जानीजानी नराखेका हौं । अब भित्तामा टाँसेर हातधुने झोल साबुन राख्ने सोच छ,’ उनले भने ।

प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल (टिचिङ) र कान्ति बाल अस्पतालका शौचालय पहिलेभन्दा सुधार भए पनि त्यहाँ हात धुने, पुछ्ने सामान राखिएको छैन । टिचिङमा भएका १ सय ५० वटा शौचालयमध्ये कुनैमा पनि साबुन र टावेल वा न्याप्किन छैन । अस्पताल परिसरभित्रै शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालय पनि व्यवस्थित छैनन् । केही शौचालयमा बिजुलीबत्ती छैन । बिरामी मोबाइलको लाइट बालेर शौचालय प्रयोग गर्छन् । चुकुल नभएका शौचालय पनि छन् । बाहिर कुरुवा राखेर शौचालय छिर्नुपर्छ ।

“पिसाब रोक्दा मिर्गौला फेल हुन सक्छ”

डा. भूपेन्द्रकुमार बस्नेत
पेटरोग विशेषज्ञ, वीर अस्पताल

काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएकामा पनि सरसफाइ व्यस्थापन हुन सकेको छैन । शौचालय छिर्नुभन्दा सर्वसाधारण दिसापिसाब च्यापेर हिँड्न मन पराउँछन् । दिसापिसाब च्यापेर हिँड्नु एकदमै हानिकारक छ । धेरै बेरसम्म रोकेर राख्दा दिसा साह्रो हुँदै जान्छ । यसले पायल्स, कब्जियत हुन सक्छ । पेटभित्रै दिसा राखिरहँदा पेट ढुस्स हुने, खानामा अरुचि हुने र ग्यास भरिएर पेट फुल्ने समस्या हुन्छ । यसले शारीरिक रुपमा त सास्ती हुन्छ नै, मानसिक रूपमा पनि उत्तिकै असर गर्छ ।

डा. पवन चालिसे
युरोलोजिस्ट विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

लामो समयसम्म पिसाब च्याप्दा यसले संक्रमण हुने सम्भावना बढाउँछ । जति पिसाब रोक्यो, उति पिसाबथैलीमा संक्रमण हुन्छ । थैलीमा धेरै बेरसम्म पिसाब जम्मा गर्दा यसले पिसाबनली पनि बिग्रन्छ । थैली बिग्रियो भने पिसाब चुहिरहने समस्या पनि आउँछ । मधुमेहका बिरामीले पिसाब रोक्नै हुँदैन । पिसाब जम्मा गर्ने र नियन्त्रण गर्ने थैलीको आफ्नै क्षमता हुन्छ । निकै बेरसम्म पिसाब निस्कन पाएन भने फर्केर जान पनि सक्छ । यसले मिर्गौला कमजोर र फेलसम्म हुन सक्छ ।


काठमाडौंमा ३ करोड, ललितपुरमा वडैपिच्छे
काठमाडौं महानगरले सार्वजनिक शौचालय निर्माण गर्न ३ करोड रूपैयाँ छुट्याएको छ । भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी धार्मिकस्थल तथा पर्यटकको आवागमन हुने ठाउँमा सार्वजनिक शौचालय बनाउने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । स्मार्ट शौचालयको डिजाइन तयार पारी निर्माण अघि बढाइसकिएको उनले जानकारी दिए । ‘अब स्मार्ट शौचालय बनाउने र अव्यवस्थितलाई पनि सुधार गर्ने योजना छ,’ उनले भने । तत्काल १२ सार्वजनिक शौचालय निर्माण गरिँदै छन् । सर्वसाधारणको पहुँच वृद्धि गर्न रेस्टुराँ, सपिङ मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाका शौचालयसमेत प्रयोग गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

ललितपुर महानगरले प्रत्येक वडामा न्यूनतम एक सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिएको छ । त्यस्तै मंगलबजार, जाउलाखेल, लगनखेललगायत स्थानमा तोकिएको संरचना र अवधिअनुसार सञ्चालनमा ल्याउने गरी निजि सार्वजनिक साझेदारी अवधारणामा शौचालय निर्माण गर्ने नीति छ । महानगरले शौचालय निर्माण (मोबाइल ट्वाइलेट समेत) का लागि ५० लाख रूपैयाँ छुट्याएको छ ।


यस्तो पनि विकल्प
थोत्रो बस । बसको वरिपरि हरियाली बगैंचा । झ्यालमा झुन्डाइएका थरी–थरीका फूलका गमला । गंगामान गुरुङ त्यही थोत्रो बस, गमला र बगैंचाका फूल, फलफूलका बिरुवासँग दिनभर रमाइरहेका भेटिन्छन् । यात्रु, चालक, सहचालक, पैदलयात्रु र सडक सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीसँग उनको भलाकुसारी चलिरहन्छ । गुरुङलाई यस्तो भलाकुसारीको मेसो मिल्नुको कारण हो, अस्थायी शौचालय ।

युनिसेफ, वातावरण र विकास संस्था नामक गैरसरकारी संस्था र गुरुङ आफैंले नेतृत्व गरेको दर्शन नेपालको सहकार्यमा ललितपुर ग्वार्को चोकस्थित मुख्य सडक किनारमा शौचालय सञ्चालन गरिएको छ । प्रत्येक दिन बिहान ४ देखि बेलुका ८ बजेसम्म बिरुवा स्याहार्ने, शौचालय सफा गर्ने र सेवाग्राहीलाई हात धुन सघाउने काममा खटिरहेका भेटिन्छन्, गुरुङ । ०७२ वैशाखको भूकम्पपछि अस्थायी शिविरको सरसफाइ व्यवस्थापनमा खटिएका उनले दर्शन नेपाल संस्था सञ्चालन गरी घुम्ती शौचालयको अवधारणा तयार गरे । त्यसैअनुसार चार वर्षअघि उनले ग्वार्कोमा पुरानो गाडीमा अस्थायी शौचालय बनाएका हुन् । हरियाली प्रवर्द्धन तथा टोलटोलबाट फोहोर संकलन गरी जैविक मल उत्पादनको क्षेत्रमा काम गर्ने गरी थोत्रो बस खरिद गरेर शौचालय सञ्चालन गरिएको उनले बताए ।

शौचालयमा शारीरिक रूपमा अशक्त, ट्राफिक प्रहरी र नेपाल प्रहरीले निःशुल्क शौच गर्न पाउँछन् । अन्यले भने १० रुपैयाँ तिर्नुपर्छ । ‘चौबीसै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मीले शौच गर्नकै लागि होटल चहार्नुपर्छ, कतिपयले छिर्नसमेत दिँदैनन्,’ गुरुङले भने, ‘बरु भोकै बस्न सकिन्छ, दिसापिसाब रोक्न सकिन्न ।’

शौचालयबाट निस्किएको फोहोरबाट उनीहरूले अर्ग्यानिक मल (जैविक मल) उत्पादन गरी कृषि फार्महरूमा पठाउने प्रविधि अपनाएको उनले बताए । युनिसेफ, वातावरण र विकास संस्थाको ५ लाख रुपैयाँ सहयोगमा सुरु गरेको अस्थायी शौचालयमा दैनिक एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म संकलन हुने उनले जानकारी दिए । नेपाल–भारत मैत्री संघको सहकार्यमा भारतीय दूतावासमार्फत गाडी खरिद गरेर अन्य ठाउँमा समेत शौचालय निर्माण गर्न लागेको उनले बताए ।

प्रकाशित : मंसिर ३, २०७६ १२:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×