सूक्ष्म जीव संकलन केन्द्र खुल्दै

गोविन्द पोखरेल

काठमाडौँ — सूक्ष्म जीवहरूको संकलन, संरक्षण, उत्पादन र पहिचान गर्ने उद्देश्यसहित नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ (एमसीसीएस) स्थापना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले सेन्टर स्थापनाको तयारी थालिसकेको छ । सेन्टरमा राखिने जीवाणुको ‘स्ट्रेन’ संकलन थालिएको नास्टकी विज्ञान संकाय प्रमुख जयश्री सिजापतीले बताइन् । ‘स्ट्रेन’ सूक्ष्म जीवको नमुना हो । 

सेन्टर सञ्चालन हुँदा नेपालमा जीवाणुहरूको पनि डाटाबेस बन्ने नास्टले जनाएको छ । यिनै डाटाको आधारमा विद्यार्थी तथा अनुसन्धातालाई जानकारी दिने र लिने काम हुन्छ । मुलुकका विभिन्न संस्थाबाट ‘स्ट्रेन’ संकलन गरेर डाटा तयार गर्ने नास्टको तयारी छ । यस्ता जीवाणु इन्जाइम, इन्सुलिन, प्रोटिन, जैविक मल उत्पादन, उद्योग र औषधि निर्माणमा ‘एजेन्ट’ का रूपमा प्रयोग हुन्छन् । औद्योगिक, औषधि, कृषि, खाद्यलगायत अध्ययनअनुसन्धानमा पनि प्रयोग हुन्छन् । आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुलाई जैविक विविधताका रूपमा पनि लिइन्छ । यस्ता जीवाणुबारे नेपालमा अनुसन्धान कम भएको छ । नेपालमा जीवाणुसम्बन्धी गरिने अनुसन्धानमा सेन्टर बुहुउपयोगी हुने नास्टकी मोलेक्युलर बायोटेक्नोलोजी शाखाकी प्रमुख ज्योति महर्जनले बताइन् । नेपालमा औषधि, औद्योगिक, कृषि, खाद्यलगायत क्षेत्रमा पनि यस्ता जीवाणु प्रयोग हुने गरेको उनको भनाइ छ । नास्ट परिसरमा भौतिक संरचना बनाउने वा रिसर्च ल्याबको कुनै एक कोठामा सेन्टर सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिजापतीले बताइन् । ‘सेन्टरका लागि इन्क्युबेटर र फ्रिज आवश्यक हुन्छ,’ उनले भनिन्, ‘चालू आर्थिक वर्षमा सेन्टरका लागि १५ लाख बजेट विनियोजन भएको छ । यो रकमबाट ‘लिक्विड नाइट्रोजन फ्रिजर’ किन्छौं ।’


अहिले विद्यार्थीले सूक्ष्म जीवसम्बन्धी अनुसन्धान गर्दा उसले बनाएको ‘स्ट्रेन’ सम्बन्धित संस्थालाई बुझाउनुपर्छ । स्ट्रेनमा जीवका जेनेटिक भेरियन्ट वा उपप्रकार हुन्छन् । यसलाई नमुनाका रूपमा लिइन्छ । यसबाट उक्त जीवको वंशाणु संरक्षणका साथै यसबाट सोही प्रकारको जीव उत्पादन गर्न सकिन्छ । यसलाई एउटा निश्चित तापक्रम भएको फ्रिजमा सुरक्षित गरी राखिन्छ । यी सूक्ष्म जीवलाई ‘ग्लिसिरोल’ लगायत अन्य रासायनिक घोलमा मिसाएर ‘पेट्री डिस्क’ मा राखिन्छ । प्रयोगशाला सानो भएर यसलाई बढाउने तयारी भइरहेको नास्टले जनाएको छ ।


अहिलेसम्म २ सय वटा स्ट्रेन संरक्षण गरिएको महर्जनले जानकारी दिइन् । तीमध्ये २५ प्रतिशतको पहिचान भइसकेको छ । अधिकांश ब्याक्टेरिया रहेको उनले सुनाइन् । पहिचान भएकालाई ‘कोडिङ’ गर्ने काम भइरहेको उनको भनाइ छ । नेपालमा सूक्ष्म जीवको राम्रोसँग अभिलेखीकरण गरिएको छैन । स्ट्रेनलाई जीव चिन्ने सूचकका रूपमा सुरक्षित गरेर राखिएको हुन्छ । थेसिस गर्ने विद्यार्थीले तिनै संरक्षित स्ट्रेन प्रयोग गर्छन् । रिफरेन्सका रूपमा प्रयोग हुने स्ट्रेन नेपालमै उपलब्ध भए अनुसन्धानात्मक कार्यमा टेवा पुग्ने माइक्रोबायोलोजिस्ट एवं उपप्राध्यापक मिलन उप्रेतीले बताए ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?