३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भूकम्पपछिको पुनर्निर्माण : अब रहेन त्यस्तो घर

सिमेन्ट, छडलगायत प्रयोग गरेर घर निर्माण गर्न थालेपछि ऐतिहासिक, सांस्कृतिक र कलात्मक महफ्वका बस्तीले पहिचान गुमाउँदै छन्
लीला श्रेष्ठ

(भक्तपुर) — इँटा–माटोले जोडेर बनाइएका घर । झिँगटीको छानो । कलात्मक झ्यालढोका । भूकम्प अघिसम्म साँखुको मौलिकता यस्तै घरमा बाँचेको थियो । ०७२ सालको भूकम्पपछि साँखु पुनर्निर्माणको अन्तिम चरणमा छ तर अहिले यो ऐतिहासिक नगरीले मौलिकता गुमाइरहेको छ । 

भूकम्पपछिको पुनर्निर्माण : अब रहेन त्यस्तो घर

रोडा, सिमेन्ट र छड प्रयोग गरेर घर निर्माण हुन थालेपछि ऐतिहासिक, सांस्कृतिक र कलात्मक महत्त्वका बस्तीले पहिचान गुमाउँदै छन् । भूकम्पबाट ढलेका भक्तपुरका अधिकांश पुराना घर आधुनिक शैलीमा ठडिएका छन् । यसका लागि पुनर्निर्माणसम्बन्धी मोडेल पनि जिम्मेवार छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएका नमुनाका आधारमा घर बनाउनुपर्ने भएपछि साँखुले स्वरूप बदलेको हो । भूकम्पबाट शंखरापुर नगरपालिकास्थित साँखुमा ८ सय ५० घर क्षतिग्रस्त भएका थिए । एक हजार घरमध्ये डेढ सय घरमा सामान्य क्षति पुग्यो । यहाँ ८३ ज्यानले ज्यान गुमाए ।


नगर क्षेत्रका अधिकांश घरमा छिँडी, मटान, चोटा, बुइँगल गरी चार तलाको परम्परागत शैली प्रयोग गरिएको थियो । कलात्मक झ्याल, फराकिला बार्दली थिए । पहिले झिँगटीले छाएका घरमा जस्तापाता हालिएको छ । कलात्मक एवं सांस्कृतिक महत्त्वका झ्यालढोका लोप हुने अवस्थामा पुगेका छन् । झिँगटीका छाना छाउने झन्झटले सजिलोका लागि मानिसले जस्ता प्रयोग गर्न थालेको वर्षौंदेखि सांस्कृतिक प्रवर्द्धनमा लागेका स्थानीय संस्कृतिकर्मी प्रकाशमान श्रेष्ठले बताए । ‘२५ वर्षअघि पिल्लर भन्ने के हो ? थाहा थिएन, अधिकांश घर झिंगटीले छाएका थिए,’ शंखरापुरको विगतको स्वरूप सम्झँदै उनले भने, ‘एक झ्यालेदेखि एघार झ्याले दरबार र घर थिए, हेर्दैमा आकर्षक ।’ काठका झ्याल बनाउन महँगो पर्ने भएकाले पनि कम लागतमा फलाम, आल्मुनियम र यूपीभीसीका झ्याल राखेर घर बनाउनुपरेको स्थानीय बताउँछन् ।


प्राचीन नेपालमण्डलको एक राजनीतिक केन्द्र तथा तत्कालीन व्यापार मार्गका पमा चिनिन्थ्यो साँखु । शंखको आकारमा निर्माण गरिएको साँखुलाई पहिले शंखरापुरका नामले चिनिन्थ्यो । संस्कृतिकर्मी श्रेष्ठ साँखु आजभन्दा ३ हजार ३ सय १६ वर्षअघि विकास भएको बताउँछन् । विभिन्न विदेशी इतिहासकारले साँखुलाई ‘ट्रेड वे टु तिब्बत’ तथा ‘गेट वे टु तिब्बत’ भनी उल्लेख गरेका छन् । फ्रान्सेलीहरूका आँखामा साँखु ‘रोम सहरजस्तो’ देखिन्छ । प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले पनि साँखु नगर कला–संस्कृतिका हिसाबले धनी भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को विश्वसम्पदा सूचीको ‘टेन्टेटिभ लिस्ट’मा साँखु सन् २००८ मा

समावेश भएको थियो ।


अब त्यस्तो घर बन्दैन

‘१९९० सालको भूकम्पले नभत्केको घर ०७२ वैशाखमा भत्कियो,’ भक्तपुर नगरपालिका–७ गोल्मढीका कृष्णगोपाल मचामसीले भने, ‘करिब ६ सय वर्ष पुरानो घर क्षतिग्रस्त भयो । अब त्यस्तो घर बन्दैन । हामीले पुरानो घर बिर्सियौं ।’ माटो, इँटा जोडाइको घर बस्नलाई सहज थियो तर इन्जिनियरले पुरानो घरलाई मान्यता नदिएकाले फलामे डन्डी र सिमेन्टकै घर बनाउन बाध्य भएको उनी बताउँछन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जीएमएएलआई) का अनुसार भक्तपुर नगरमा भूकम्पका कारण ७ हजार ६ सय ५७ घर क्षतिग्रस्त भएका थिए । एक हजार ५ सय ५२ घरको पुनर्निर्माण गरिएको छ । भूकम्पको धक्काले ढलेका अधिकांश पुराना घर आधुनिक शैलीमा बनेका छन् । ‘हामीले मौलिकता गुमायौं,’ गोल्मढीकै रामहरि कक्षपतिले भने, ‘पुनर्निर्माणमा स्थानीय ढुंगामाटोको सट्टा इँटा, सिमेन्ट र डन्डीकै प्रयोग गरेर आरसीसी घर बनेका छन् ।’

मध्यपुर थिमिको अवस्था पनि उस्तै छ । मध्यपुर थिमि नगरमा २ हजार ३ सय ३३ घर क्षतिग्रस्त भयो, जसमध्ये ६ सय ७८ घर ठडिएका छन् । जिल्लाको चार स्थानीय तहमध्ये कम क्षति बेहोरेको मध्यपुर थिमिको बोडे, नगदेश, चपाचोलगायत क्षेत्रमा झिंगटीले छाएका पुराना घर अझै देख्न सकिन्छ तर पुनर्निर्माण गर्ने क्रममा ठडिएका घरले भने मौलिकता जोगाउन सकेनन् ।


‘छलफल नै नगरी डिजाइन’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ८ लाख २६ हजार ९ सय ३३ निजी आवास क्षतिग्रस्त भएको थियो जसमध्ये करिब ५५ प्रतिशत लाभग्राही (भूकम्पपीडित) ले अनुदान रकमबाट क्षतिग्रस्त संरचना उभ्याइसकेका छन् । यी घर सरकारले सार्वजनिक गरेको नक्सा तथा डिजाइनअनुसार बनेका छन् ।


सरकारबाट प्राप्त हुने अनुदान गुम्ने डरले भूकम्पपीडितले मापदण्डबमोजिम सिमेन्ट, डन्डीलगायत प्रयोग गरेर घर बनाएका छन् । अधिकांश नयाँ छत राखिएको छ । साँखु, भक्तपुर र मध्यपुर थिमि मात्र नभई भूकम्प प्रभावित अधिकांश जिल्लामा आरसीसी प्रविधिबाट घर बनाइएका छन् । प्राधिकरणले सार्वजनिक गरेको १७ प्रकारका भूकम्प प्रतिरोधी घरको नक्साअनुसार घर बनाउने लाभग्राहीमध्ये दुई र चारकोठे घर बनाउनेको संख्या बढी छ । ‘ढुंगा र माटोका सबै घर लडे । इँटा, सिमेन्ट तथा डन्डीको प्रयोग गरी बनाइएको घर बलियो होला भन्ने सोचले सबैले आधुनिक घर बनाए,’ सूर्यविनायक–८ नैचालका पूर्णबहादुर तामाङले भने ।


सरकारले भूगर्भविद्को सल्लाहबिना ठाउँ विशेषलाई ध्यान नै नदिई भूकम्प प्रतिरोधी संरचनाका नाममा कंक्रिटलाई प्राथमिकता दिएको सरोकारवाला बताउँछन् । पूर्वशिक्षामन्त्री एवं विपत् विज्ञ गंगालाल तुलाधर भन्छन्, ‘हिमाल, पहाड र तराई क्षेत्रमा बन्ने संरचना परिवेश विशेष हुनुपर्थ्यो, हुनुपर्छ । हाम्रा पुर्खाले भूगोल सुहाउँदो संरचना निर्माण गरेका थिए ।’ भूकम्पपछि सरकारले पर्याप्त अध्ययन नै नगरी विज्ञ तथा सरोकारवालासँग छलफल नगरी संरचना डिजाइन लाद्ने काम गरेको उनको आरोप छ । भूकम्पअघि बनाइएका घर सुन्दर, वातावरणमैत्री र स्वस्थकर भएको तर बलियोका नाममा सरकारी तवरबाट मौलिकता हत्याउने कार्य भएको सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको भनाइ छ । ‘नेपाली वास्तुकला सबै जातजाति, ठाउँ, परिवेश, संस्कार, संस्कृति सुहाउँदो थियो,’ उनले भने, ‘स्थानीय तहले चाहेको भए मौलिकता जोगाउन सकिन्थ्यो । कंक्रिटको सहर पो बनाए ।’ स्थानीय स्रोतसाधनकै प्रयोग गरी लोड बेरिङ, वाल बेरिङ प्रविधिबाट संरचना निर्माण गर्न सकिनेमा स्थानीय तहले पहल नै नगरेको उनको भनाइ छ ।


भक्तपुर नगर उपप्रमुख एवं आर्किटेक इन्जिनियर रजनी जोशी पनि भूकम्पपछिको पुनर्निर्माणप्रति सन्तुष्ट छैनन् । ‘नगरपालिकाहरूले भूउपयोग नीतिअनुरूप नक्सा बनाएर योजनाबद्ध किसिमले बस्ती निर्माण गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक पक्ष, संस्कारसँग जोडिएको घर निर्माण गर्नुपर्छ तर त्यस्तो भएको छैन ।’ मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ पनि स्थानीय स्रोतसाधन प्रयोग गरी मौलिक घर निर्माण गर्नेतर्फ सरकारले कुनै प्रयास नै नगरेको बताउँछन् । ‘सरकारले सुरक्षालाई मात्र ध्यान दियो । हिमाल, पहाड, तराईमा एकैखालको संरचना लाद्ने कार्य भएको छ, जुन गलत छ,’ उनले भने ।


प्रकाशित : मंसिर ३, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?