२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महसुल तिर्दैनन् स्थानीय तह

विद्युत् प्राधिकरणका अनुसार काठमाडौं महानगरपालिकाले मात्रै सडकबत्तीको १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ 

काठमाडौँ — स्थानीय तहले आफ्नो क्षेत्रको सडकमा बालेको बत्तीको महसुल तिर्न आनाकानी गर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर र कीर्तिपुर नगरपालिकाले महसुल तिर्न ढिलाइ गरेका हुन् ।

महसुल तिर्दैनन् स्थानीय तह

प्राधिकरणका अनुसार काठमाडौं महानगरपालिकाले मात्रै १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । महानगरको रत्नपार्क वितरण केन्द्रको कार्यक्षेत्रभित्र मात्रै सडकबत्ती बापत ५ लाख ११ युनिट उठ्ने गरेको छ । बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा ३ लाख २० हजार युनिट, कुलेश्वर क्षेत्रबाट एक लाख ७४ हजार युनिट विद्युत खपत हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सडकबत्तीको ७ रुपैयाँ ३० पैसा शुल्क निर्धारण गरेको छ ।


काठमाडौं महानगरको आर्थिक वर्ष ०७४/७५ सम्म ८० करोड ७५ रुपैयाँ महसुल थियो । ०७५/७६ मा भने ३८ करोड १ लाख रुपैयाँ महसुल थपिएको छ । काठमाडौंले गतवर्ष २१ हजार ४ सय ९ रुपैयाँ मात्रै महसुल बुझाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरको जग्गाबाट तार र पोल लगेकाले प्राधिकरणले उल्टै पैसा तिर्नुपर्ने बताए । ‘महानगरको कार्यालयमा बत्ती बालेको पैसा नतिरेको हो र ? सडकमा बत्ती बाल्ने दायित्व प्राधिकरणको चाहिँ हुदैन,’ उनले प्रश्न गरे, ‘व्यक्तिले सामान्य पूर्वाधार बनाउँदा राजस्व तिरेर अनुमति लिनुपर्छ भने प्राधिकरणले पोल गाडेको र तार लगेको किन तिर्नु नपर्ने ?’


महसुल नतिर्नेमा ललितपुर महानगरपालिका पनि छ । महानगरले असारसम्म १७ करोड ८ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको क्षेत्रीय कार्यालयले जनाएको छ । ललितपुरको ०७४/७५ मा २५ करोड र ०७५/७६ मा १५ करोड ५६ लाख महसुल थपिएको थियो । महानगरले गतवर्ष २३ करोड ८६ लाख रुपैयाँ महसुल तिरेको थियो । भक्तपुर नगरपालिकाले ९ करोड १७ लाखमध्ये ७ करोड महसुल गत वर्ष तिराएको छ ।


भक्तपुरले अब २ करोड रुपैयाँ सडकबत्ती प्रयोगबापतको तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । मध्यपुरठिमी नगरपालिकाले पनि गत वर्षको सडकबत्ती ४ करोड ३४ लाख रुपैयाँ तिर्न बाँकी छ । कीर्तिपुर नगरपालिकाले पनि सडकबत्ती प्रयोग गरेबापत ४ करोड ४१ लाख शुल्क तिर्न बाँकी छ । ०७४/७५ सम्मको विद्युत महसुल सरकारले तिर्ने निर्णय गरिसकेको छ । त्यसयताको महसुल भने स्थानीय तहले तिर्नुपर्ने सरकारले निर्णय गरेको छ ।


सडकबत्तीको मिटर कसरी जाँच हुन्छ ?

प्राधिकरण रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार कतिपय सडकको पोलमा मिटर जडान गरिएको छ । जसरी घरमा रिडिङ हुन्छ, त्यसैगरी सडकबत्तीको पनि हुने उनले बताए । ‘०६४/६५ मा स्थानीयको वडामा बल्ने बत्तीको आधारमा मासिक युनिट निर्धारण गरिएको छ । त्यसकै आधारमा मासिक महसुल निकाल्छौं,’ उनले भने, ‘त्यसबेला जति बत्ती बालेको थियो, अहिले दोब्बर भन्दा बढी छ तर युनिट र महसुल भने पुरानै छ ।’

प्रकाशित : मंसिर २, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?