कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बिरुवा वितरण

काठमाडौँ — उपत्यकामा हरियाली घट्दै गएको अवस्थामा प्राकृतिक संरक्षण समाजले कौसी खेती (रुफटप गार्डेन) को अवधारणा अघि सारेको छ । टोखा नगरपालिकाको सूर्यदर्शन हाइट, मण्डिखाटार र गोंगबुमा नर्सरी स्थापना गरी निःशुल्क बिरुवा वितरण गरिरहेको अध्यक्ष कुमार कटवालले बताए ।

आमा समूह र संघसस्थामार्फत बोटबिरुवा उपलब्ध गराउने गरिएको उनले जानकारी गराए । हाल समाजले कागती र रुद्राक्षका बिरुवा वितरण गर्दै आएको छ । ‘एउटा मान्छेका लागि दैनिक १६ केजी अक्सिजन आवश्यक पर्छ,’ समाजका अध्यक्ष कुमार कटवालले भने, ‘तर उपत्यकाका मानिसले दैनिक १० केजी अक्सिजन पनि पाउँदैनन् ।’


नर्सरीमा अहिले कागती, रुद्राक्ष, बोझो, बाँस, पीपल, लालीगुराँस, स्न्याप, स्ट्राबेरी, अंगुरलगायत २ सय ६५ जातका बोट–बिरुवाको अनुसन्धान भइरहेको छ । ‘आगामी पाँच वर्षभित्र फलफूलले ढाकेको क्षेत्रफल दोब्बर बनाउने नेपाल सरकारको नीति छ,’ उनले भने, ‘त्यसलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पहिलो चरणमा काठमाडौं उपत्यकाका पाँच लाख घरलाई एक–एकवटा कागतीका बिरुवा वितरण गर्ने योजनामा छौं ।’


समाजले गत वर्ष ओखलढ्गुांको च्यानम गाउँमा एक हजार चार सय ५५ घरघुरीलाई रुद्राक्षको बोट प्रदान गरेको थियो । यस वर्ष गण्डकी प्रदेशबाट ११ हजार ६ सय ६४ वटा रुद्राक्ष र एक हजार पाँच पीपलका बिरुवाको माग आएको उनको भनाइ छ । ‘लुम्बिनीमा थिम पार्क बनाउने योजना पनि अघि सारेका छौं,’ अध्यक्ष कटवालले भने, ‘लुम्बिनीमा भ्रमण वर्षलाई लक्षित गरी एक सय ९५ पीपल रोप्ने योजना छ ।’

प्रकाशित : मंसिर २, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?