कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मानव मलमूत्रबाट ग्यास

सीमा तामाङ

काठमाडौँ — क्यानेडियन संस्था एरोसनले काठमाडौं उपत्यकामा रहेका सार्वजनिक शौचालय निर्माणप्रति चासो राखेको छ । संस्थाका प्रतिनिधि, क्यानडाका डेपुटी एम्बास्डर, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूले रत्नपार्कस्थित सार्वजनिक शौचालयको अनुगमन गरेका थिए ।

दुई वर्षअघि काठमाडौं महानगरपालिका, खानेपानी र सरसफाइका लागि गुठी, एरोसन र ग्रान्ड च्यालेन्जेज क्यानडाको सहकार्यमा उक्त शौचालय बनेको थियो ।


अवलोकन क्रममा डेपुटी एम्बास्डर डियरड्री केन्टले सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नुपर्ने, अपागंमैत्री, ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने बताइन् । अनुगमनमा केन्टसहित एरोसनका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्य, महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत सहभागी थिए ।


टोलीले शंखधर पार्कतर्फको शौचालय र ग्यास उत्पादन भएको शौचालयको पछाडिपट्टि फोहोर संकलन हुने ठाउँको पनि अवलोकन गरेको थियो । काठमाडौंको सार्वजनिक शौचालय सुधार, सञ्चालन र व्यवस्थापन गर्न प्राथमिक योजनाअन्तर्गत नीतिनियम तयार गरिरहेको महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । ‘सार्वजनिक शौचालय सुधार गर्न क्यानेडियन डेपुटी एम्बास्डरको चासो देखेर थप प्रेरणा मिलेको छ,’ उनले भने ।


एरोसन हबको मोडलअनुसार सार्वजनिक शौचालयको मर्मत र पुनर्जागरण गरी सुरक्षित, महिला, अशक्त तथा वातावरणमैत्री र सफा बनाउनुपर्छ । एरोसनले शौचालयमा हावाको प्रवेश, प्राकृतिक प्रकाश, महिलामैत्री र अपागंमैत्री, उचित हात धुने ठाउँको समेत डिजाइन समावेश गरेको छ ।

गुठी संस्थाको सर्वेक्षणअनुसार पहिले दैनिक औसत एक सय महिलाले सेवा लिने गरेकोमा शौचालयमा चुकुल, प्रकाश र पानीको अवस्थामा सुधार गरेपछि औसत ६ सय पुगेको छ । यहाँ दैनिक दुई हजार व्यक्तिले सेवा लिइरहेका छन् ।


०७४ मंसिर ४ गते विश्व शौचालय दिवसको अवसरमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालयबाट उत्पादन भएको दिशाजन्य फोहोरबाट ग्यास उत्पादन विधि पूर्वाधारका लागि शिलान्यास गरेका थिए । त्यसको तीन महिनापछि ग्यास उत्पादन सुरु भएको थियो । दिसाजन्य लेदो तथा मानव मलमूत्रबाट मासिक दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ । शौचालय सुधारका लागि पाँच लाख रुपैयाँ लगानी गरिएको थियो ।


एरोसनको सहयोगमा यस वर्ष ललितपुरमा चार र काठमाडौंमा १० शौचालय निर्माण हुने एरोसनका राष्ट्रिय प्रतिनिधि अमात्यले बताए ।

‘ललितपुरस्थित मंगलबजारको सार्वजनिक शौचालयमा बायोग्यास प्लान्ट राखिएको छ,’ उनले भने, ‘अन्य ठाउँमा नयाँ शौचालय निर्माण गरिन्छ ।’ सम्बन्धित महानगरपालिकाले जग्गा उपलब्ध गराउने, नीति नियमावली तयार गर्ने र एरोसनले साझेदारीमा शौचालय निर्माण, सञ्चालन तथा नयाँ प्रविधिको व्यवस्थापन गर्ने उनले बताए ।

प्रकाशित : मंसिर १, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?