१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरमा ५ सय शय्याको अत्याधुनिक भवन बन्दै

फातिमा बानु

काठमाडौँ — बिरामी, चिकित्सक र न्याम्स पदाधिकारी उक्लिने छुट्टाछुट्टै लिफ्ट । सामान ओसार्ने छुट्टै । सर्वसाधारण चढ्ने पनि छुट्टै । पार्किङ, फोहोर व्यवस्थापन, लोन्ड्री र विद्युतीय व्यवस्थापन सबै जमिनमुनिको तलामा । क्यान्टिन सेवा पनि अन्डरग्राउन्ड । सभा, सेमिनार र सम्मेलन गर्न ठूलो हल । पाँच सय शय्याको सुविधासम्पन्न नौतले भवन । 

वीरमा ५ सय शय्याको अत्याधुनिक भवन बन्दै

अबको एक वर्षभित्र देशको पुरानो र ठूलो अस्पताल वीरको स्वरूप यसरी फेरिनेछ । यो स्वरूप वीरको निर्माणाधीन सर्जिकल भवनको हो । भवनको आधा निर्माणकार्य सकिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर डा. सुबोध अधिकारीले बताए ।


‘शल्यक्रिया सेवाजति सबै यही भवनबाट हुनेछ, माथिल्लो तलामा न्याम्सको कार्यालय हुनेछ,’ उनले भने, ‘दुई अर्ब लगानीमा भवन बनेपछि बिरामीले सजिलै सेवा पाउनेछन् । न्याम्सका विद्यार्थीले पनि पठनपाठनको सहज वातावरण पाउनेछन् ।’ हरेक तलामा आवासीय चिकित्सकका लागि छुट्टै कोठाको समेत व्यवस्था गरिएको उनले बताए ।


बिरामीका लागि सुविधासम्पन्न हुनेछ भने कुरुवाले चिसो भुइँमा सुत्नु पर्दैन । कुरुवाका लागि छुट्टै बेड र सामान राख्ने लकरको व्यवस्था हुनेछ ।

‘शल्यक्रिया गरेका बिरामी राख्न मात्रै २० बेडको आईसीयू कक्ष हुन्छ,’ उनले भने, ‘न्युरो सर्जरी र मुटु शल्यक्रियाका बिरामीलाई १० बेडको आईसीयू राखिनेछ ।’


दुई वर्षदेखि निर्माणाधीन यो सर्जिकल भवन अबको एक वर्षभित्र सम्पन्न हुने योजना छ । यो भवन बनेसँगै बिरामीले शल्यक्रियाका लागि एक वर्षसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा राखिएको छ किनकि यो भवनमा शल्यकक्ष मात्रै १५ वटा हुनेछन् । जहाँबाट दैनिक ८० वटासम्म बिरामीको शल्यक्रिया गर्न सकिनेछ । अहिले वीरमा शल्यकक्ष अभावका कारण ६ वटा ठूला शल्यक्रिया गर्न सम्भव भइरहेको उनले बताए ।


मुटु, मिर्गौला, कलेजो, हाडजोर्नीलगायत ठूला शल्यक्रियादेखि सामान्य शल्यक्रिया सेवा सजिलो बनाउन निर्मित यो भवनमा जमिनमुनि मात्रै दुई तला छन्, जहाँ सवारी पार्किङको व्यवस्था हुनेछ । भुइँतलामा रेडियोलोजी विभाग र सूचना केन्द्र हुनेछन् । ‘बिरामी भर्ना गर्ने, डिस्चार्ज गर्नेदेखि सबै सूचना एकै ठाउँमा हुन्छ,’ डा. अधिकारीले भने, ‘बिरामीको रोजाइअनुसार उनीहरूले एक कोठाको क्याबिनदेखि ६ जनासम्म बस्न मिल्ने क्याबिन रोज्न सक्नेछन् ।’


अत्याधुनिक संरचनाको यो भवनमा प्राइभेट क्याबिन बेड मात्रै २१ वटा हुने उनले बताए । अहिले वीरको मुख्य भवनका भएको भीभीआईपी र भीआईपी उपचारकक्ष पनि थप सुविधायुक्त बनाएर उतै सारिनेछ । चिकित्सक, नर्सलगायत अन्य कर्मचारीका लगि पनि छुट्टै कोठा हुनेछन् । ‘शल्यकक्ष लिफ्टबाट सिधै रेडियोलोजी विभागमा झर्न मिल्छ,’ उनले भने ।


वीरलगायत राजधानीमा सरकारी अस्पतालले नयाँ भवन निर्माण गरिरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल र भक्तपुर अस्पतालको पनि नयाँ भवन निर्माण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । ‘यसमध्ये ठूलो लगानीचाहिँ वीर अस्पतालकै लागि गरिएको हो । बिस्तारै अन्य अस्पताल भवन निर्माणमा पनि लगानी गरिनेछ,’ उनले भने ।


शिक्षणमा अहिले सुरेश वाग्ले क्यान्सर भवन निर्माण भइरहेको छ । स्वास्थ्य मन्त्रालयको करिब एक अर्ब बजेट लगानीमा यो भवन बनिरहेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । ‘क्यान्सरका बिरामीका लागि ओपीडीदेखि शल्यक्रियासम्मका सेवा यही भवनबाट हुनेछन्,’ उनले भने । भवनको ८० प्रतिशत काम सकिसकेकाले आगामी वर्षबाट भवन सञ्चालनमा आउने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?